काठमाडौं, १९ कात्तिक । नयाँ संविधान जारी गर्ने मिति नजिकिँदै जाँदा धर्मनिरपेक्षताविरुद्ध दलका नेता–कार्यकर्तादेखि सामाजिक संघसंस्थासम्म मोर्चाबन्दीमा उत्रिएका छन् ।
कांग्रेसभित्र नेता खुमबहादुर खड्का नेतृत्वको समूह र सयभन्दा बढी हिन्दूवादी समूह बेग्लाबेग्लै संगठित भएका छन् ।
राप्रपा नेपाल सुरुदेखि हिन्दू राज्य बनाउने अभियानमा छ । त्यसका लागि उसले आन्दोलनको घोषणा नै गरिसकेको छ ।
कांग्रेस नेता खड्काको समूह र हिन्दूवादी संस्थाहरूको मोर्चा पनि आन्दोलनको तयारीमा छन् ।
भ्रष्टाचार अभियोगमा जेल सजाय भोगेका खड्काले ‘सनातन हिन्दू राष्ट्रका लागि महाअभियान’को आवरणमा बिहीबार कांग्रेसको बृहत् भेला बोलाएका छन् ।
जसमा कांग्रेस सभापति तथा प्रधानमन्त्री सुशील कोइरालासहितका शीर्ष नेता, वर्तमान र पूर्वकेन्द्रीय सदस्य र सांसदहरू, पार्टीका जिल्ला सभापति र भ्रातृ संगठनका अध्यक्षलाई निम्त्याइएको छ ।
कांग्रेसले भूमिका नदिएका लक्ष्मण घिमिरे, तारानाथ रानाभाट, अधिवक्ता कुमार रेग्मी, पत्रकार देवप्रकाश त्रिपाठीलगायत अभियानको नेतृत्वतहमा छन् ।
‘अहिले कांग्रेसका नेता–कार्यकर्तालाई मात्र बोलाइएको हो, एमाले, एमाओवादी र अरू पार्टीबाट यो अभियानमा सामेल हुन इच्छा देखाउनेहरूको संख्या बढिरहेको छ,’ समितिका प्रचार संयोजक त्रिपाठीले नयाँ पत्रिकासँग भने, ‘सार्क सम्मेलन सकिएपछि अभियानमा संलग्न हुन चाहने सबै पक्षलाई समेटेर अघि बढ्छौँ ।’
त्रिपाठीको विश्लेषणमा अधिकांश शीर्ष नेता र कार्यकर्ता व्यक्तिगत रूपमा अभियानको पक्षमा छन् ।
‘कांग्रेसका आम नेता–कार्यकर्ता हामीले उठाएको एजेन्डामा सहमत छन्, त्यसकारण सक्कली नेता र कार्यकर्तासँग कांग्रेस पार्टी रहनेछ,’ उनले भने, ‘हिमाल, पहाड, तराईका जनतालाई सांस्कृतिक रूपमा जोड्ने एक मात्र एजेन्डा हिन्दू राष्ट्र हो । हाम्रो सशक्त अन्तर्राष्ट्रिय पहिचान पनि यो मात्रै हो ।’
बिहीबार नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने भेलाले आन्दोलन तय गर्ने त्रिपाठीले बताए । पार्टीभित्र र संविधानसभामा सनातन हिन्दू राष्ट्रका पक्षमा सुरुमा लबिङ गर्ने, तर पार्टीले आत्मसात् नगरे आन्दोलन गर्ने समितिको तयारी छ ।
दोस्रो संविधानसभा चुनावमा कांग्रेस र एमाले हाबी हुनु र भारतमा नरेन्द्र मोदीको उदयले हिन्दू राष्ट्रका पक्षमा बोल्ने वातावरण तयार भएको खड्का समूहको निष्कर्ष छ ।
काठमाडौंमा प्रत्यक्ष निर्वाचनतर्फ कांग्रेसले र समानुपातिकतर्फ राप्रपा नेपालले ल्याएको मतका कारण पनि कांग्रेस धर्मनिरपेक्षताबाट पछि हट्नैपर्ने सो समूहको विश्लेषण छ ।
‘यदि कांग्रेसले आफ्नो एजेन्डा हिन्दू राष्ट्र नछाडेको भए राप्रपा नेपाल आउने थिएन, कांग्रेसको मत बढ्ने थियो, राजनीति अर्को मोडमा जान्थ्यो,’ खड्कानिकट एक कांग्रेस नेताले भने, ‘यसबाट पाठ सिकेर पार्टी अघि जानुपर्छ ।’
कांग्रेस महासमिति सदस्य हरिबोल भट्टराईको नेतृत्वमा गठित नागरिक संघर्ष समिति पनि हिन्दू राज्यका लागि बेग्लै मोर्चाबन्दीमा छ ।
समितिले खड्का नेतृत्वको अभियानमा पनि सहभागी हुने र नागरिकस्तरमा बेग्लै कार्यक्रम चलाउने तयारी गरेको छ । यो समितिमा एमाले नेता मोदनाथ प्रश्रित, पूर्वप्रधानसेनापति रुकमांगद कटवाल, कांग्रेसका सभासद् सुवर्ण जुवारचन र पूर्वसांसद रामजीवन सिंह सदस्य छन् ।















प्रतिक्रिया