एप्पल कम्पनीका सिइओ टिम कुक समलिंगी हुन् । मानवअधिकार र समानताको मुद्दाको पक्षमा लेखिएको एक लेखमा उनले यो कुरा सार्वजनिक रूपमा स्वीकार गरेका छन् । उनले लेखेका छन्, ‘मैले समलिंगी हुँ भन्ने कुरा कहिल्यै अस्वीकार गरेको छैन । न त यसबारे सार्वजनिक रूपमा केही भनेको छु । तर, अब स्पष्ट भन्न चाहन्छु कि म समलिंगी हुँ । यसमा मलाई गर्व छ । ईश्वरले समलिंगी बनाएर जीवनको सबैभन्दा ठूलो उपहार दिएका छन् ।’
त्यसो त दुनियाँभरमा यस्ता सम्बन्ध बनाउनेहरू आफ्नो अधिकारको लडाइँ लडिरहेका छन् । विभिन्न देशमा यस्तो सम्बन्धलाई विवाहको पनि मान्यता दिइएको छ । तर, पनि यस्तो सम्बन्धबारे लडाइँ भने जारी नै छ । त्यस्तो लडाइँमा धेरै हलिउड, बलिउड सेलेब्रिटी यस्तो अभियानमा छन् । भारतमा सेलिना जेट्ली यस्तै सेलेब्रिटीमध्येकी हुन्, जो समलिंगी अधिकारको पक्षमा खुलेर लागेकी छिन् । सन् २००१ की मिस युनिभर्स उनी समलिंगी अधिकारका पक्षमा हुने प्रदर्शनमा देखिन्छिन् । यसरी आफ्नो अधिकारका पक्षमा लाग्ने समलिंगी सेलेब्रिटी यस्ता छन् :
एम्बर हर्ड

अमेरिकी मोडल तथा अभिनेत्री एम्बर हर्डले हलिउडमा आफ्नो क्षमता देखाइसकेकी छिन् । २७ वर्षीया उनी समलिंगी अधिकारका पक्षमा खुलेर लाग्नेमा गनिन्छिन् । त्यति मात्रै होइन, उनी स्वयं पनि समलिंगी सम्बन्धमा रहेकोबारे समाचार सार्वजनिक भइसकेको छ ।
एमी रोसम
अमेरिकी अभिनेत्री तथा गायिका एमीको पहिचान गीतकारका रूपमा पनि छ । कैयौँ सफल फिल्ममा अभिनय गरेकी २७ वर्षीया एमी समलिंगी अधिकारका पक्षमा निकै पैरवी गर्छिन् ।
जेन्ना सोक्विज
अमेरिका बस्ने जेन्ना सोक्विज पनि समलिंगी अधिकारका पक्षमा खुलेर लाग्नेमध्येकी एक हुन् । २७ वर्षीया उनी स्टेज प्रस्तोता र टेलिभिजन कलाकारका रूपमा परिचित छिन् ।
लिन्ड्से लोहान
२७ वर्षीया अमेरिकी लिन्ड्सेले मोडल र रेकर्डिङ आर्टिस्टका रूपमा आफ्नो पहिचान बनाइसकेकी छिन् । उनको समलिंगी सम्बन्ध समान्था रोशनसँग रहेकोबारे समाचार सार्वजनिक भइसकेको छ । उनी समलिंगी अधिकारका लागि हुने हरेक सम्मेलनमा प्राय: भाग लिन्छिन् ।
जोजो
अमेरिकी पप गायिका जोजो गीतकार र अभिनेत्री पनि हुन् । जोन्ना नोएले ब्लादेश लाभेस्की उनको पूरा नाम हो । समलिंगी अधिकारका पक्षमा खुलेर वकालत गर्छिन् ।
एमा रोबर्ट

एमालाई अमेरिकी अभिनेत्रीका रूपमा चिनिन्छ । तर, उनी मोडलिङ पनि गर्छिन्, त्यस्तै गाउँछिन् पनि । २२ वर्षीया एमा अमेरिकामा समलिंगी हकका लागि आफूलाई सधैँ अगाडि उभ्याउँछिन् । समलिंगी हुनु कुनै पाप होइन भन्ने चेतना जागृत गर्न उनी धेरै अभियानमा सामेल भएकी छिन् । मानिसले आफ्नो रुचिअनुसारको सम्बन्ध बनाउन पाउनुपर्छ भन्ने उनको मत छ ।
माइली साइरस
अमेरिकी गायिका, अभिनेत्री तथा रेकर्डिङ कलाकार साइरस प्राय: चर्चामा रहन्छिन् । त्यसो त उनी पनि समलिंगी अधिकारको लडाइँमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने सेलेब्रिटीमा पर्छिन् । उनी लेस्बियन हुन भन्ने खबर सार्वजनिक भइसकेको छ ।
हिलेरी डफ

समलिंगी अधिकारका पक्षमा खुलेर लाग्ने सेलेब्रिटी हिलेरी डफ धेरै विधामा चर्चित छिन् । अमेरिकामा बस्ने २६ वर्षीया हिलेरीको परिचय अभिनेत्री, मोडल, गीतकार, निर्माता र लेखिकाका रूपमा छ । नयाँ पत्रिकाबाट


















प्रतिक्रिया