काठमाडौं, ६ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टीले हिन्दूराष्ट्रको मुद्दामा जनमत संग्रहको माग गरेको छ । हिन्दूराष्ट्रका विषयमा निस्क्रिय बसेको राप्रपाले फेरि हिन्दूराष्ट्रका बारेमा जनमसंग्रहको मागलाई जोडदार रुपमा उठाउने निर्णय गरेको छ ।
काठमाडौंको धुम्बाराहीस्थित पार्टी मुख्यालयमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष कमल थापाले हिन्दूराष्ट्रका बारेमा जनमतसंग्रहको माग गर्नुभयो । ‘मंसिरमा संसद र प्रदेशको निर्वाचन हुँदैछ’, उहाँले भन्नुभयो, ‘सोही बेला हिन्दूराष्ट्रका बारेमा जनमत संग्रह गरिनुपर्छ ।’
हिन्दूराष्ट्र स्थापनाका सम्बन्धमा सुरुवाती दिनमा तत्कालीन राप्रपाले जोडदार रुपमा माग उठाएपछि संविधान जारी गर्ने बेला सो विषयमा धेरै सक्रिय हुन सकेको थिएन । राप्रपा अध्यक्ष थापाले हिन्दूराष्ट्रको मागलाई फेरि निर्वाचनका लागि रणनैतिक रुपमा उठाएको आरोप छ ।
राप्रपाले जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री र संवैधानिक राजसंस्थाको माग पनि गरेको छ । राप्रपाले पूर्ण समानुपातिक निर्वाचनको माग गरेको छ ।
पत्रकार सम्मेलन अगाडि राष्ट्रिय प्रजातन्त्र पार्टीको कार्यसम्पादन समिति र संसदीय दलको संयुक्त बैठक बसेको थियो ।












प्रतिक्रिया