घोराही, ५ असोज । दाङको घोराही उपमहानगरपालिका – ५ धर्नामा ‘झक्कले बोको’ जित्नका लागि स्थानीय युवाहरूले फुटबलमा प्रतिस्पर्धा गरेका छन् ।
महेन्द्र माविको ग्राउण्डमा बिहीबार बिहान ‘बोका’ कप फुटबल प्रतियोगिता २०१७ भएको हो । दाङ क्षेत्र नं. ३ का सांसद राजु खनालले सो प्रतियोगिताको उद्घाटन गरेका हुन् ।
स्थानीय पाण्डवेश्वरी युवा क्लवले दलित संघ दाङका तत्कालीन अध्यक्ष स्वर्गीय दिनेश नेपालीको प्रथम स्मृतिका अवसरमा फुटबल प्रतियोगिता आयोजना गरेको हो ।
प्रतियोगिता पाण्डवेश्वरी युवा क्लवले नै जितेको छ । क्लवले पुरस्कार स्वरुप झण्डै ५५ किलोको ‘बोको’ पाएको छ । पाण्डवेश्वरी युवा क्लवले प्रतिद्वन्द्वी खैरेनी युवा क्लव भैसखुरलाई ४–१ ले पराजित गरेको पदम नेपालीले जानकारी दिए । युवा क्लवलाई पुरस्कार घोराहीस्थित सिटिजन टेलर्सले ‘झक्कले बोका’ प्रायोजन गरिदिएको थियो ।
कार्यक्रममा कांग्रेस क्षेत्र नं. ३ का क्षेत्रीय सभापति भूमबहादुर डाँगी, कांग्रेसका युवा नेता तथा परियार समाज दाङका अध्यक्ष केशव नेपाली, नेपाल तरुण दलका नेता तथा युवा व्यवसायी अभिमन्यू गिरी, स्थानीय शिक्षक गोपाल नेपाली, अर्जुन योगी, लोकी बिक, कांग्रेसका वडाध्यक्ष विष्णुमणि दाहाल, शम्शेर नेपाली, मदन नेपाली, विराट नेपाली, ध्रुब नेपालीलगायतको उपस्थिति रहेको थियो ।
युवालाई रचनात्मक काममा लगाउनु पर्छ : सांसद खनाल
यसैबीच, नेपाली कांग्रेस दाङ क्षेत्र नं. ३ का सांसद राजु खनालले गाउँको विकासका लागि स्थानीय युवाहरूलाई परिचालन आवश्यक रहेको बताएका छन् ।
फुटबल प्रतियोगिताको उद्घाटनका क्रममा खनालले भने, ‘बाहिरबाट आएर कसैले गाउँको विकास गरिदिन्छ कि भने आश गर्नु हुँदैन । गाउँको विकास हामी आफैले गर्ने हो ।’
युवाहरूको जोस र जाँगरलाई समयमा प्रयोग गर्न सकिए विदेश पलायन हुने खतराबाट पनि बच्न सकिने सांसद खनालको भनाइ थियो ।















प्रतिक्रिया