काठमाडौं, ४ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)का अध्यक्ष पशुपति शम्शेर राणाले राप्रपाको नेतृत्वले अबलम्बन गरेका सैद्धान्तिक, वैचारिक विषयहरू उचित नभएका कारण पार्टी विभाजनको अप्रिय निर्णय लिन पुगेको स्पष्ट पारेका छन् ।
काठमाडौंमा बुधबार आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा अध्यक्ष राणाले वैचारिक अवधारणाहरूको पालना नभएपछि बाध्य भएर राप्रपा (प्रजातान्त्रिक) गठन गरेको बताए ।
‘पार्टी विभाजन प्रिय विषय होइन’, अध्यक्ष राणाले भनेका छन्, ‘राप्रपाले अबलम्बन गरेका सैद्धान्तिक, वैचारिक अवधारणाहरूको पालना भएन, एकतावार्ताको समयमा पार्टीको चुनाव चिन्ह हलो राख्ने भद्र सहमतिको उल्लंघन र अवज्ञा गरियो, पार्टी सञ्चालन संस्थागत र पारदर्शी रुपमा गर्ने प्रावधान अनुरुप पार्टीको विधानमा व्यवस्थाा गरिएको निर्देशन समिति गठन गर्न बारम्बार अनुरोध गर्दा पनि राप्रपा नेतृत्वबाट अस्वीकार भयो ।’
‘विकृति आत्ममोह र राजनैतिक दुराशय राख्नेहरूसँग हाम्रो सहकार्य सम्भव भएन’, अध्यक्ष राणाले भनेका छन्, ‘अझ जब ६ वटा प्रदेशको स्थानीय निकायको निर्वाचन परिणाममा राप्रपाले लज्जास्पद हार व्यहोर्नु परेपछि हाम्रो एकतालाई नेपाली जनताले अस्वीकार गर्यो भन्ने निष्कर्ष हामीले निकाल्यौं ।’ त्यसपछि पार्टी विभाजन गर्न पुगेको राणाको भनाइ थियो ।
अध्यक्ष राणाले पार्टी विभाजनपछि राप्रपा (प्रजातान्त्रिक)ले ४८ जिल्लामा सर्वसम्मत रुपमा जिल्ला कार्यसमितिहरू गठन गरेको समेत बताएका छन् ।











प्रतिक्रिया