
– मधुसूदन दवाडी
भारतीय नेपाली मामिलाका जानकारहरु एसडी मुनीलगायतका विज्ञहरुले जसरी हुन्छ एमालेको राजनीतिलाई प्रभावशालीरुपमा अगाडि जान दिन नहुने तर्क गरिरहेका छन् । बाहिर बजारमा जे जस्तो हल्ला चले पनि मधेसी नागरिकको भित्री मन र भावना के छ भन्ने विषय भने बुझ्न नै बाँकी छ ।
तराईका जिल्लाहरु रहेको प्रदेश नम्बर २ मा यही असोज २ गते स्थानीय निकायको निर्वाचन हुने भएपछि तराईमा निर्वाचनप्रतिको उत्साह देखिएको छ । धेरै लामो समयसम्म तराई स्थानीय निकायको निर्वाचन हुने हो वा नहुने हो भन्ने संसय पैदा भएको थियो । अब सबै दल निर्वाचनको तयारीमा लागेकोले पनि निर्वाचन शान्तिपूर्णरुपमा सम्पन्न हुनेमा कुनै दुविधा छैन । विशेष त मधेसका केही मधेसवादी दलहरुको संकीर्ण मानसिकता र हठले गर्दा मधेसको राजनीति धेरै लामो सयमसम्म धमिलिन गएको थियो । अहिले पनि मधेसको निर्वाचनको विषयलाई लिएर विशेष त संविधान संशोधनको विपक्षमा उभिने एमाले र राप्रपा लगायतका दलहरुलाई कतिपय मधेसका जिल्लाहरुमा निषेध भन्ने जस्ता नाराहरु पनि लगाइएको छ । भारतको टाइम्स अफ इण्डियाले समेत वीरगञ्जको एमालेका मेयरका उम्मेदवारलाई भारतीय भूमिगत गिरोहको नाइके दाउद इब्राहिमको मान्छे भनेर लेखिरहेको छ । यद्यपि भारतीय नेपाली मामिलाका जानकारहरु एसडी मुनीलगायतका विज्ञहरुले जसरी हुन्छ एमालेको राजनीतिलाई प्रभावशालीरुपमा अगाडि जान दिन नहुने तर्क गरिरहेका छन् । अहिले प्रदेश नम्बर २ को निर्वाचन नेपालमा मात्र नभएर भारतमा समेत चासोको विषय बनिरहेको छ । बाहिर बजारमा जे जस्तो हल्ला चले पनि मधेसी नागरिकको भित्री मन र भावना के छ भन्ने विषय भने बुझ्न नै बाँकी छ ।
मधेसीको हक र अधिकारको लागि भन्दै चुनावको प्रक्रियामा अहिले दर्जनौ दलहरु मधेसमा क्रियाशील छन् । विभिन्न क्षेत्रीयता, जातीयताको विषय उठाएर मधेस आन्दोलन भयो जसमा दर्जनौले ज्यान गुमाए । मधेसीको बलिदानीबाट प्राप्त फाइदालाई उपयोग गरेर कयौ क्षेत्रीय दलहरु सरकारमा समावेश भए । तर, पनि विगत १० वर्षको इतिहासमा आम मधेसी समुदायको जीवनमा खासै ठूलो परिवर्तन आउन सकेन । हिजो मधेसको लागि आन्दोलन गरेका दलहरु नै सत्ताको विषयलाई लिएर विभाजित भए, मागहरु पनि विभाजित भयो । उनीहरु आफै मिल्न नसकेपछि त्यसको प्रत्यक्ष फाइदा एमाले, कांग्रेसजस्ता ठूला दलहरुलाई भयो । अघिल्लो संविधानसभामा चौथो ठूलो शक्ति रहेको मधेसी जनअधिकार फोरम पछिल्लो संविधानसभामा सबैभन्दा कमजोर साबित भयो । उनीहरुको पक्षमा खासै ठूलो जनलहर र जनमत देखिएन । पछिल्लो समयमा भारतीय जनता पार्टीको जस्तै नाम र झन्डा लिएर राष्ट्रिय जनता पार्टीको स्थापना भयो, यी दलका नेताहरु राष्ट्रिय राजनीतिदेखि क्षत्रीय राजनीतिसम्म कमजोर नै भए तर पनि उनीहरु आफूलाई निकै शक्तिशाली सोच्दै छन् । अहिले उनीहरु कमजोर बन्दै गएर अराजक र हिंसात्मक दस्ता जस्तो मात्र बन्न पुगेका छन् । लोकतन्त्रमा अल्पमतले बहुमतको विचारलाई स्वीकार गनुपर्छ भन्ने मान्यतालाई उनीहरुले स्वीकार गर्न सकेको देखिएन । अहिले पनि उनीहरुको राजनीति कुनै स्पष्ट नीति, योजना र भिजन भन्दा पनि लहड, सन्काहा र संकीर्ण मानसिकताको आधारमा सञ्चालन भइरहेको छ । समय समयमा कहिले सप्तरी घटनाको नाममा त कहिले मधेस आन्दोलनको नममा हुने घटनाहरुले मधेसमा नागरिकको रगतमाथि होली खेलेर गरिने राजनीति कहिलेसम्म ? भन्ने प्रश्न पनि उब्जिएको छ । भर्खरै जनकपुरमा भएको एमालेको चुनावी कार्यक्रमलाई बिथोल्ने प्रयास भयो । कार्यकर्ताहरु शान्तिपूर्णरुपमा निकै जिम्मेबार र सजक भएर कार्यक्रमस्थलमा माधव नेपालको नेतृत्वमा सहभागी बन्दा पनि आक्रमण गर्ने संस्कारलाई मधेसवादी दलहरुको संकीर्ण मानसिकता भन्न सकिन्छ ।
कहिले सप्तरी घटनाको नाममा त कहिले मधेस आन्दोलनको नाममा हुने घटनाहरुले मधेसमा नागरिकको रगतमाथि होली खेलेर गरिने राजनीति कहिलेसम्म ?
विगतदेखि आजसम्मको राजनीतिक पृष्ठभूमिलाई अध्ययन गर्ने हो भने तराईमा केही सीमित दलहरुले मधेसका अधिकारका नाममा सोझासाझा र गरिब जनतालाई बिना कारण बलीको बोको जस्तो बनाइरहेका छन् । दोस्रो जनआन्दोलनपछि लगातार विभिन्न घटनामा मधेसका नागरिकहरु निरन्तर मारिइरहेका छन् । कहिले मधेस आन्दोलन, कहिले गौर घटना त कहिले टीकापुर घटना हुँदै मधेसमा सोझा निमुखा नागरिक मारिन रोकिएको छैन । जति मानिस मारिए पनि मधेसमा शहीदको संख्या बढ्दै गएको देखिन्छ तर मधेसीको जनजीवनमा कुनै परिवर्तन आउन सकेको छैन । मधेसका जमिन्दार नेताहरु झनै धनी र जनता झनै गरिब बन्दै गएको प्रशस्त उदाहरणहरु सबैको अगाडि छर्लङ्ग छ । मधेसीमाथि सबैभन्दा धेरै दमन र शोषण स्वयं मधेसीहरुले नै गरिरहेका छन् तर उनीहरुको निशानामा पहाडीयाहरु परिरहेका छन् । उनीहरु मात्र अधिकारको कुरा गर्छन् तर अधिकारसँगै उनीहरुले देश प्रति निर्वाह गर्नुपर्ने कर्तव्यलाई बिर्सिएका छन् । मधेसमा हुनेखाने र हुँदा खानेको बीचमा निकै ठूलो खाडल रहेको छ । मधेसको समस्या जात वा रङसँग होइन समस्या धनी र गरिबको बीचमा रहेको छ । पहाडीया नेताहरुलाई गाली गर्दैमा मधेस बदलिदैन, मधेसलाई बदल्न फराकिलो सोचाइको आवश्यकता गर्दछ । मधेसी दलहरु अराजक दस्ता जस्तो होइन आफैमा सभ्य, शिष्ट र नरम बन्न जरुरी देखिन्छ ।
लोकतन्त्रको सबैभन्दा सुन्दर पक्ष भनेको विचारको आदानप्रदान र शान्तिपूर्ण गतिविधि सहजरुपमा सञ्चालन गर्न पाउनु नै हो । लोकतन्त्रको नाममा पटकपटक निर्वाचनमा होमिएका दलहरु आफै देशकै दोस्रो ठूलो दललाई आमसभा गर्न पाउँदैनस् भनेर रोक्ने प्रयास गरिरहेका छन् । उनीहरु जनमतमा निकै कमजोर देखिए पनि लाठी, तोडफोड र हिंसाको जंगली राजनीतिमा होमिएका छन् । यसले गर्दा उनीहरुको जनमत झनै खस्कने सम्भावना देखिन्छ । हिंसा र तोडफोडको राजनीति दीर्घकालीनरुपमा चल्ने सम्भावना देखिँदैन । जसको प्रत्यक्ष उदाहरण नेपालको माओवादी आन्दोलन पनि बनेको छ । सुरुको पहिलो संविधानसभाको निर्वाचनमा जसरी मानिसहरुले माओवादीको डरले उसलाई भोट हालेका थिए तरपछि पार्टीप्रतिको समर्थन टिकाउ हुन सकेन । हिंसात्मक पृष्ठभूमिबाट उचालिएको माओवादीको पृष्ठभूमि दोस्रो संविधानसभासम्म आइपुग्दा छिन्नभिन्न भएर एकाएक गल्र्यामगुर्लुम्म ढल्न पुग्यो । पार्टी राम्रो नीति, कार्यक्रम र घोषणापत्रले बन्ने हो, अराजक भीडहरुको समूहले बन्न सक्दैन । हिजो एमालेको पृष्ठभूमि पनि हिंसात्मक विद्रोहबाट सुरु भएको हो , त्यतिबेला निकै कमजोर रहेको पार्टी जब जनताको बहुदलीय जनमतमार्फत बदलियो तब नै पार्टी सशक्त हुन गयो । यदि आज पनि हिंसात्मक विद्रोहकै बाटोमा चलिरहेको भए आज एमालेको हालत मधेसवादी दल वा समूहको भन्दा फरक हुने थिएन । हिंसा र निषेधको राजनीति विश्वका कतिपय देशहरुमो १६ औं वा १७ औं शताव्दीतिर चल्थ्यो तर आजको खुला र लोकतान्त्रिक युगमा चल्ने सम्भावना छैन । केही मात्रामा गरिब र अशिक्षित मानिसहरुलाई प्रयोग गरेर नेपाल जस्तो अल्पविकसित देशमा भने हिंसा र द्वन्द्वको राजनीतिले प्रश्रय पाइरहेको देखिन्छ । यसको पूर्ण अन्त्य नभइकन संविधानको धारा, उपधारा बदलिएलान् तर देश बदलिने अवस्था छैन ।
यसरी देशमा सरकार बदलिदैमा वा प्रधानमन्त्री बदलिदैमा खासै फरक पार्देन तर नेपालको राजनीतिक अभ्यास भने निकै पीडादायक देखिन्छ । एक वर्षसम्म पनि राम्रोसँग काम गर्न नपाइ सरकार परिवर्तन हुनु, देशी तथा विदेशी सारा शक्तिहरु प्रत्यक्षरुपमा देशको आन्तरिक मामिलामा हस्तक्षेप गरेर सरकार ढाल्नमा केन्द्रित हुनु नेपालीको लागि निकै दुखद अवस्था हो ।
छ दशक लामो राजनीतिक इतिहासमा कयौ दलका मधेसवादी नेताहरुको मन्त्री बन्ने सपना त पूरा भयो तर नागरिकको सपना भने अधुरै रह्यो । आम नेपालीको स्थिर र समृद्ध नेपाल बनाउने सपना थियो जुन अहिलेसम्म अधुरै छ । बेरोजगारी र गरिबीको पीडाले कयौ नेपाली युवाहरु विदेशी भूमिमा पसिना चुहाउन बाध्य छन् । नेपालमा भोलि पनि धेरै जना मन्त्री बन्ने गरेर धेरै प्रान्तसहितको संघीय प्रदेश हुनुपर्छ भन्ने माग उठिरहेको छ । अहिले केन्द्रमा मन्त्री बन्न शक्ति र भनसुन नपुगेकाहरु भोलिको संघीय प्रदेशमा मन्त्री बन्ने सपना देखेर बसिरहेका छन् । दोस्रो जनआन्दोलन भएको १० वर्षे इतिहासमा नत मधेसी जनताको मुहारमा खुसी देखियो नत जनजातिनै खुसी बन्न सके । यही अस्थिर राजनीति र पुरानो फोहोरी राजनीतिको फाइदा उठाउँदै अहिले कतिपय मधेसवादी दलहरुले अराजक राजनीतिको बाटो अपनाइ रहेका छन् । अबको युगमा मधेसवादी दलहरुले पुरानो बिहारी शैलीको राजनीति भन्दा पनि सभ्य र परिष्कृत राजनीति गर्न जरुरी छ । यदि उनीहरु साच्चै धर्तीपुत्र हुन् भने सीके राउतले लगातार कार्यक्रम गरिहेको मधेसमा एमालेको कार्यक्रम भाड्न खोज्नु कुनै नैतिक सिद्धान्तमा टेकेर गरिएको राजनीति हो । उनीहरु पनि नागरिकता र राष्ट्रियताको मुद्दा देशको माया प्रदर्शन गर्न जरुरी छ सधै अधिकार मात्र माग्न पहाडीया नेताहरुलाई गालीमात्र गर्ने भन्दा पनि देशको सीमास्तभ्भ हराउँदा वा नेपाली भूमि मिचिँदा खवरदारी गर्न जरुरी छ ।
हालसालै भारतीय बाँधले नेपाली भूभाग डुबानमा पर्दा समेत कतिपय मधेसवादी दलका नेताहरु चुप लागेका छन् । अबको निर्वाचनमा मधेसका नागरिकले मधेसका कतिपय दलका नेता र उनीहरुको चरित्रलाई कसरी जाँच गर्छन् भन्ने त हेर्न नै बाँकी छ । लोकतन्त्रका नागरिकले सही र गलत नेता वा दलको छनोट गर्ने आवद्यिक निर्वाचन नै हो । अब मधेसका नागरिक साच्चै नै स्थानीय निर्वाचनमा असल र गलत दललाई दूधको दूध र पानीको पानी छुट्याउन जरुरी छ । यदि नागरिक सचेत नबनेमा मधेस सधै संकीर्ण मानसिकता र सोच चेपाइमा परिरहने खतरा रहन्छ । जसबाट नत मधेसमा सफल लोकतन्त्रको अभ्यास हुन्छ नत मधेसको विकास नै सम्भव छ ।















प्रतिक्रिया