काठमाडौँ, ६ असोज । महानगरीय प्रहरी कार्यालय रानीपोखरीले दशैंतिहारमा जुवातास खेल्न नदिन विशेष योजना ल्याएको छ ।
कार्यालयका प्रमुख एआईजी जयबहादुर चन्दले जुवातासले धेरैको उठिबास भएको र त्यहीबाट अपराध समेत जन्मिने भन्दै त्यसलाई नियन्त्रण गर्न आफू लागिपरेको बताए । उनले जुवातास खेल्ने ठाउँमा निगरानी भइरहेको र सूचना प्राप्त भएलगत्तै जुवा खेलेको ठाउँमा प्रहरी ५ मिनेटमा पुगेर नियन्त्रणमा लिने जानकारी दिए ।
जुवातास नियन्त्रण गर्ने प्रहरीको योजना कार्यान्वयनमा समेत आएको छ । विहिबार मात्रै राजधानीको टोखामा जुवातास खेलिरहेका ४ जनालाई पक्राउ गरिएको छ ।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार टोखा नगरपालिका–५ गोगंबु डेरा गरी बस्ने धादिङ गंगा जमुना गाउँपालिका–५ घर भएका २८ बर्षीय लोकबहादुर गुरुङको डेरा कोठामा जुवातास खेलिरहेका गुरुङ सहित ४ जनालाई प्रहरीले बिहीबार नगद १ लाख ९ हजार रुपैयाँ, १ बुक तास, क्यारमबोर्डको गोटी कालो रंगको ९८ थान, सेतो रंगको ९९ थान सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












प्रतिक्रिया