काठमाडौं । भारत उत्तराखण्डको सुन्दर नगरी पिथौरागढमा हालै महोत्सव सम्पन्न भयो । सधैं भारतीय कलाकारको मात्र प्रस्तुती रहने महोत्सव तथा सांस्कृतिक कार्यक्रममा यसपाली दर्शकले फरक स्वाद लिन पाए । त्यहाँ भारतीयरसँगै नेपाली कलाकारले समेत दर्शकलाई भरपूर मनोरन्जन दिए ।
पिथौरागढ र डिँडिहाटमा भएको कार्यक्रममा मोडेल तथा नायिका नीतु कोइराला भारतीय दर्शकमाझ लोकप्रिय बनीन । नायिका नीतुको उत्तराखण्ड सहभागिता पहिलो पटक हो । उनको साथमा गायिका रीता केसी समेत थिइन् । रीताले नै नीतुलाई उत्तराखण्ड डो-याएकी हुन् । पहिलो सहभागिता भए पनि नीतुले त्यहाँका दर्शकमाझ अमिट छाप छोड्न सफल भइन् । “अबका दिनमा आयोजना गरिने सांस्कृतिक कार्यक्रममा मलाई नछुटाउने आयोजकले वाचा गरेका छन्,” उत्तराखण्डबाट भर्खरै काठमाडौँ फर्किनु भएकी नीतुले खुसी व्यक्त गर्दै भनिन् । नीतु जति मोडेल र नायिका रुपमा परिचित छिन् त्यो भन्दा बढी उनी नृत्यङ्गानाका रुपमा चिनिएकी छिन् । उनको नृत्य बेजोडको हुन्छ ।
सीमावर्ती भारतीय क्षेत्रमा भारतीय गीत संगित जत्तिक्कै नेपाली गीत संगितलाई मन पराइन्छ । त्यसैले त्यहाँ आयोजना गरिने हरेक सांस्कृतिक कार्यक्रममा नेपाली कलाकारको अत्यधिक माग भइरहन्छ । तर काठमाडाँै केन्द्रित नेपाली कलाकारलाई त्यहाँ पुग्न सहज भने छैन । “त्यहाँ पुग्न धेरै कठिनाई हुँदो रहेछ, तर त्यो सबै दुःख कष्ट दर्शकको मायाले बिर्साइ दिन्छ,” नीतुले अनुभव सुनाइन् ।
उत्तराखण्डको कुमाउँ र गडवालमा नेपाली गीत संगितलाई त्यहाँका नागरिकले मन पराए जस्तै नेपालको सुदूरपश्चिममा कुमाउनी र गढवाली गीत संगितलाई औधी मन पराइन्छ । त्यसैले ती दुवै क्षेत्रका बासिन्दा एक अर्काको देशका कलाकारलाई आफ्नै ठान्छन् । र उत्तिक्कै माया पनि गर्छन् ।
“नेपालमा भन्दा पनि बढी माया गरेको पाए,” पिथौरागढ र डिँडिहाटमा आफूप्रति देखाएको माया सद्भावप्रति भारतीय दर्शकको नीतुले खुलेरै प्रसंशा गरिन, “त्यहाँको जत्तिको माया त मैले आफ्नो देशमा पाएन ।” उनले उत्तराखण्डमा अब आयोजना गरिने सांस्कृतिक कार्यक्रमलाई कुनै पनि हालतमा नछुटाउने बताइन् । उनी उत्तराखण्डका आयोजक र दर्शकप्रति एकदमै मोहित बनेकी छिन् । सँगै नीतुले नेपालमा मात्र नभई भारतमा समेत आफ्ना समर्थकको संख्या बढाउन सफल भएकी छिन् ।
नीतु कोइराला पाल्पाको भैरवस्थानमा जन्मिनु भएको हो । सानैदेखि गित संगितमा औधि रुची राख्ने उनी पछि बुटवल बसाइ सरीन । त्यहीँबाट दश कक्षा उत्तिर्ण गर्दासम्म उनी स्थानीय दर्शमाझ निकै लोकप्रिय बनिसकेकी थिइन् । कक्षा १२ उत्तिर्ण गर्दासम्म त नीतु राष्ट्रिय स्तरमा चर्चामा आइसकेकी थिइन । उहाँको माग बुटवलसम्म मात्र सीमित रहेन । दर्शकको मागलाई ध्यानामा राख्दै नीतु काठमाडौँ हान्निनुभयो ।
भनिन्छ काठमाडाँै सम्भावनाको शहर हो । काठमाडौँले हरेक मानिसलाई संघर्ष गर्न सिकाउँछ । “कलाकारलाई त यहाँ झनै संघर्ष गर्नुपर्छ, जसोतसो मिहेनतले कलाकार स्थापित हुन सक्दैन, बाँच्न र टिक्न निकै कठिन हुन्छ,” नीतुले काठमाडौँमा गर्नुपरेको संघर्षबारे खुलेर कुरा गरिन । काठमाडौँमा कलाकारबीच निकै अस्वस्थ प्रतिष्पर्धा हुने गरेको उनको बुझाइ छ । तर उनी आफू स्वस्थ प्रतिष्पर्धामा विश्वास गर्छिन् ।
सानैदेखि उनको रुची नृत्यमा हो । पछि उनले केही समय स्यौन्दर्य व्यवसायमा पनि मन बहलाइन । स्यौन्दर्य व्यवसायसँगै आफ्नो मुख्य रुचिलाई मर्न दिइनन् । उनले देशभित्र आयोजना हुने सांस्कृतिक कार्यक्रममा भाग लिईरहिन । काठमाडौँको लामो बसाइमा उनले आफ्नो क्षेत्रलाई राम्ररी बुझ्न पाइन ।
राम्री हुने जो कोही महिलाको इच्छा हुन्छ नै । तर धेरैजसो महिलाले आफ्नो स्यौन्दर्यतालाई घरभित्रै सीमित राख्छन् । इच्छा आकांक्षा मनभित्रै रहन्छ । महिलाहरु खुलेर बाहिर निस्किन सक्दैनन् । तर नीतुले त्यसो गरिनन् । आफ्नो रहरलाई समाजको घेराभन्दा बाहीर पस्किन । उनी ६ वर्ष अघि मिस नेपाल प्रतियोगितामा सहभागि भइन् । नीतुसँगै सो प्रतियोगितमा ३० जना महिला सहभागि भए । अब नीतुलाई नेपालीले फरक ढंगबाट समेत चिन्न थालेका छन् । मोडेल, नृत्याङ्गना, नायकिासँगै अब उनी नेपालकी सुन्दरी पनि हुन् । मिस नेपाल प्रतियोगिताको सहभागितासँगै उनको माग देशभित्र मात्र होइन विदेशमा समेत बढ्दै गएको छ ।
“देशभित्रका प्रायः कार्यक्रममा सहभागि हुन्छु, विदेशबाट समेत निम्तो आइरहन्छ,” उनले भनिन्, “एकबारको जुनिमा किन घरभित्रै कैद भइरहनु ?” अहिले तीजको कार्यक्रममा नीतुलाई भ्याइनभ्याइ हुन्छ । एकछिन फुर्सद हुन्न । उनले तीज प्रतियोगितामा तीन÷तीन पटक प्रथम भई पुरस्कार थापेकी छिन् । उनले दर्जनौँ म्युजिक भिडियोमा अभिनय गरेकी छिन् । अभिनयको क्रम जारी छ । म्युजिक भिडीयोबाट उनले दर्शकको मन जित्न सफल भएकी छिन् । “माग एकदमै आउने गरेको छ, तर जसो तसो म्युजिक भिडीयोमा सामेल हुन्न ।”
राजु परियार र विष्णु माझीको स्वर रहेको ‘माया लाउने भए आउ’ मा उनले सुरत चापागाईँसँग दमदार अभिनय गरेकी छिन् । सो भिडीयोले उनलाई निकै चिनाएको छ । यस्तै ‘करण के रहेछ पिरतीमा’ विष्णु माझीको स्वर रहेको यस गितमा समेत नीतुको मन छुने अभिनय रहेको छ । “माग आए जति भ्याइन्न,” उनले भनिन् । शुरुवातमा यस क्षेत्रमा प्रवेश गर्न उनले प्रस्ताव सहजै स्विकार्ने गरेकी थिइन । “अब नाम कमाइसके । मौका पाउनका लागि मात्रै कसैलाई हार गुहार गर्नुपरको छैन । कत्तिका प्रस्ताव अस्विकार समेत गरेकी छु । सवैकुराको ख्याल गरेर मात्र अभिनयका लागि तयार हुने गरेकी छु,” नीतुले सुनाइन ।
‘भरियो जवानीको रंग’ जानुका कुँवर र शिव पाण्डेयको स्वर रहेको चर्चित गित तथा ‘पूर्व कोही, पश्चिम कोही’ जस्तो लोकप्रिय राष्ट्रिय गितमा नीतुको अभिनय रहेको छ । यी दुवै गितमा गरेको अभिनय नै उनलाई चिनाउन काफी छ । उनले आधुनिक गितमा समेत अभिनय गर्दै आएकी छिन् । ‘कहाँबाट जिन्दगीले ल्यायो यहाँसम्म’ यो गित नीतुलाई चिनाउने अर्को माध्यम बनेको छ । यसमा उनले नायक भुवन केसीसँगै अभिनय गरेकी छिन् । यस गितबाट उनी रातारात चर्चाको शिखरमा पुगिन । उक्त गित दर्शक श्रोतमाझ निकै हिट भयो । अब उनले आफ्नो बारेमा खासै प्रचार प्रसार गर्नु परेको छैन । उनी श्रोता दर्शकको मन मुटुमा बस्न सफल भएकी छिन् ।
नीतुले बेलाबखतमा जनचेतनामूलक टेलिभिजन श्रृङ्खलामा समेत अभिनय गर्दै आएकी छिन् । यससँगै चलचित्रमा समेत अभिनयलाई निरन्तरा दिँदैआएकी छिन् । उनले सबै क्षेत्रमा हात हालेकी मात्र छैनन् सफलता समेत पाएकी छिन् । अब उनी सफल नायिकाका रुपमा चिनिन थालेकी छिन् । नायक सुनिल रसायली रहेको ‘२४ आवर्स’ चलचित्रमा उनको अभिनयको स्वाद लिन सकिन्छ । विवेक थापाको सो चलचित्रको निर्देशन केदार मल्लले गरेका हुन् । उक्त चलचित्रको छायाङ्कन भैरहवा, वुटवलमा गरिएको हो ।
यस्तै सोभित वस्नेतको ‘टिचर्स’ मा नीतुले बेहुलीको भूमिका निर्वाह गरेकी छिन् । अन्य चलचित्रमा समेत उनको अभिनय हेर्न सकिन्छ । “अब चलचित्र अभिनयमा बढी समय दिन्छु,” उनले आफ्नो भावि योजना बताइन् । योसँगै देशभर आयोजना गरिने महोत्सवलाई उनले प्राथमिकता दिने सोच बनाएकी छिन् । “कलाकारलाई चिनाउने महोत्सव मुख्य माध्यम हो, म सकरभर महोत्सव छुटाउँदिन,” उनले भनिन् । महोत्सवमा जाँदा देश चिन्ने अवसर पाएको उनको ठम्याइ छ । यसले विभिन्न जातजातिको कला संस्कृति बुझ्न मद्यत पुगेको छ । उनी अरु कलाकार जस्तो पैंसालाई खासै महत्व दिँदिनन् । “नाम, इज्जत कमाएकी छु, पुग्यो,” नीतुले आफ्नो सन्तुष्टि व्यक्त गरिन ।
नेपालमा भन्दा प्रवासमा नीतुको निकै माग छ । उनको प्रतिभा देखेरै विदेशमा वस्ने नेपालीले माया गरेका हुन् । नत्र कलाकार त यहाँ धेरै थिए । अहिले एउटा गितमा अभिनय गर्ने, एउटा मात्र गित गाएको भरमा कलाकार भएका धेरै छन् । उनलाई यो सव मन परेको छैन । कलाकारिता निरन्तरको साधना भएको नीतुको बुझाइ छ । उनी निरन्तरतालाई ठूलो कुरा मान्छिन् । नेपालको जुम्लादेखि भारतको गुजरात, दिल्ली उत्तराखण्डसम्म उनको निकै चर्चा छ । मलेसिया, दुबई, कतार, हङकङलगायत देशबाट उनलाई प्रवासी नेपालीले निम्तो दिइरहन्छन् ।
नीतुको वर्षभरीको समय समय अभिनयमै वित्छ । प्राय ः घरबाहिरै उहाँको अधिकांश समय वित्छ । तर उनलाई घरपरिवारबाट कुनै बाधा अड्चन भने छैन । “सहयोग माया पाइरहेकी छु,” उनले भनिन् । शिक्षित परिवारमा जन्मे हुर्केकाले कुनै समस्या छैन । हाल उनी कुलेश्वरमा बस्दै आएकी छिन् । नीतुकी आमा सावित्रा कोइराला पनि अभिनयबाटै निनिएकी हुन् । उनले कुनै समय टेलिश्रृंखला सयपत्रीमा अभिनय गरेकी थिइन । नीतुकी ठूली आमा कविता पौडल समेत अभिनयमै छिन् । “कलाकारिता बुझेको परिवार भएकाले निकै सहज भएको छ,” नीतुले भनिन् ।
भूमिका जे सुकै पाइए पनि अभिनय गर्न सक्छुँ भन्ने नीतुमा आत्मविश्वास छ । उनी व्युउटीसियन संघकी केन्द्रीय सदस्य समेत हुन् । त्यसैले देशका विभिन्न ठाउँमा उनले निःशुल्क तालिम दिँदै आएकी छिन् । “राम्री बन्न जो कोहीलाई पनि रहर हुन्छ । कोहीले व्यक्त गर्छन कोही जिन्दगीभर रहर लुकाइ बस्छन । गाउँमा धेरै सुन्दरी छन् । तर उनीहरुले अवसर भने पाएका छैनन् । कतिको मोडेल बन्ने रहर छ । तर रहर मनमै सिमिति रहेको छ । अभिनयमा लाग्ने सोच पनि मनमै दबाएर बसेका छन् महिलाहरु । तर नीतु ति सबै चुनौतिलाई पार गर्दै देश तथा विदेशमा नेपालीमाझ चर्चित बनेकी छिन् ।
























प्रतिक्रिया