१५ कार्तिक २०८३, आइतबार

प्रदेश नं. २ मा कांग्रेस पहिलो हुने निश्चित, दोस्रोका लागि एमाले संघर्ष गर्दै

3.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ असोज ।

फोरमलाई उत्साहजनक मत, राजपालाई औसत –

प्रदेश नं. २ मा भएको स्थानीय तह निर्वाचनको प्रारम्भिक मतको आँकडाले उपेन्द्र यादव नेतृत्वको फोरम मधेसको शक्तिका रूपमा फर्किने देखिएको छ । संविधानसभाको दोस्रो निर्वाचनमा अस्तित्वको संकटमा परेको फोरमले कांग्रेसलाई पछ्याउँदै एमालेलाई पछि पारेको छ । ६ दल मिलेर बनेको राजपाले औसत परिणाम ल्याइरहेको छ ।  नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

१३६ स्थानीय तहमा फोरमले २५ तहमा अग्रता लिएको छ । आन्तरिक रूपमा पनि करिब ३० स्थानीय तह जित्ने फोरमको अनुमान थियो ।  कांग्रेसले ४५, राजपाले २३, एमालेले २१ र माओवादीले १७ स्थानमा अग्रता लिइरहेका छन् । लोकतान्त्रिक फोरम ३ स्थानमा अगाडि छ ।

बलियो संगठन क्रियाशील भएकाले फोरम अगाडि आएको विश्लेषकहरूको भनाइ छ । फोरम सुरुदेखि नै निर्वाचन तयारीमा लागेर जनमत प्रभावित बनाइरहेको थियो । राजपाका अध्यक्षहरू निर्वाचनको अन्तिम समयतिर मात्रै मधेस झरेका थिए, तर फोरमका अध्यक्ष उपेन्द्र यादव निरन्तर मधेसमा सक्रिय रहे । उनलाई साथ दिन वरिष्ठ नेता अशोक राई पनि सक्रिय रहे ।

उता, राजपाले स्थानीय तह निर्वाचनमा करिब ६० स्थानीय तह जित्ने दाबी गरेको थियो । प्रारम्भिक नतिजाले त्यो अपेक्षा पूरा गर्ने सम्भावना देखिएको छैन । ‘हामीले स्थानीय तहको प्रमुख कम जिते पनि वडाहरू धेरै जित्छौँ, प्रदेश सभा र प्रतिनिधिसभाको निर्वाचनमा वडाको मत निर्णायक हुन्छ, त्यसकारण राजपा कमजोर हुँदैन,’ राजपा महामन्त्री केशव झाले नयाँ पात्रिकासँग भने ।

प्रमुख दलहरूले पैसाको खोलो बगाए
उपेन्द्र यादव, अध्यक्ष, फोरम
लोकतन्त्रमा कुनै पार्टी आउने–जाने भइरहन्छ । त्यसलाई ठूलो कुरा मान्नुहुँदैन । लोकतन्त्रमा कोही पनि हार्दैन, सबैले जित्छन् । त्यसकारण अहिले हाम्रो पार्टीले पाएको मत विचार र आस्थाको मत हो । हामीसँग साधन–स्रोत थिएन । तैपनि, जे मत पाएका छौँ, त्यो प्रतिबद्ध मत हो । प्रमुख तीन दलले मधेसको राजनीतिमा नैतिकता गुमाए । उनीहरूले नीति तथा कार्यक्रमभन्दा पनि रक्सी, खसीबोका, सुँगुरको बलिदान दिने र देश–विदेशबाट संकलन गरेको पैसाको खोलो बगाएर जनता खरिदबिक्री गरे । यस्तो प्रवृत्तिले लोकतन्त्रलाई धरापमा पार्छ ।

राजपाले निर्वाचन तयारीको समय नै पाएन
राजेन्द्र महतो, अध्यक्ष मण्डल सदस्य, राजपा
राजपाले निर्वाचनको तयारीको अवसर पाएन । एकदमै छोटो समयको तयारीले निर्वाचन परिणाम गतिलो आउने अवस्था थिएन । साथै, पार्टीभित्र विद्रोह धेरै भयो । साथीहरू पार्टी छाडेर उम्मेदवार हुनेदेखि आफ्नै उम्मेदवार हराउन पनि लागे । त्यसकारण अपेक्षित मत नआएको हो । अन्तिम परिणाम आउँदासम्म दोस्रो दल त हुनुपर्ने हो ।

राजपामा अन्तर्घात

पार्टीभित्रको अन्तर्घातले निर्वाचनमा कमजोर परिणाम आएको राजपा नेताहरूको बुझाइ छ । राजपा छाडेर अन्य दलमा प्रवेश गरी उम्मेदवार उठ्नेदेखि आफ्नै उम्मेदवारलाई हराउन पनि राजपाका नेताहरू लागेको अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतोले बताए । पार्टीभित्र अन्तर्घात र विद्रोह बढी भएकाले कमजोर नतिजा देखिएको उनले बताए ।

त्यस्तै, राजपासँग मधेसमा संगठित मत नै नभएको नेताहरू स्वीकार गर्छन् । तर, चुस्त संगठन रहेको फोरमको मत पनि अपेक्षित नआएको उनीहरू बताउँछन् । ‘पहिलो र दोस्रो चरणको निर्वाचनमा सहभागी भएकाले फोरम निर्वाचन रणनीतिमा लागिरहेको थियो, तर हामी आन्दोलन हो कि निर्वाचन भन्ने द्विविधामै अल्मलिरह्यौँ,’ राजपाका महामन्त्री केशव झाले भने ।

६ वटा पार्टी एकीकृत भई बनेको राजपाभित्र केन्द्रमा पार्टी एकता भए पनि स्थानीयस्तरमा ६ वटा दल नै मैदानमा देखिने स्थिति भयो । राजपाका महामन्त्री झाको भनाइमा स्थानीयस्तरमा पार्टी एकीकृत हुन सकेन र उम्मेदवारका आकांक्षी पनि दलविशेषबाट देखिए । राजपाले टिकट वितरणमा स्थानीय नेतालाई रिझाउन नसक्दा निर्वाचनकोे मुखमा पार्टी छाड्नेहरू बढेकाले मतपरिणाम अपेक्षित आउन नसकेको अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतोको भनाइ छ । अन्तर्विरोध भएको पार्टीका नेताहरू संगठित रूपमा मत माग्न गाउँमा गएनन् । असंगठित मतले पार्टीलाई जिताउन समस्या भयो ।

स्थानीय निर्वाचनमा ठूला दलहरूले धेरै पैसा र बल प्रयोग गरेको मधेसी नेताहरूको अरोप छ । सत्ताको दुरुपयोग गरी निर्वाचन परिणाम प्रभाव पारेको उनीहरूको बुझाइ छ । ‘स्थानीय निर्वाचनमा जात, समुदाय, पैसा र बल प्रयोगले मतपरिणाममा फरक ल्याएको छ,’ नेता महतोले भने । वीरगन्ज, जनकपुर, गौरलगायतका प्रमुख सहरमा राजपाको उपस्थिति राम्रो देखिएको नेता झाले बताए ।