२८ आश्विन २०८३, बुधबार

निराशाका बीच सार्क सम्मेलनका अपेक्षा

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

yek-raj-pathak

करिब तीन दशकअघि एसियाली क्षेत्रका सात देशका नेताहरूले स्थापना गरेको क्षेत्रीय संगठन सार्कले आजसम्म आइपुग्दा अनेकौँ आलोचनाको सामना गर्नु परिरहेको छ । दोस्रो विश्वयुद्धको अन्त्यसँगै स्थापना भएका विश्वका अरु क्षेत्रीय संगठनलेजस्तै अपेक्षित गति लिन नसकेकोमा यसप्रति यी दबावहरू केन्द्रित भएको देखिन्छ ।

अशिक्षा, अभाव र अविकासको पर्यायका रुपमा रहेको दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन, सार्कले एक आपसमा आवश्यक सहयोगका हातहरू फैलाउन नसकेको र सदस्य राष्ट्रहरू बीचको आपसी सम्बन्धलाई नै सुमधुर र मैत्रीपूर्ण बनाउन नसकेकाले पनि यस संगठनमाथि विभिन्न टिका टिप्पणी हुने गरेका छन् ।

यसका अतिरिक्त सहयोग र सम्बन्धमा आधारित यस संगठनका क्रियाकलाप एवम् विकास र अभिवृद्धिका क्षेत्रमा समयानुकुल अघि बढ्न नसकेकाले पनि यो संगठन प्रभावकारी बन्न नसकेको हो ।

दक्षिण एसियाका दुई ठूला सदस्य भारत र पाकिस्तानको सम्बन्धको वरिपरी घुम्ने यस संगठनको हरेक शिखर सम्मेलनको तयारीसँगै चुलिन थाल्ने विवादका विषयले गर्दा अरू सदस्य राष्ट्रहरू र समग्र दक्षिण एसियाली क्षेत्रमा नै निराशा थपिने गर्दछ । यो शृङ्खला यस पटक पनि हालै रोकिएको छ र सम्भवतः यस सम्मेलनसम्म देखा नपर्नसक्ने अपेक्षा गरिएको कश्मिरको बिबादले झन्डै दई दर्जन नागरिकको ज्यान हालैमात्र लिएपछि गत हप्तादेखि विश्राम लिएको छ । यस बाहेक पनि यो संगठनका सदस्य राष्ट्रहरूका बीचमा सीमा सम्बन्धी, राजनीतिक एवम् प्राकृतिक स्रोत वितरणसम्बन्धी अरु पनि कतिपय समस्याहरू विद्यमान नै छन् । जसले गर्दा यस संगठनलाई आपसी विबादबाट माथि उठेर साझा हित र यसको लागि काम गर्ने त्यति उत्साह प्रदान गर्न सकिरहेको छैन ।

सायद यो बिबादको प्रक्षेपण र यसको निराकरणको अपेक्षा यसका जन्मदाताहरूले यसलाई जन्माउने क्रममा नै गरेको पाइन्छ । सार्कको पहिलो शिखर सम्मेलनपछिको १४ बुँदे घोषणापत्रमा नै दक्षिण एसियाली क्षेत्रमा आणविक शस्त्रको होडबाजीले आगामी दिनमा यस क्षेत्रमा नै शान्ति खल्बल्याउने निश्चित भएकाले यसको निराकरणमा जोड दिइएको छ ।

तर त्यो चिन्ता आज तीस वर्षसम्म आइपुग्दा पनि घटेर होइन झनै बढेर गएको महसुश भएको छ । नाम नलिइएको भएपनि त्यस घोषणापत्रले यस क्षेत्रका दुई ठूला सदस्य भारत र पाकिस्तानलाई गरिएको लक्ष्य प्रष्ट बुझिन्छ । त्यसैले सार्कले आफ्नो स्थापनाको सवैभन्दा महत्वपूर्ण उद्देश्य क्षेत्रीय शान्ति राखेको छ । तर यसपछिका वर्षहरूमा यी दुई देश बाहेक पनि विभिन्न देशमा आतङ्कवादका विविध रुप देखिए र देखिदै पनि छन् ।

वास्तवमा यस संगठनको आलोचना गर्नुको प्रमुख उद्देश्य विश्वका अन्य क्षेत्रीय संगठनहरूको तुलनामा समय सापेक्ष आफूलाई अगाडि बढाउन नसकेका कारण पनि गरिएको हो । सन् १९४५ मा सम्पन्न भएको दोस्रो विश्वयुद्धको त्राससँगै क्षेत्रीय विकास र शान्ति स्थापनाका लागि स्थापना गरिएका अन्य क्षेत्रीय संगठनहरू जस्तै सार्कले विकास गर्न नसक्दा पनि आलोचना सुरु भएको मानिन्छ ।

त्यसैले पनि सार्ककले आफ्नो स्थापनाको २९ औँ वर्षपछि आयोजना गर्न लागेको १८ औँ सम्मेलनलाई विगतका दिनहरूको तुलनामा थप प्रभावकारी बनाउने बारेमा सोचिरहेको छ । क्षेत्रीय यी गुनासा र संसारले नै सार्कप्रति गरेका यी टिका टिप्पणीलाई आसन्न यस सम्मेलनले सम्बोधन गर्ने र स्थापनाको औचित्य र आवश्यकताको विश्लेषण एवम् मूल्याङ्कन गरी यस संगठनलाई आगामी दिनमा फलदायी, कामयवी एवम् वातस्तवमै सहयोग संगठनका रुपमा विकास गर्ने बारेमा दक्षिण एसियाका वर्तमान नेताहरूले सोच्ने अपेक्षा गरिएको छ ।

हुनत विवाद र समस्यारहित संसारको कुनै क्षेत्र वा देश छैन । तर पनि यस क्षेत्रमा पछिल्लो समयमा सामाजिक पछौटेपनका धेरै समस्या देखा परेका छन् । प्रविधि, विज्ञान र आधुनिकताका धेरै क्षेत्रमा संसार निकै अघि बढिरहेको भए पनि हामी सार्क क्षेत्रका राष्ट्र र नागरिक पछि परेका छौँ । हामीसँग अथाह रुपमा प्राकृतिक स्रोत, साधन र सम्पदाहरू रहेको भए पनि तिनको उपयोग र उपभोगका लागि हामी आफै सक्षम छैनौँ । यी र यस्ता अन्य कयौँ कामका लागि पश्चिमहरूसँगको हाम्रो परनिर्भरता प्रतिदिन बढ्दो रुपमा छ ।

यसका अतिरिक्त पछिल्ला केही वर्षयतादेखि हामीलाई जलवायु परिवर्तनको खतराले हरेक नागरिकको दैलोमा नै बजाईरहेको छ । हिमालयन हिन्दकुश क्षेत्रमा बसोवास गरिरहेका हामीलाई वास्तवमा यो नखाएको विष लाग्नेवाला छ । हाम्रा हिमालहरू पग्लिन थालेका छन् र जैविक विविधताका क्षेत्रमा यो असरले छोइसकेको छ । ठूला र विकसित राष्ट्रहरूले गरेका औद्योगिक विकासको फाइदा उनीहरूले असुलीरहेको भए पनि क्षति हामीले भोग्नु परिरहेको छ ।

यी र यस्ता अरु कयौँ साझा समस्याका क्षेत्रमा सार्कका नेताहरूले अव अर्थपूर्ण सहकार्य गर्नु जरुरी छ । आफ्ना राजनीतिक विवादहरूलाई अगग्गै राखेर जसरी तीन दशकअघि यस संगठनका जन्मदाताहरूले क्षेत्रीय विकासको मुद्दालाई जनतालाई केन्द्रमा राखेर सोच्ने प्रण गरेका थिए, त्यसलाई साकार बनाउन उनीहरू लाग्नु जरुरी छ ।

यसका लागि सार्कको ठूलो र विश्वकै एक उदयीमान राष्ट्र भारतले छाती ठूलो पारी अग्रसरता लिनु आवश्यक छ । तीन दशकको इतिहास बोकेको यस संगठनलाई निष्क्रिय नभई कामयवी बनाउँदा नै यस क्षेत्रका हामी सवैको भलाई हुने छ । रासस (विभिन्न समाचार समितिहरु)