३० आश्विन २०८३, शुक्रबार

यसकारण राजीव पहारी फेरि युवा संघको अध्यक्ष बन्नुपर्छ

1.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– तिर्थ भटराई

युवा संघ नेपाल राष्ट्रियता, न्याय, समानता, मानवअधिकार संघीय लोकतान्त्रिक गणतन्त्रको मूल्य–मान्यताप्रति सचेत तथा सामान्तवाद, दलाल, नोकरशाही पुँजीवाद र सम्राज्यवाद विरोधी चरित्रका प्रगतिशील, जनवादी तथा देशभक्त युवाहरुको साझा र स्वतन्त्र सङ्गठन हो । युवाहरुको हक, अधिकार नेपाली समाजको अग्रगामी परिवर्तनको लागि सचेत र संगठित ढङ्गले परिचालित गर्न युवा संघ नेपालको गठन भएको हो ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली संस्थापक अध्यक्ष रहेको युवाहरुको यो ढुकढुकी संस्था देश गणतन्त्रमा प्रबेश गरिसकेपछि महेश बस्नेत र निरु पालको सफल नेतृत्वमा चल्यो । त्यसलगत्तै अध्यक्ष बनेका राजीव पहारीको कार्यकाल पनि सफल मान्न सकिने धेरै आधार छन् । लाखौं युवाहरुलाई समाहित गर्दै जनसेवा अनि देशको स्वाभिमान बचाउन तल्लिन छ, राजीवको नेतृत्व। जनसेवा, देशको स्वाभिमानको रक्षा अनि देशलाई नयाँ आर्थिक क्रान्तितिर उन्मुख गराउने मुख्य उद्देश्यमा रहेर जनताको मन जितेको युवा संघ नेपालले देशमा परेका प्राकृतिक बिपतबिरुद्द, बिदेशी हस्तक्षेपबिरुद्द अनि जनताको न्याय र युवाहरुलाई सचेतना फैलाउने काममा सँधै उत्तिकै दत्तचित्त भएर लागेको सबैले महसुस गरेकै छन् ।

बिगतको नेतृत्वदेखि अहिलेसम्म आइपुग्दा देशले विभिन्न कालखण्ड अनि जोखिमहरु मोलिसकेको छ । तथापि ती सबै खाले जोखिम र भ्रमहरुलाई मुक्त पार्न अनि जनतालाई लोकतन्त्रको अनुभूति गराउन युवा संघ नेपाल देशका सबै भूभागमा उत्तिकै परिचालित छ । र, के हिमाल, के पहाड, के तराई मधेश । सबै ठाउँका जनताको मन उत्कृष्ट रुपले जितेकै छ। आजको दिनसम्म आइपुग्दा सिङ्गो नेकपा एमालेको खम्बा मात्र नभई यो सस्था देशकै युवाहरुको उत्कृष्ट खम्बाको रुपमा उभिएको छ। दुई बर्षअघि देश बिनाशकारी भूकम्पमा परेर जोखिममा रहेका जनताको उद्दार ,राहत अनि उचित ब्यवस्थापनमा आफै खटिएर जनताको सेवा गर्दा होस् या पहाडमा पहिरोमा परी जोखिममा रहेका जनधनको सुरक्षाको खातिर वा तराई मधेशमा गएको बाढी प्रभाबित क्षेत्रमा महिनौ लगाएर युवा संघ नेपालका नेतृत्व बर्गदेखि तल्लो तहसम्मका कार्यकर्ताले आर्थिक, भौतिक सहयोग पुर्याएका छन्।

देशमा यी प्राकृतिक संकट मात्र नभएर राजनैतिक र स्वाभिमानको संकटलाई पनि देश र जनताको पक्षमा पार्ने अनि देशमा रहेका बिदेशी दलालहरुलाई नाङ्गेझार पार्ने जनपक्षीय काम पनि युवा संघ नेपालले गरेको छ। बिशेशतः अहिले राजीब पहारीको नेतृत्वमा रहेको यो युवा संघ नेपालले देशमा परेका थुप्रै चुनौतीहरुलाई पाखा लगाउँदै पार्टी र देशको शान अनि स्वाभिमान गिर्न दिएको छैन्। यो नेतृत्वले भारतीय हस्तक्षेपलाई खुलेर बिरोध गरेको छ, जनतालाई ठाउँठाउँमा गएर स्वाभिमानको पाठ पढाएको छ, समग्रमा भन्दा सत्ताधारीको कुटिल चाललाई पाखा लगाइ जनताको साथबाट देशको स्वाभिमान जोगाएको छ । त्यसैले खुकुरीको धारमा आफ्नो जीवन राखेर देशको सेवामा लाग्ने राजिब पहारीको नेतृत्वलाई आम युवा संघका कार्यकर्ताले नमन गर्नैपर्छ।

केही महिना अघि सम्पन्न एमालेको मेची महाकाली अभियानमा तराई मधेसका सबै भूभागहरुमा पार्टी नेतृत्वलाई सुरक्षित पार्दै लाखौँ जनता उक्त अभियानमा उतार्न खम्बाको काम युवा संघ नेपालले गरेको छ। नेकपा एमाले मधेश बिरोधी पार्टी हो भनेर छरिएको भ्रमलार्इ चिर्न विभिन्न बाधा अवरोधलाई पन्छाई पार्टीको त्यो अभियानमा युवा संघले विशेष भूमिका खेल्यो । काँग्रेस र माओवादीका कार्यकर्ता काठमाडौँमा बसेर टिभीमा नेकपा एमालेको भब्य कार्यक्रम देखेर जिल्ल परे अनि मधेशी मोर्चाका केही ठालुहरु भारतीय दूतावास लैनचौरतिरै मुर्छा परे। यो अभियानको सफलतापछि देश २० बर्षपछि स्थानीय चुनाबमा होमियो । र, देश अनि जनताका एजेण्डा लिएर लाखौँ युवाहरु जनताको घरघरमा पुगि सत्ता र भत्ताको आडमा रहेको सत्तापक्षको अलोकतान्त्रिक गठबन्धनलाई बर्ढान सफल भयो । यानेकी देशको गौरबशाली पार्टी नम्बर एक पोजिसनमा ल्याउन युवा संघ नेपाल सफल भयो।

अब फेरि दुई नम्बर प्रदेशको चुनाब पनि नजिकिँदै छ । र, यो बेला मधेशमा बाढीले हजारौँ जनतालाई बिस्तापित पारेको छ । यो समयमा नेकपा एमालेका सबै कार्यकर्ता यो बिपतको घडीसँग जुध्न, त्यहाँका जनतालाई राहत बाँडन करिब १५ दिन चर्को गर्मी र त्यस ठाउँको त्यो अवस्थामा खटिएर अझै बाढी प्रभाबित क्षेत्रमा पार्टीको निर्देशन अनुसार जनसेवा गरिरहेका छन्। राजीव पहारीकै नेतृत्वमा युवा संघ नेपाल दश दिन अघि मधेस झरेर बाढी प्रभावित सप्तरीमा जनतालाई राहत बाँडन आफै खटिएको थियो। काँग्रेस र माओवादी अनि मधेसवादी दलका नेता तथा अधिकांश युवाहरु बालुवाटारको वरिपरि मन्त्री हुन घुमिरहेको त्यो बेलामा नेकपा एमाले मधेशी जनताको दुखको मलम बन्यो, बाढीले बिस्थापित जनताको उद्दार गर्यो र पहारीकै नेतृत्वले हातमा ठेला उठाई बाढीले क्षति भएका सडकहरुको मर्मत गर्यो । घरको कोठामा बसेर मान्छेहरुलाई बिरोध गर्न वा औला देखाउन सजिलो पर्छ तर फिल्डमा गएर परेको समयमा खटिने कमै देखिन्छन् । त्यो भूमिका पहारी नेतृत्वले कुनै पक्षपात नगरी निभाएको छ । मधेशको झरीसँगै आफ्नो जिउ भिजाएर जनताको ओत बनेको छ । त्यसैमा गर्व लाग्छ उहाँको त्यो सच्चा साहसी खुबीसँग।

पहारीको कार्यकाल अब अन्तिम चरणमा पुगेको छ। पहारीले नेतृत्व लिएपछि युवा संघले देशमा ब्याप्त संकट र त्यो विषम परिस्थितिसँग बिनाहिच्किचाहट सामना गरिरहेको छ । देशको स्वाभिमान जोगाउन भूमिका खेलिरहेको छ । नेकपा एमालेका कार्यकर्ताहरु शिर ठाडो पारेर हिड्न सकेका छन् । एमाले देशको पहिलो पार्टी बनेको छ । र, अब २ नम्बर प्रदेसको चुनाबमा पनि पहारी लगायत धेरै युवाहरु पार्टीबिरुद्द छरिएको भ्रम चिर्न र पार्टीलाई एक नम्बर बनाउन मधेशको गर्मी, झरी, धुलो खाँदै जनताको घरघरमा पुगेका छन्। जनतालाइ एकतामा बाँध्न जनचेतना अभियान लिएर २ नम्बर प्रदेशमा छन् । त्यसैले घरको कोठामा बसेर राजीब पहारीले के गर्यो ? भनी बेतुकमा उफ्रिनेहरुले अहिले उनलाई टिभी वा सामाजिक सञ्जालमा धुँवा धुँलो खाइरहेको हेर्दै होलान अनि आँखा चिम्लिँदै होलान । र, सोच्दै होलान, साँच्चै नै राजीव युवा संघ र देशकै युवाहरुको उत्कृष्ट नेतृत्व हो अनि अब भाबी पुस्ताले पनि उनको नेतृत्वबाट पाठ सिकेर यो संगठनलाई अझ लोकप्रिय बनाउनुपर्छ । र, पार्टीलाई अबको हरेक चुनावमा २ तिहाइ बहुमत दिलाई केपी शर्मा ओलीको नेतृत्वमा फेरि देशलाई समृद्धिको दिशामा डोर्याउनुपर्छ।

लेखक युवा संघका कार्यकर्ता हुन् ।