काठमाडौं, २० कात्तिक । अर्थमन्त्री रामशरण महतले अस्ट्रेलियाको स्थायी बसोबासको अनुमतिपत्र (पीआर) होल्डर विवादास्पद सहसचिव भरत सुवेदीलाई चोर बाटोबाट काज सरुवा गरी अर्थमन्त्रालयमा ल्याएका छन् ।
महतले सुवेदीलाई मुलुकभरको भन्सार कार्यालयमा हुने राजस्व चुहावट र भन्सार छलीको छानबिन गर्ने महत्वपूर्ण विभाग राजस्व अनुसन्धानमा उपमहानिर्देशकको जिम्मेवारी दिने तयारी गरेको जानकारी स्रोतले दिएका छन् ।
स्रोतका अनुसार सामान्य प्रशासन मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषदले मात्र सहसचिवहरूलाई सरुवा र काजमा पठाउने निर्णय गर्ने कानुनी व्यवस्थालाई मिचेर महतले सुवेदीलाई चोर बाटोबाट अर्थमा काजमा ल्याएको समाचार आजको कान्तिपुर दैनिकले छापेको छ ।
आर्थिक मामिलामा चर्को विवादमा परेका सुवेदीलाई अर्थमा लगेर राजस्व अनुसन्धान विभागको उपमहानिर्देशकको जिम्मेवारी दिन खोज्नुले अर्थमन्त्रीको नियतमाथि प्रश्न उठेको सरकारी अधिकारी बताउँछन् ।
६ महिनाअघि उपसचिवबाट सहसचिव बढुवा भएका सुवेदी मन्त्रिपरिषदले श्रम मन्त्रालयअन्तर्गतको सीप विकास केन्द्रमा सरुवा गरे पनि पत्र नबुझी बसेका थिए ।
अर्थमन्त्रीले आफूलाई श्रमबाट अर्थमा काजमा ल्याउने तारतम्य मिलाएपछिमात्र सुवेदी हालै सीप विकास केन्द्रमा हाजिर हुन गएका थिए ।
महतले कानुन मिचेर सुवेदीलाई अर्थमा ल्याउन घुमाउरो बाटो अख्तियार गरेको स्रोतले उल्लेख गरेको छ ।
स्रोतका अनुसार अर्थमन्त्रीको निर्देशनमा राजस्व अनुसन्धान विभागका महानिर्देशक बालकृष्ण घिमिरेले राजस्वका विज्ञ र अनुभवी सुवेदी आफ्नो विभागमा उपमहानिर्देशक भएर आए काम गर्न सजिलो हुने भन्दै उनलाई पठाइदिन अर्थमन्त्रालयलाई लिखित अनुरोध गरेका थिए ।
अर्थमन्त्रीले घिमिरेको अनुरोधलाई आधार बनाएर सुवेदीलाई राजस्व अनुसन्धान विभागमा राख्न माग भई आएकाले उनलाई काजमा पठाइदिन श्रममन्त्री टेकबहादुर गुरुङलाई लिखित आग्रह गरेका थिए ।
श्रममन्त्रीले अर्थमन्त्रालयबाट माग भई आएकाले सुवेदीलाई काजमा पठाइएको भनेर पत्र दिएका छन् । सोही पत्रका आधारमा सुवेदी अर्थमा हाजिर भइसकेका छन् ।
सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले भने सहसचिव सुवेदीको अर्थमन्त्रालयमा काज सरुवा भएकोबारेमा आफूलाई थाहा नभएको बताए ।
‘कानुनअनुसार सहसचिवहरूको सरुवा र काज मैले (सामान्य प्रशासनमन्त्रीले) मन्त्रिपरिषदमा प्रस्ताव नलगी निर्णय गर्न मिल्दैन’ पण्डितले भने ‘सामान्यको सहमतिबिना सहसचिवको सरुवा र काजमा पठाउने निर्णय हुन सक्तैन । सामान्यले सुवेदीलाई काजमा लान या सरुवा गर्न सहमति दिएको छैन । जहाँसम्म सुवेदीको काज सरुवा भएको भन्ने कुरा छ, त्यसबारेमा मलाई केही थाहा छैन ।’
उनले सुवेदीलाई अर्थमा काज सुरुवा लगिएको हो भने त्यो गैरकानुनी भएको बताए ।















प्रतिक्रिया