
बारा, ४ असोज । बारामा मतगणनाका क्रममा दुई स्थानीय तहमा विवाद सिर्जना भएको छ ।
बाराको कोहल्बी नगरपालिका र आदर्श कोतवाल गाउँपालिकाको मतगणना स्थगित भएको हो । कोहल्बीको मतपरिणाम सार्वजनिक भएपछि विवाद सिर्जना भएको हो ।
निर्वाचन अधिकृत राजेन्द्र थापा पूर्वाग्रही बनेको भन्दै उनलाई परिवर्तन गर्न माग गर्दै काँग्रेसले अवरोध सिर्जना गरेको छ । दिउँसो ४ बजेसम्म नेपाली कांग्रेसले अग्रता थियो, त्यसपछि एमालेले अग्रता लियो । वडा नं २ को मत परिणामपछि एमालेले अग्रता लिएको थियो । तर, त्यसलाई काँग्रेसले भने विरोध जनाएको छ ।
बाराकै आदर्श कोतवाल गाउँपालिकामा पनि मतगणना स्थगित भएको छ । आठवटामध्ये ४ वडाको मतगणना सम्पन्न भइसकेपछि मत गन्न रोकिएको हो । मतगणनामा बसेका निर्वाचन आयोगका कर्मचारीले गरेको मणना र दलका प्रतिनिधिको गणना नमिलेपछि साँझ ५ बजेदेखि मतगणना रोकिएको हो । एउटा बुथमा फोरमको ५४६ मत हुनुपर्नेमा कर्मचारीले ५३६ मत टिपेपछि विवाद उत्पन्न भएको हो ।
फोरमले अन्य वडामा पनि मतगणना घटाइएको भन्दै पुनः गणनाका लागि माग गरेको छ । अन्य दलले भने मानेका छैनन् ।











प्रतिक्रिया