१५ कार्तिक २०८३, आइतबार

भूमिसुधारमन्त्री गोपाल दहितको पद धरापमा

4.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ असोज । मन्त्रालय राम्रोसँग चलाउन नसकेको भन्दै आलोचना खेप्दै आएका भूमिसुधार तथा व्यवस्थामन्त्री गोपाल दहितलाई फिर्ता बोलाउने अन्तिम तयारीमा उपप्रधान एवम् स्थानीय विकासमन्त्री विजय गच्छदार रहेका छन् ।

भूमिसुधार तथा व्यवस्थामन्त्री दहितले गृहकार्य र दुरगामी असर नै नहेरेर जग्गा प्लटिङमा रोक लगाएपछि गच्छदार रिसाएको स्रोतको भनाई छ । यूनाइटेडपोष्ट साप्ताहिकले समाचार छापेको छ ।

मन्त्री दहितलाई गच्छदारले फिर्ता बोलाएर नयाँ मन्त्री पठाउने तयारी गरेको चाल पाएपछि भूमिसुधार मन्त्रालयका कर्मचारीहरूले दहितलाई टेर्न छाडेका छन् ।

‘जग्गा प्लटिङको सबै गतिविधिलाई रोक लगाउने गरेर गोपाल दहितले एकलौटी निर्णय गरेपछि विजय गच्छदार रिसाउनु भएको छ’, स्रोतले भन्यो, ‘गच्छदारले गोपाल दहितलाई फिर्ता बोलाएर पार्टीबाट अर्को सांसदलाई मन्त्री बनाउने तयारीमा लाग्नु भएको छ ।’

जग्गा प्लटिङ गर्ने कार्यमा रोक लगाएपछि राजश्व संकलनमा ठूलो असर परेको स्रोतको भनाई छ । ‘मन्त्रीज्यूले कुनै गृहकार्य नगरेर कसैको बहकावमा लागेर प्लटिङ प्लटिङ गर्न नपाइने निर्णय गरिदिनुभयो’, भूमिसुधार मन्त्रालयका एक उच्च अधिकारीले भने,‘सरकारलाई भूमि सुधार मन्त्रालयबाट आउने राजश्व ह्वात्तै घटेको छ ।’

उता, मन्त्री दहितले चुनाव खर्च भन्दै काठमाडौंका मालपोत कार्यालयका हाकिमहरूसँग धमाधम तोकेरै पैसा माग्न थालेका छन् । स्रोतका अनुसार दहितले न्यूनतम पाँच लाखदेखि ४ करोडसम्म माग्ने गरेका हुन् । मन्त्री दहितको यो चर्तिकलाको उजुरी उपप्रधान एवम् स्थानीय विकास मन्त्री गच्छदारसम्म पुगेको छ । यस्तै खालका थुप्रै उजुरीपछि गच्छदार मन्त्री दहितलाई फिर्ता बोलाउने तयारी पुगेको स्रोतको भनाई छ ।

गच्छदार र दहितबीच आजकाल राम्रोसँग बोलचाल नै हुन छाडेको छ । गच्छदारले गोपाल दहितलाई पार्टीमा भित्र्याएका कारण बचेखुचेका कार्यकर्तालाई पनि नोक्सानी हुन थालेको बताउन थालेका छन् ।