
– दीपकसंगम थापा
पछिल्लो समयमा काठमाडौं महानरपालिकाका मेयर विद्यासुन्दर शाक्यले सय दिनमा केही गर्न सकेनन् भनेर सामाजिक सञ्जाल र व्यक्तिगत रुपमा दर्ता गरिएका साना मिडियाहरुमा रोइलो मच्चाउनेदेखि बनावटी रुवाबासी गरिरहेका छन् । यस्तो रोइलो मच्चाएको देख्दा अन्य सचेत युवाहरुले अनौठो मान्ने नै भए । कुनै पनि काम गर्न पहिलो कुरा त योजना बनाउनुपर्छ । योजनालाई कार्यन्वयन गर्नु र सफल हुनु पछाडिको कुरा हो । तर, जननिर्वाचित भएको सय दिनमै सयौँ सफलता चाहनु र आशा गर्नु नजायज नभएपनि त्यो अलि बढ्ता कुथुर्की नृत्य नै हो । यहाँ मैले विद्यासुन्दरको पक्षमा बोलेको हैन तर नेपालको कार्यप्रणाली, विकास प्रणालीको कुरा एकपटक स्मरण गराउन मात्र चाहेको हो । विकास निर्माण प्रणालीमा नेपाली परिपाटी नै ढिलासुस्ती छ । गलत प्रणाली, परिपाटी बसेको छ । विद्यासुन्दर को हुन र ? एकाएक चमत्कार देखाइदिने ?
विद्यासुन्दर पनि एक असाधारण क्षमता भएका व्यक्ति हुन् । आम मानिस नै हो । फरक हो, उनी काठमाडौ महानगरपालिकाका मेयर हुन । उनले १०० दिनमा चाँहदैमा केही परिवर्तन हुने होइन । कुनै व्यक्ति आउँदैमा एकछिनमा परिवर्तन हुने होईन । नेपालको विकासे प्रणाली कस्तो छ भन्ने त सबैलाई थाहा होला । वर्षभरी कानमा कपास राखेर असारको महिना धमाधम योजना र रकम बाँड्ने गरेको होइन र ? यसो भन्दै गर्दा वर्षदिनै कुर्नुपर्छ भन्ने चाँहि होईन । तर हरेक क्षेत्रको विकास गर्दा केही समय भने अवश्य लाग्छ र धेर्य पनि गर्नुपर्दछ । विकास निर्माण गर्नु भनेको भात कपाकप खाए जस्तो होइन । त्यसैले १०० दिनमै सयौँ कामको आशा गर्नु बालुवामा विरुवा चाहियो भनेजस्तै हो । धुलो, धुवाँ, सडक खाल्डाखुल्डी, खानेपानी विस्तार, फोहोर व्यवस्थापन, विजुली, ट्राफिक समस्या यिनै होइनन् काठमाडौका समस्या ? यी समस्याहरु एकैदिन समाधान हुने विषय होइनन् । एकाध महिनामा समाधान हुने समस्या पनि हैन् । एउटै उदाहरण मात्र लिऔः काठमाडौमा खानेपानीको समस्या छ, तर के अहिले विद्यासुन्दरले भन्दैमा मेलम्चीको पानी आउँछ ? मेयरले त पहलकदमी चाल्ने हो, सरकारसँग समन्वय गरेर जतिसक्दो छिटो पानी ल्याउन सघाउने हो । काठमाडौं महानगरपालिकाले आफ्नो क्रमागत योजनामा पनि राख्ला । कतिपय दलका मझौला खालका नेताहरु र केही व्यक्तिहरुले आज सडक निर्माण सम्पन्न गर्नुपर्ने, भोली खानेपानी आउनुपर्ने, पर्सी ग्यासको पाइप जोडिदिनुपर्ने, अर्को दिन धुलो र धुवा हटाईदिनुपर्ने जस्ता मागको लिस्ट दिएको जस्तो भयो । अपेक्षा पनि त्यस्तै गरेको पाइयो । प्रत्येक दिन नयाँ नयाँ विकासे काम कँहीकतै सम्पन्न हुन सक्दैन । अहिले काठमाडौँका केही भागमा सडकमा खाल्डाखुल्डी छन् तर ती अहिले विद्यासुन्दरले चाहेर भोलिपल्ट कालोपत्रे गर्न सक्दैन् । दुई चार दिन अवश्य कुर्नु पर्दछ । अरु आए पनि सक्ने होइनन् । किनभने अहिले मेलम्ची पिउनेपानी आयोजनाले पाइपलाईन विस्तार गर्नुपर्ने भएकोले खाल्डाखुल्डी हुन पुगेको हो । एकातिर सडक विस्तार गर्ने अर्कोतिर सडक खन्ने हुन सक्दैन । धुलो र धुँवा हुनुको कारण पनि पाइपलाईन विस्तार हो । पाइपलाइन विस्तारपछि सडकको कालोपत्र काम सम्पन्न होला । थानकोटदेखि कलंकी र चक्रपथका क्षेत्रमा सडक चौडा पार्ने काम भएको छ । धुलो आयो भन्दैमा कामलाई रोक्ने त भएन नि । टेलिकम, खानेपानी, विद्युत लगायतको लाइन विस्तार लगायतका कामले अलिकति ढिलो हुन पुगेको हो । पुरानो संरचनालाई नयाँ संरचनामा ल्याउन केही समय त लागिहाल्छ । अर्को कुरा कोही व्यक्ति विशेषले आजको आजै भन्दैमा एकैदिनमा पूरा हुने कुरा होइन । के सय दिनमा सय काम देखाउन सम्भव छ ? विद्यासुन्दरलाई सय कामको प्रगति माग्नेहरुले चाँहि के के काम गरेर देखाए ? लौ एउटा काम भनौं त ? भन्न सजिलो छ तर गर्न गाह्रो छ ।
काठमाडौँ नगरपालिकाको सबै काम महानगरले मात्र सम्भव छैन । सरकार, महानगरबासी, दातृ निकाय, प्रहरी प्रशासन, आम नागरिक सबै लाग्नु पर्दछ । काठमाडौलाई भोलिका भोलि छर्लङ्ग विकास गरेर देखाउन सम्भव छैन । महानगरमा परिवर्तन हुन्छ तर केही समय भने कुर्नै पर्दछ । भोलिका भोलि परिवर्तन त विद्यासुन्दर होइन, कोही प्रधानमन्त्री, राष्ट्रपति कसैले सक्दैनन् ।
काठमाडौको समस्या भन्दा देशको समस्या एकपटक फर्केर हेरौँ । आज विकास निर्माणमा लाग्ने हजारौँ युवाहरु विदेशी भूमिमा जान बाध्य छन्, दैनिक भ्रष्टाचार गरेका समाचार आएका आयै छन, संविधान कार्यान्वयनको मुद्धा, कर्णाली विकासका मुद्धा, हुम्ली र जुम्लीहरुले नुन र औषधि समयमै खान पाएका छैनन्, बेरोजगार समस्या बढेको बढ्यै छ, महंगी बढिरहेको छ, नेताहरु सत्ता, सम्पत्ति र शक्तिको पछि दौडिरहेका छन्, मेनपावर कम्पनीहरुले विदेशीले युवाहरुलाई ठगीरहेको समाचार आएका आएकै छन, नीतिगत रुपमा भ्रष्टाचार मौलाइरहेको छ, आज कर्णालीका महिलाहरु सुरक्षित सुत्केरी हुन नपाएर अकालमै ज्यान गुमाउनु परेको छ, हजारौँ बालबालिकाहरु कुपोषित भइरहेका छन्, तराई डुबान भइरहेको छ, असन्तुलित दौत्य सम्झौताहरु भइरहेका छन्, अर्बौका सुनका थैलाहरु फेला परिरहेका छन्, आज लाखौ नागरिकहरुले सर्वसुलभ स्वास्थ्य उपचार पाउन सकेका छैनन्, सांसदहरु र भिआईपीहरुले आफ्नो विलासिताका लागि सेवा सुविधा र तलब बढाइरहेका छन् । खै त यस्ता कुरामा आवाज उठाएको ? आज हरेक क्षेत्रमा घुषखोरी मात्रै मौलाएको छ, गरिब र दलितहरुलाई अझै पनि छुवाछुतको व्यवहार कायमै देखिन्छ । खै यस्ता क्षेत्रमा आवाज उठाएको ? उठायौ यस्ता कुरामा ? वकालत गर्याँ ? अनि किन विद्यासुन्दरलाई मात्र ताक्ने ? समस्या काठमाडौँ मात्र होइन, नेपालको विकासे प्रणाली, गलत कर्मचारी प्रणाली, असमान विकासे वितरण प्रणालीमा छ । काठमाडौ देशकै मुटु हो, राजधानी हो, काठमाडौँ सानो आय आर्जन गर्न सक्ने मान्छे बस्न सक्दैनन् । यस्तो महत्वपूर्ण ठाउँमा बस्नु त भाग्यमानी हो । काठमाडौँबासीले त आफूलाई भाग्यमानी ठान्नु पर्दछ । एकपटक हुम्ला, डोल्पा, जुम्ला, दार्चुला, रोल्पा, रुकुमतिर या जलमग्न तराई फर्केर हेरौँ त ? कस्तो कष्टकर जीवन विताइरहेका छन् त्यहाँका जनताहरुले ? कति पीडामय जीवन विताएका छन् । खाली काठमाडौ, काठमाडौं मात्रै भनेर हुन्छ ? देशका अन्य ठाउँमा विजुली, खानेपानी, स्वास्थ्य उपचार, सडक, भौतिक संरचना, विकास, रोजगारी चाहिन्न ? स्मार्ट सिटी, स्मार्ट सिटी रे, यही देशका नागरिकहरुले मिति नाघेको औषधि खानु परिरहेको छ, सिटामोल खान पाएका छैनन् । काठमाडौँमा मात्र स्मार्ट सिटी बनाए पुग्छ ? दुर्गम जिल्लाहरुमा सडक सञ्जालले समेत जोडिएको छैन् । केवल काठमाडौलाई मात्र हेर्नु राम्रो होइन । तर देश विकास सँगसँगै काठमाडौलाई पनि बनाउनै पर्दछ । किनकी यो राजधानी हो । देश विकास कसरी गर्ने भन्ने बारेमा नेपालका अन्य युवाहरुलाई पनि राम्ररी थाहा छ तर अवसर पाएका छैनन । समस्या काठमाडौँको मात्र होइन्, सिंगै देशको छ ।
खै, हामीले विद्यासुन्दरलाई योजना निर्माणमा, काममा सघाएको ? खै, सल्लाह सुझाव दिएको ? खै, हातमा हात, काँधमा काँध मिलाएको ? महानगर बनाउने जिम्मा के महानगरपालिका कार्यालय वा विद्यासुन्दरको मात्र हो ? अरुको भूमिका केही रहन्न ? एक छाक भात पकाउन त धेरै चिज चाहिन्छ भने लाखौँ जनसंख्या बस्ने महानगर बनाउन चानचुने काम हैन् ।
लौ भन्नुहोस्, प्रधानमन्त्रीले के नयाँ काम गरे त ? देश लुटिरहेका भनेर आरोप लगाइरहेका ६०१ सभाषदहरु, वर्षवर्ष फेरिने सरकारले त भूकम्प गएको दुई वर्षसम्म भूकम्प पीडितलाई केही दिन सकिरहेका छैनन् । वर्तमान यत्रो जम्बो मन्त्री मन्डलले तराईका बाढीपिडितलाई उचित राहत दिन सकेको छैन भने एउटा मेयरबाट सयौ उपलव्धि खोज्नु कहाँसम्मको महत्वाकांक्षा हो ? आशा गर्नु, महत्वकांक्षा राख्नु राम्रो पक्ष हो तर गर्नै सकेन, गरेन भनेर अनाहकमै फतफताउनु चिसो पानीमा भात पकाएन भन्नु जस्तै हो । गर्नै सकेन भनेर एकतर्फ आरोपका शब्दहरुले लेखेट्नु आफैलाई पनि न्याय होइन । खै, हामीले विद्यासुन्दरलाई योजना निर्माणमा, काममा सघाएको ? खै, सल्लाह सुझाव दिएको ? खै, हातमा हात, काँधमा काँध मिलाएको ? महानगर बनाउने जिम्मा के महानगरपालिका कार्यालय वा विद्यासुन्दरको मात्र हो ? अरुको भूमिका केही रहन्न ? एक छाक भात पकाउन त धेरै चिज चाहिन्छ भने लाखौँ जनसंख्या बस्ने महानगर बनाउन चानचुने काम हैन् । हामीलाई थाहा छ अहिले कानूनी नीति निर्देशनहरु कार्यान्वयनको चरणमा छन् । स्थानीयस्तरलाई प्रत्यायोजन गरिने केही ऐन कानूनहरु बनेका छैनन्, आएका छैनन । यस्तो अवस्थामा धेरै आशा राखियो जस्तो लाग्छ । तर आशा गरौँ, एकदिन अवश्य महानगर हराभरा, विद्यासुन्दर जस्तै सुन्दर शहर अवश्य हुनेछ । सय दिनमै सय फलको खोजी गर्नु कहाँसम्मको जिम्मेवारी हो ? सोचौ एकपटक । धेरैलाई थाहा छैन् कि काम गरेर देखाउने मान्छे मौन हुन्छ, चुपचाप गरिरहन्छ तर प्रतिफल ढिलो देखिन्छ । हो, विद्यासुन्दरले एउटा काम गरेका छैनन, त्यो हो मिडियाबाजी । उनले कँही कतै मिडियालाई बोलाएर, पत्रकार सम्मेलन गरेर यसो गर्छु, यस्तो देखाउनेछु, यो याोजना छ, यस्तो बनाइनेछ, सबै सपना पूरा गर्छु भन्दै हिँडेका छैनन् । अहिले उनी चुपचाप काम गरिरहेका छन् । काठमाडौँका लाखौ घरधनीबाट घरबहाल कर उठाउनु, फोहोर व्यवस्थापन गर्नु, २४ सै घण्टा जाग्राम बस्नु चानचुने काम हैन् । एक दिन विद्यासुन्दरले काठमाडौँबासीलाई मेलम्चीको पानी खुवाउने नै छन् । उनकै कार्यकालमा काठमाडौँमा मेट्रो रेल गुड्नेछ । उनकै कार्यकालमा काठमाडौँका सडक फराकिला हुँदैछन् । अत्याधुनिक सवारीसाधन गुड्नेछन् । आकाशे भव्य पुलको निर्माण हुँदैछन् । ट्राफिक चिन्हहरु व्यवस्थित हुँदैछन् । विद्यासुन्दरको कार्यकाल पाँच वर्षको हो तर विकासका लागि पाँच वर्ष नै नकुरेपनि एक–दुई वर्ष त पर्खिन सक्नु परो नि । दुई तिन वर्षमा परिवर्तन र विकास गर्न नसके त्यतिखेर नै काम गर्न सकेनन भनौँला ।
विद्यासुन्दरको काम खोज्नेले अरु मेयरको खोज्नुपर्दैन ? काठमाडौसँग जोडिएको ललितपुर मेयरको खै ? भक्तपुर मेयरको खै ? अन्य जिल्लाका मेयरको खै त खोजेको ?
विद्यासुन्दरको काम खोज्नेले अरु मेयरको खोज्नुपर्दैन ? काठमाडौसँग जोडिएको ललितपुर मेयरको खै ? भक्तपुर मेयरको खै ? अन्य जिल्लाका मेयरको खै त खोजेको ? काठमाडौँको छिटै परिवर्तन खोज्नेले घरबहाल कर बुझाउनु भो ? सार्वजनिक सवारीमा चढ्नुहुन्छ ? प्रत्येक हप्ता बाग्मती सफाईमा लाग्नुहुन्छ ? प्रत्येक हप्ता महानगर सफाईमा लाग्नुहुन्छ ? चुनाव ताका भित्तेवाल सफा नगर्नेले छिटै परिवर्तन खोज्नु कहाँसम्मको गैरजिम्मेवार हो ? मलाई याद छ, कुनै समय विद्युतमा चमात्कार देखाए भनेर कुलमानको ठूलै गुनगान गाइयो । भारतबाट सयौँ मेगावट विद्युत खरिद नगरेको भए के नेपालमा लोडसेडिङ अन्त्य सम्भव छ ? के भारतको विजुली कटौटी गरे तत्काल नेपालको लोडसेडिङ अन्त्य हुन्छ ? एकपटक सोचौ त ? के कुलमानले कुनै ठाउँमा विद्युत उत्पादन गरेर लोडसेडिङ अन्त्य गरेका थिए ? अवश्य होइन । कर्मचारीतन्त्र, मन्त्रालय, सरकार, भारतसँगको थप विद्युत विस्तार लगायतको संयोगले नै होइन र कुलमान चर्चामा आएको ? कुनै ठाउँमा कुनै व्यक्तिले गर्ने – नगर्ने भन्दा पनि नेपालको विकासे सिस्टम गलत छ । यसलाई जरैदेखि सुधार गर्न जरुरत छ । यदि व्यक्ति विशेषले मात्र हुने भए त अब सबै कार्यालय कार्यालयमा कुलमान चाहिने भयो । कहाँबाट ल्याउनु सबै कार्यालयमा कुलमान ? त्यसैले हामीले व्यक्तिलाई होइन् सिस्टमलाई रोजौ, सिस्टम निर्माण गरौँ, सिस्टम बसालौँ । सिस्टमलाई सही दिशामा ल्याऔँ । तब मात्र काठमाडौँ महानगर सुन्दर हुन्छ । काठमाडौँ मात्र होइन, नेपाल नै सुन्दर र समृद्ध हुन्छ । कि कसो ?















प्रतिक्रिया