काठमाडौं, १७ कात्तिक । प्रेमी डन दिनेश अधिकारी ‘चरी’को ‘हत्या’ भएको भन्दै प्रहरीविरुद्ध जाइलागेकी मोडल खुस्बु ओली पछिल्लो समय गुमनाम छिन् ।
प्रहरी स्रोतका अनुसार उनी अहिले बेलायत पलायन भएकी छिन् ।
भदौको पहिलो सातादेखि नै खुस्बु बेलायत पलायन भएकी हुन् । स्टुडेन्ट भिसामा उनी त्यहाँ बस्दै आएकी छिन् ।
खुस्बुले आफ्ना पूर्वप्रेमी अर्पण कोइरालाको योजनामा प्रहरीले चरीको हत्या गरेको आरोप लगाउँदै आएकी थिइन् । अर्पण पनि हालसम्म भारतमै छन् ।
प्रहरीको मोस्टवान्टेड सूचीमा रहेका चरीको गत २१ साउनमा भीमढुंगामा मृत्यु भएको समाचार आजको नयाँ पत्रिका दैनिकले छापेको छ ।
प्रहरीले दोहोरो भिडन्तमा उनको मृत्यु भएको दाबी गर्दै आएको छ ।
महानगरीय प्रहरी अपराध महाशाखाले पिछा गर्ने क्रममा चरीले गोली हानेपछि भिडन्त हुँदा उनको मृत्यु भएको बताएको छ ।
चरीका आफन्तले उनको हत्या भएको दाबी गर्दै प्रहरीमा जाहेरी लगे पनि प्रहरीले दर्ता गरेको थिएन । त्यसविरुद्ध उनीहरू रिट लिएर अदालतमा गएका थिए ।
अदालतले जाहेरी दरखास्त दर्ता नगर्नुको लिखित कारण माग गरेको छ । तर, हालसम्म रिटको फैसला भइसकेको छैन ।
सो मुद्दामा समेत खुस्बुले कुनै चासो दिएकी छैनन् । ‘पैसाकै लागि खुस्बुले दिनेशलाई माया गरेकी रहिछिन्,’ चरीका एक साथी भन्छन्, ‘अब मरेपछि उनलाई के मतलब भयो र ?
सुरुमा चरीको परिवारसँग समेत मिलेर चरीको ‘इन्काउन्टर’विरुद्ध लागेकी उनी पछिल्लो समय गुमनाम भएकी छिन् ।
नेपालमा बस्दा प्रहरीले छानबिनमा तान्न सक्ने भयले उनी लन्डन भागेको आशंका गरिएको छ ।
चरी इन्काउन्टरको घटनाले संसद्मा समेत हंगामा मच्चाएको थियो । एमाले सभासद्हरू राजेन्द्र पाण्डे, गुरु बुर्लाकोटीलगायतले उनको हत्या भएको भन्दै संसद्मा छानबिनको माग उठाएका थिए ।
तर, एमाले अध्यक्ष केपी ओली तथा गृहमन्त्री रहेका उपाध्यक्ष वामदेव गौतमले प्रहरीको पक्ष लिएपछि पाण्डेलगायत एमाले सभासद् तथा नेताहरू पछि हटेका थिए ।
छानबिन नभई शव नै नउठाउने अडान लिए पनि मृत्यु भएको दुई सातापछि चरीको दाहसंस्कार गरिएको थियो । चरी धादिङ एमालेमा क्षेत्रीय उपाध्यक्षसम्म भएका थिए । एमालेकै संरक्षणमा उनले गुन्डागर्दी गर्दै आएका थिए ।
प्रहरीले दिनेश अधिकारी चरी र खुस्बु ओलीको परिवारको सम्पत्ति छानबिन गरिरहेको छ ।
उनीहरूको सम्पत्तिको विवरण संकलन गरी सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा बुझाउने तयारी भइरहेको महानगरीय प्रहरी अपराध महाशाखाका अधिकारीहरूले बताएका छन् ।















प्रतिक्रिया