२९ आश्विन २०८३, बिहिबार

के हो दमखोकी ? यसरी गर्ने उपचार

546
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । लामो समयसम्म खोकी लागिरहेको छ ? छातीबाट घ्याँरघ्याँर आवाज आउँछ भने यस्तो लक्षण दमखोकीको संकेत हुन सक्छ ।

दीर्घ रूपमा हुने दमखोकीको रोग नै सीओपीडी हो । यसले फोक्सोको मांशपेशीलाई खुम्च्याउँछ । श्वासनलीमा व्यवधान उत्पन्न गर्छ । सास फेर्न अप्ठेरो महसुस हुन्छ । स्वाँस्वाँ हुन थाल्छ । छाती कस्सिएको महसुस हुन्छ । धुम्रपान गर्ने र धुवाँयुक्त वातावरणमा काम गर्ने व्यक्तिमा देखिने दमखोकी नै सीओपीडी हो ।

मधुमेह, मिर्गौला रोग, मुुटुरोगबाट अन्य बिरामी पीडित छन् भने झन् जटिल समस्या उत्पन्न हुन्छ । यस रोगले शरीरका सबै अंग जस्तै गिदी, मुटु, मिर्गौला, पेट, आन्द्रा, मांशपेशी, हाडजोर्नी, फोक्सोलगायत अन्य अंगमा पनि असर गर्छ ।

सीओपीडीमा विशेषतः धुम्रपान तथा घरबाट निस्कने धुवाँ कारक मानिन्छ । दाउरा वा गुइँठा बाल्दा निस्कने धुवाँले पनि यसखाले रोग लगाउन मुख्य भूमिका खेल्छ । सीओपीडी रोगसँगै विशेषतः क्रोनिक ब्रोङ्काइटिस र इमफाइसेमा भन्ने रोग पनि गाँसिएका हुन्छन् । दुई वर्ष लगातार तीन महिनासम्म तारन्तार खोकी लागेर बाक्लो खकार आइरहने लक्षण क्रोनिक ब्रोङ्काइटिस हो ।

रोगको पहिचान गर्न नियमित रगत परीक्षणको साथै छातीको एक्सरे गर्नुपर्ने हुन्छ । एक्सरेले क्षयरोग, फोक्सोको क्यान्सरका साथै अन्य रोगको पहिचानमा सहयोग पु-याउँछ ।

सीओपीडीमा रक्तअल्पता वा पोलिसाइटोमिया (अक्सिजनको कमीले गर्दा शरीरमा राता कोषहरू बढ्ने) हुन सक्छ । नियमित खकार परीक्षणबाट फोक्सोको क्षयरोग वा अन्य संक्रमण पत्ता लगाउन सकिन्छ ।

छातीको एक्सरेमा अन्य रोगको शंका लागेमा फोक्सोको क्यान्सरको पहिचान पनि गर्नुपर्ने आवश्यकता पर्छ । यसका लागि चिकित्सकहरूले छातीको सिटिस्क्यानको सहारा लिन सक्छन् । डा। बमका अनुसार रोगको मुख्य पहिचान स्पाइरोमेट्री अर्थात् पल्मोनरी फङ्सन टेस्टबाट पनि गर्न सकिन्छ ।

समयमै उपचार गरे सजिलै विरामीको जीवनयापन पनि सहज गराउन सकिने चिकित्सकहरू बताउँछन् । यद्यपि, सीओपीडी रोग पूर्णतः निर्मुल हुँदैन । तर, उपचारको माध्यमबाट यो रोग नियन्त्रण भई जीवनशैली सहज गराउन सकिन्छ  । यसका लागि बिरामीले सर्वप्रथम धुम्रपान त्याग गर्नुपर्छ ।

यस्तै, चिकित्सकको सल्लाहमा ब्रोङ्कोडाइलेटर औषधि सेवन गर्नु उपयुक्त हुन्छ । बिरामीले दमखोकीका निम्ति खाने चक्कीभन्दा मुखबाट तानेर फोक्सोमा पुगाउने सुक्खा पाउडर (इनहेलर थेरापी) बढी उपयुक्त हुने चिकित्सकहरू बताउँछन् ।

बढी ज्वरो आउने वा खकार पहेंलो भई छातीमा संक्रमण देखिएमा तुरुन्तै चिकित्सकहाँ पुर्‍याउनु पर्छ । वार्षिक दिइने इनफ्लुएन्जा खोप र एक पटक दिइने निमोनिया खोपले छातीको संक्रमणबाट जोगाउन सहयोग पुग्छ ।