१५ कार्तिक २०८३, आइतबार

एआईजीको असुली धन्दा, लाजिम्पाट दरबारसम्म पुग्न थाल्यो कमिशन

19.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन, २९ भदौ । नेपाल प्रहरीमा बाहिर काम गरेको देखाउने र भित्रभित्रै असुली धन्दा चलाउने प्रचलन नयाँ होइन । हालै डिआईजीबाट बढुवा भएका एआईजीहरूको कार्यकाल अब छ महिना मात्रै बाँकी छ ।

कतिपय आईजीहरू तीस वर्षे सेवा अवधी हटाएर ३२ पुर्‍याई अवधी लम्ब्याउने खेलमा लागेका छन् भने कतिपय एआईजीहरू कार्यकाल सकिन थोरै समय रहेको भन्दै असुली धन्दा चलाउन थालेका छन् । यूनाइटेड पोष्ट साप्ताहिकले समाचार छापेको छ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको दवावमा ३ नम्बर प्रदेशको प्रमुख बनेका एआईजी केशरीराज घिमिरेले चितवन, धादिङ,सिन्धुपाल्चोक, सिन्धुली, रामेछाप, नुवाकोट, रसुवालगायतका जिल्लाहरूमा छुट्टै घुमुवा प्रहरी परिचालन गरी असुली धन्दा चलाएका छन् ।

चितवनमा एआईजी घिमिरेले यतिसम्म गरेका छन् कि एउटा ठाउँमा एउटै पदमा ईञ्चार्ज भईसकेकालाई पुनः सोही ठाउँमा काज सरुवा गरी ईञ्चार्ज बनाएर पठाएका छन् । जबकि प्रहरी नियमावली अन्तर्गत एउटै पदमा रहेको बेला एक ठाउँमा दुई पटक ईञ्चार्ज बनाउन मिल्दैन ।

तर, एआईजी घिमिरेले चितवनको चनौली प्रहरीचौकीमा हेटौँडा गणमा दरबन्दी रहेका सई भानुभक्त आचार्यलाई प्रमुख बनाएर पठाएका छन् ।

चनौली चौकीमा सई बज्रकिशोर दास ईञ्चार्ज हुन अघि पनि आचार्यले नै प्रमुख भएर चलाएका थिए । तत्कालीन मध्ये क्षेत्रका डिआईजी गणेश केसीले सई आचार्यलाई हेटौँडा गणमा नै फिर्ता गरेका थिए ।

तर, ३ नम्बर प्रदेशमा एआईजी घिमिरे प्रमुख बनेपछि नियमलाई नै धोती लगाई सई आचार्यलाई चनौलीको प्रमुख बनाएर पठाएका छन् ।

जुवा, तस्करी र आपराधिक गतिविधिको हब मानिने चनौलीमा एआईजी घिमिरले दशैँको मुखमा पैसा कमाउन सई आचार्यलाई प्रमुख बनाएको प्रहरी स्रोतले बताएको छ ।

त्यस्तै सप्तरी जिल्लामा दरबन्दी रहेका असई कमल परियारलाई एआईजी घिमिरेकै मौखिक दवावमा जिल्ला प्रहरी कार्यालय चितवनमा काज सरुवा गरिएको छ ।

परियार र आचार्यको असुली धन्दाले आजित बनेका चितवनका एसपी दीपक थापा उनीहरूलाई हटाउन एआईजी घिमिरेका कारण असफल भएका छन् ।

विना पत्र चितवनमा बसेर काम गर्दै आईरहेका असई परियारले चितवनका जुवाडेदेखि चोरीका मोटरसाईकल र गाडीको कारोबार गर्ने गिरोहसँग लाखौँ रकम असुली गरेर एआईजी घिमिरेलाई कमिशन बुझाउँदै आएको आरोप लागेको छ ।

असई परियारले चोरीका मोटरसाईकल बरादम गरी प्रहरी कार्यालयमा दाखिला नगरी पुनः गिरोहलाई नै बेच्दै आएको जिल्ला प्रहरी कार्यालय चितवनमा उजुरी पर्दा समेत एसपी थापाले कारबाही गर्न सकेका छैनन् ।

यसको एक मात्र कारण असई परियारको चोरी धन्दा चलाउने माओवादी नेताहरूसँगको उठबस र एआईजी घिमिरेसँगको रहस्यमय सम्बन्ध ।

पूर्वक्षेत्रको डिआईजी छँदा सुपारी तस्करीमा मुछिएका दीपक पोखरेलको गिरोहसँग करोडौँ असुलेर माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई कमिशन बुझाई ३ नम्बर प्रदेशको प्रमुख बनेको आरोप लागेका घिमिरे बाहिर हेर्दा सोझा प्रहरी देखिन्छन् । तर, भित्री रुपमा एआईजी घिमिरेको असुली धन्दाले सिङ्गो प्रहरी संगठन नै बद्नाम भएको हेडक्वाटर स्रोत बताउँछ ।