११ मंसिर २०८३, शुक्रबार

राष्ट्रसंघमा नेपाली सेनाको प्रशंसा, शान्ति सेनाको उपल्लो पद पाउनुपर्ने देउवाको माग

910
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ असोज । प्रधानमन्त्री शेरबहादुर देउवा र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसबीच आइतबार भेटवार्ता भएको छ ।

न्यूयोर्कस्थित राष्ट्रसंघको मुख्यालयमा भएको उच्चस्तरीय भेटवार्तामा दुई नेताबीच शान्ति सेनामा नेपाली सेनाको भुमिका, वृद्धि विकास र उच्च पद पाउनेबारे छलफल भएको प्रधानमन्त्री देउवाका परराष्ट्र सल्लाहकार डा दिनेश भट्टराईले जानकारी दिए ।

भेटमा महासचिव गुटेर्रेसले नेपालले विश्व शान्तिका लागि नेपाली सेना पठाएर गरेको योगदानको मुक्त कण्ठले प्रशंसा गरे । उनले नेपालको सेना विश्वकै उत्कृष्ट सेना भएको समेत बताए ।

त्यसक्रममा प्रधानमन्त्री देउवाले काभ्रेको पाँचखालमा रहेको शान्ति सेनाको प्रशिक्षण केन्द्रको क्षमता अभिवृद्धि र क्षेत्रीयस्तरको बनाउन सहयोगका लागि आग्रह गरे । साथै उनले नेपालले शान्ति सेनामा पुर्याएको योगदानका आधारमा शान्ति सेनाको उपल्लो पद पाउनुपर्ने विषय समेत महासचिवसँग राखे ।

जवाफमा महासचिव गुटेर्रेसले देउवाको मागलाई सकारात्मक रुपमा लिँदै नेपाली सेनाको वृद्धि विकासका लागि आफ्नो तर्फबाट पहल थाल्ने प्रतिबद्धता जनाएको भेटवार्तामा सहभागी परराष्ट्र सल्लाहकार डा भट्टराईले बताए ।

साथै महासचिव गुटेर्रेसले नेपालमा हालै गएको बाढी पहिरोबाट निधन भएका व्यक्तिका परिवारप्रति समवेदना व्यक्त गर्दै सिंगो मुलुकप्रति सहानुभूति प्रकट गरेका थिए ।

राष्ट्रसंघको ७२औँ महासभामा भाग लिन अमेरिका पुगेका प्रधानमन्त्री देउवाले आज महासभालाई सम्बोधनपछि महासचिव गुटेर्रेेससँग भेटवार्ता गरेका हुन् ।