काठमाडौं, १८ भदौ । मुलुकमा रूघाखोकीको समस्याबाट ग्रस्त बिरामीमध्ये इन्फ्लुएन्जा ए (एच१एन१) परीक्षण गराउनेमा करिब आधा जतिमा स्वाइन फ्लुको संक्रमण भएको पाइएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा अगस्ट महिनामा संकलन गरिएको शंकास्पद इन्फ्लुएन्जा ए(एच१एन१) का नमुनामध्ये आधा जतिमा स्वाइन फ्लु देखिएको हो । कान्तिपुर दैनिकले समाचार छापेको छ ।
प्रयोगशालामा पछिल्लो ३० दिनमा रुघाखोकीका विरामीको एक हजार ३७ नमुना संकलन गरिएकोमध्ये ४ सय ८५ जनामा स्वाइन फ्लु देखिएको हो । यो कुल नमुनाको ४७ प्रतिशत हुन्छ । उक्त नमुनामै १९ जनामा इन्फलुएन्जा ए (एच३) र एक जनामा इन्फुएन्जा ‘बी’ समेत देखिएको थियो ।
प्रयोगशालामा स्वाइन फ्लु परीक्षणका लागि शुक्रबार ३० जना आएका थिए । प्रयोगशालाका निर्देशक डा. रुना झाका अनुसार मुख्य रूपमा मौसमी रुघाखोकीको लक्षण देखिएकामध्ये रोग प्रतिरोधक क्षमता कम भएका, एक सय डिग्रीभन्दा बढी ज्वरो, गर्भवती महिला, वुढापाका, ५ वर्षमुनिका बच्चा, दीर्घ रोगीमा मौसमी रुघाखोकी देखिएमा समस्या उत्पन्न हुन सक्छ ।
चिकित्सकका अनुसार जोखिम समूहका व्यक्तिले रुघा खोकीको सामान्य लक्षण देखिनासाथ आफूलाई स्वाइन फ्लु भए/नभएको परीक्षण गराउनु अनिवार्य हुन्छ । सामान्य व्यक्तिले भने कडा लक्षण देखिएमा परिक्षण गराउनुपर्छ ।
हाल स्वाइन फ्लुको प्रकोप उच्च रहेकाले सामान्य रुघाखोकी हुँदा आत्तिएर स्वस्थ व्यक्तिसमेत परीक्षण गराउन पुग्ने गरेको औल्याउदै डा.झाले भनिन्, ‘आवश्यक नभएका व्यक्तिसमेत परीक्षणका लागि आउँदा उपलब्ध साधन श्रोत चाहिनेका लागि अभावको स्थिति आउन सक्छ ।’
यो परीक्षणका लागि निजी क्षेत्रमा अति उच्च शुल्क तिर्नुपर्छ भने टेकुस्थित सरकारी जनस्वास्थ्य प्रयोगशालामा नि:शुल्क सेवा दिने गरिएको छ । डा. झाका अनुसार सामान्यतया स्वस्थ व्यक्तिलाई सामान्य मौसमी रुघाखोकी लाग्दैमा स्वाइन फ्लु परीक्षण गर्नु पर्ने आवश्यकता हुँदैन ।












प्रतिक्रिया