काठमाण्डौ महानगरको मेयरमा करीब सय दिन अघि तपाइ चुनिंदा म देश बाहिर थिएं ।अहिले काठमाण्डौमै फर्किसकेको हुनाले प्रथमत: तपाइलाई बिजयको लागि बधाई दिन चाहान्छु ।
चुनावताका तपाइले गर्नुभएका प्रतिबद्धताहरू सम्झाउदै मानिसहरूले तपाइलाई बिभिन्न मिडिया र सामाजिक संजालबाट आलोचना र खिसीटिउरी समेत गरिरहेका छन् । सम्भवत: त्यस्ता कुराहरूलाई बेवास्ता गर्दै तपाईले काममा तल्लिन हुनुपरेका बेला लेखिएको यो चिठ्ठी पढ्न तपाइको जांगर नहुनु अस्वाभाबिक होइन । तर मेरो अनुरोध र आसा छ, दुई मिनेट समय दिएर यो चिठ्ठी पढिदिनु हुने छ ।
काठमाण्डौ जस्तो ठूलो र अब्यबस्थित महानगरमा समस्याका कैयौं चाङ्ग होलान् । ती सबै समस्याहरू हल हुन समय लाग्छ । चुनावताका उमेद्वारहरू अलि बढी नै प्रचारमूखि हुन्छन्, तपाइ पनि हुनुभयो होला । केही तिलस्मी सपनाहरू मतदाता समक्ष बाड्नु पनि भयो होला । ती सबै सपनाहरू सय दिन भित्रै पूरा भएको भए त अति राम्रो हुन्थ्यो । तथापी, आफ्ना प्रतिबद्धताहरू पूरा गर्ने दिशामा तपाइ अहोरात्र लागिपर्नु भएको छ भन्ने कुरामा शंका गरिहाल्ने बेला भएको छैन । तसर्थ: स्वस्थ आलोचनाहरूलाई शिरोपर गर्दै र अनावश्यक खिसीटिउरीलाई वेवास्ता गर्दै आफ्नो कर्तब्यमा लागिरहन तपाइलाई थकाइ नलागोस् भन्ने शुभकामना दिन चाहान्छु । साथसाथै म आफू काठमाण्डौ महानगर भित्र डेरामा बस्ने नेपाली नागरिक भएको हैसियतले नगर र नगरबासीको हितमा तपाईले चाल्न सक्ने\पर्ने कदमहरूका बारेमा आफूले जाने भोगेका आधारमा केही सुझाव दिदै, ती सुझाबहरूको कार्यान्वयनको खातिर तत्परताका साथ तपाइलाई सघाउने इच्छा समेत जाहेर गर्न चाहान्छु ।
मेयर साहब,
म खाद्य बिज्ञान प्रविधीसंग सम्बन्धित ब्यक्ति हुं । खाद्य बिज्ञान प्रविधीकै बिषयमा संयुक्त राज्य अमेरिकाबाट स्नातकोत्तर र विद्यावारिधी सम्पन्न गरि भर्खरै स्वदेश फर्केको छु । त्यसैले म आफ्ना बिशेषज्ञताको क्षेत्रभित्र रहेर केही कुराहरू राख्न चाहान्छु ।
काठमाण्डौमा खाद्य स्वच्छताको अवस्था भयाबह छ भन्ने कुरा मैले तपाईलाई बताइरहन पर्दैन । यहां उपलब्ध ताजा खानेकुराहरू, खासगरीमाछा-मासु, दूध\दुग्ध पदार्थ, तरकारी, पानी, र अन्य प्रशोधित खाद्य पदार्थहरू मानवले सेवन गर्नका लागि उपयुक्त छन् भन्ने कुरामा सुनिश्वितता छैन । मानव स्वास्थ्यको लागि अमृत समान मानिने दूध र दुग्ध पदार्थ पाइने ‘डेरी’हरू टोलै पिच्छे खुलेका छन्, तर त्यस्ता डेरीहरू रहेका स्थानहरूलाई सरसर्ती अबलोकन गरेकै आधारमा भन्न सकिन्छ कि त्यहा उपलब्ध हुने दुग्ध पदार्थ असाध्यै कमसल गुणस्तरका र कतिपय त अखाद्य नै मान्नु पर्ने अवस्थामा छन् । मासु उत्पादन गर्ने बधशाला र बेच्ने पसलहरूको अवस्था झनै दयनीय छ । महानगरमा आयात हुने ताजा तरकारी र फलफुलहरूमा अधिक मात्रामा बिषादी राखिएको हुने गरेका प्रसंगहरू समय समयमा मिडिया

मार्फत सार्बजनिक भएकै छन् । यहां पाईने प्रसोधित पिउने पानीको अवस्था पनि त्यती राम्रो छैन । टोल-टोल र सटर-सटरमा खोलिएका रेष्टुरेण्ट र चमेना गृहहरूको स्वच्छता पनि अपर्याप्त छ । यस्तो अवस्थामा महानगरबासीहरूले दिनानुदिन अस्वच्छ र कमसल गुणस्तरका खाद्यपदार्थहरू उपभोग गर्नुपरिरहेको छ ।
हुनत: खाद्य बस्तुहरूको गुणस्तर नियमन गर्ने केही सरकारी निकायहरू पनि देशमा नभएका होईनन् । तर ती निकायहरूको अवस्था नेपालका सम्पूर्ण सरकारी निकायहरूको औषत अवस्था भन्दा पनि कमजोर छ । महानगरमा बिकासको छलाङ्ग मार्ने उद्देश्य र स्पीरिटका साथ दौडन चाहने तपाइ जस्ता जनप्रतिनिधीहरुको गतिमा ती निकायहरूलाई चल्न कठीन हुनेछ । स्वच्छ खाद्य पदार्थ खान-पिउन पाउने महानगरबासीको हकलाई सुरक्षित गर्न सरकारी निकायको भर पर्न सकिने अवस्था छैन ।
मेयर साहब,
तपाइले काठमाण्डौलाई स्मार्ट शहर बनाउने सुन्दर सपना बोक्नु भएको छ । तपाइको आफ्नो कल्पनामा स्मार्ट काठमाण्डौको जुन प्रारुप खिच्नु भएको होला, त्यो प्रारुप भित्रका जनताले अस्वच्छ मासु, दुध, पानी, तरकारी वा खाजा नास्ता खानु पर्यो भने त्यो शहर कसरी स्मार्ट भनिएला र ! त्यसैले तपाईको योजनामा जनताको स्वास्थ्यसंग प्रत्यक्ष सरोकार राख्ने खाद्य स्वच्छताको बिषय अवस्य पनि समेटिएको होला भन्नेमा म आसाबादी छु । कथंकदाचित जनसरोकारको यस्तो महत्वपूर्ण बिषय तपाइले कल्पना गरेको स्मार्ट काठमाण्डौको चित्रमा पर्न छुटेको रहेछ भने यसलाई तदारुकताका साथ समाबेस गर्न सुझाव समेत दिन चाहान्छु ।
बिगतमा स्थानिय निकायमा खाद्य स्वच्छता स्थापित गर्ने कार्यमा म आफै प्रत्यक्ष रुपमा संलग्न रहेको हुनाले सो अनुभव समेतको आधारमा पनिखाद्य स्वच्छतास्थापित गर्ने बिषय स्मार्ट काठमाण्डौको प्रारुप भित्र अटाओस भन्ने मेरो जोडदार सुझाब छ । यसो भएको खण्डमा यस सम्बन्धि नीति, कार्यक्रम, पूर्बाधार निर्माण, र नीतिहरूको सकृय र प्रभाबकारी कार्यान्वयनका हर पाइलामा तपाइ र महानगरलाई सघाउन आफू इच्छुक रहेको ब्यहोरा समेत जानकारी गराउन चाहान्छु ।
उही तपाइकै शुभचिन्तक-
सोम खनाल
Email: [email protected]
















प्रतिक्रिया