
एमालेलाई सबैले प्रतिस्पर्धी ठान्छन् तर एमाले कसैलाई प्रतिस्पर्धी मान्न तयार छैन् । पहिला एमालेलाई वीरगञ्जमा प्रवेश निषेध भन्नेहरु अहिले आफै हराए ।
चुनावी रन्को कस्तो लाग्दैछ ?
घमासान चलिरहेको छ । दंगल सुरु भइसकेको छ ।
तपाईंमाथि त आरोप नै आरोप छ नि ?
यो सबै हार्ने मानसिकताले हो । हार्ने मानसिकताबाट प्रेरित भएर अनेक आरोप लगाइरहेका छन् । चुनाव लड्ने तर हार सहन नसक्ने मान्यता राख्नेहरु यस्तै हुन् ।
तपाईले कर तिर्नुभएन रे, अनि दाउदसँग पनि सम्बन्ध छ भन्छन् नि
सबैभन्दा पहिलो कुरा त नेशनल मेडिकल कलेज चुनाव लडेको होइन् । नेशनल मेडिकल कलेजका थुप्रै शेयरधनीमध्येका एक जना शेयरधनी बसुरुद्दिनी अन्सारी चुनाव लडेका हुन् । यदि नगरपालिकाको कुनै बाँकी बक्यौता छ भने त्यो असुल गर्ने अनेकौं उपाय थिए र अहिले पनि छन् । तर, किन आजसम्म गरिएन ? किन चुनावको मुखमा यो कुरा आयो भन्ने कुरा तपाईंहरु बुझिहाल्नुहुन्छ । किनकी नेशनल मेडिकल कलेजको कुरा उठाएर मलाई कमजोर बनाउन सकिन्छ कि भन्ने षडयन्त्रमात्रै हो ।
म यो पनि प्रष्ट पार्छु कि नेशनल मेडिकल कलेजले आफ्ना सम्पूर्ण विवरणसहित अडिट रिपोर्ट महानगरपालिकामा यसअघि नै बुझाइसकेको छ । रजिष्टेशन फारमसहित सम्पूर्ण कागज पनि दिएका छौं । केही कुरा चित्त नबुझे हामी जतिबेला पनि महानगरमा जान तयार छौं । कुनै कागज नपुगे, त्यो पनि दिन्छौं । महानगरले सबै कागजपत्र केलाईकेलाई हेरेको छ, त्यही अनुसार हामीले कर तिरिसकेका छौं । महानगरले प्रमाणसहित दिएमा आज पनि नेशनल मेडिकल कलेज कर तिर्न बाँकी छ । तर, हुँदै नभएको कुरा गरेर विरोधीहरुले भ्रम फैलाउने काम गरिरहेका छन् । हामीमाथि लागेको अरोप सत्य होइन् ।
जहाँसम्म रह्यो, दाउद इब्राहिमसँगको सम्बन्धको कुरा । यो बेतुक र बेबकुफी कुरा हो । म १७ बर्षदेखि वीरगञ्जमा कलेज चलाइरहेको छु । १० बर्ष पहिला मलाई एउटा पत्रिकाले अनायासै यो आरोप लगाएको थियो । १० बर्षपछि विरोधीहरुले यही कुरालाई उचालेका मात्र हुन् । कोसँग प्रमाण छ मेरो दाउदसँग सम्बन्ध भएको ? मुसलमान भएकै कारण शंका गर्न पाइन्छ ? मेरो कलेजमा सयौं भारतीय चिकित्सक पढ्न आएका छन् । यस्तो थियो भने किन भारतीय दूतावासले विद्यार्थी रोकेको छैन त ? बरु भारतीय दूताबास आफैले विद्यार्थी पढन् सिफारिस समेत गरेको छ ।
अनि अहिले चुनावको बेला जे पनि भनिदिने ? जे पनि आरोप लगाउने ? म दोस्रो संविधानसभा चुनावमा माओवादीबाट सांसद उठेको थिएँ । किन त्यतिबेला यो आरोप लागेन ? किन अहिले आरोप लागेको छ भने म माओवादी छाडेर एमालेमा आएँ । एमालेको जनमत देखेर सबै आत्तिएका छन् । कुरा यत्ति हो ।
तपाईंले चुनाव जित्ने आधार के हुन त ?
वीरगञ्जलाई हराभरा अनि समृद्ध बनाउने मेरो योजना छ । औद्योगिक क्षेत्र पनि भएकाले यहाँबाट आर्थिक क्रान्ति गर्न सकिन्छ । नमुनायोग्य विकासका योजना मैले जनतामाझ पुर्याएको छु । जनताले राम्रो मान्छे खोजेका छन्, त्यो राम्रो मान्छे भनेको बसुरुद्धिन अन्सारी हो । यहाँका जनताले बसुरुद्धिन अन्सारीलाई राम्रोसँग चिनेका छन् ।
मैले त अहिलेसम्म मुख्य प्रतिस्पर्धी देखेकै छैन् । बरु अरुले हामीलाई प्रतिस्पर्धी मानिरहेका छन् । एमालेलाई सबैले प्रतिस्पर्धी ठान्छन् तर एमाले कसैलाई प्रतिस्पर्धी मान्न तयार छैन् । पहिला एमालेलाई वीरगञ्जमा प्रवेश निषेध भन्नेहरु अहिले आफै हराए । अहिले ती मान्छेहरु लुकीलुकी हिँडेर मेरो चरित्र हत्या गरिरहेका छन् । सामाजिक सञ्जालमा मेरोविरुद्ध गलत प्रचार गरिरहेका छन् । यो सबै राजनीतिक गेम हो ।
प्रस्तुति : दैनिक नेपाल डेक्स













प्रतिक्रिया