– दीर्घराज प्रसाई
नेपाललाई सम्पूर्ण खतराबाट मुक्त गराउन नेपालको राजसंस्था र हिन्दुअधिराज्यलाई यथावत राखेर नेपालको स्थायित्व र सार्वभौमसत्ता अटल राख्नमा सबै तहबाट सशक्त हुनुपर्ने अवस्था छ । नेपालमा राजसंस्था र हिन्दुअधिराज्यको निरन्तरता हुने बित्तिकै अमेरिकी सीआइए, यूरोपका क्रिस्चियन राष्ट्रहरु सबै आफ्नो बाटो लाग्छन् । चीनलाई टुक्रयाउन खोेज्ने पश्चिमाहरु हिडेपछि चीन पनि नेपालमा आफ्नो प्रभावक्षेत्र बनाउनतिर लाग्दैन । चीनसँग जस्तो सुमधुर संवन्ध थियो त्यही रहन्छ । माओको समयदेखि चीनले नेपालमा राजसंस्थालाई आफ्नो सुरक्षाको आधार मान्दै आएको थियो ।
राजसंस्थाको संरक्षणमा विश्वको एकमात्र हिन्दुअधिराज्य आफ्नो पहिचान लिएर उभिएको राष्ट्र हो । हिन्दुअधिराज्यमा मस्लिमधर्म लगायत सबै धर्महरु बस्न पाउँछन् । इजरायल विश्वको एक मात्र सानो यहुदी राष्ट्र हो । हामी त्यसको सम्मान गर्छौं । संसारका इसाई राष्ट्रहरुप्रति नेपालको समर्थन त्यत्तिकै छ । हाम्रो प्रतिशोध कुनै धर्मसँग छैन । तर विश्वको एक मात्र हिन्दुअधिराज्यलाई भत्काउने कुकर्म कतैबाट नहोस् भन्ने मात्र हाम्रो भनाई हो । नेपालमा विदेशी सैतानहरुलाई खुसी पार्न आफ्नो स्वार्थ पूर्ति गर्न नेपालका सिद्धान्तच्यूत, पदलोलुप्त पार्टीका गद्दार नेताहरु लागेका छन् । भारत, अमेरिका र यूरोपका इसाई राष्ट्रहरुले जे जे भन्छन् सोही सोही गर्दै माओवादी, कांग्रेस, एमालेका नेताहरुको कारणले आज देश सम्हालिन नसक्ने स्थितिमा पुगेको छ ।
माओवादी त नेपालको हितमा कहिले पनि थिएनन । शुरु शुरुमा यिनीहरु नेपाली जनताको पक्षमा छन् जस्तो लाग्थ्यो तर पछि थाहा हुँदै गयो कि बाबुराम भट्टराई, प्रचण्डहरु जसरी हुन्छ नेपाल सिध्याउने बाटोमा रहेछन् । जनयुद्धको बेला सत्रौ हजार जनताको प्रयोजनहीन हत्या गरे, नेपालका विकासका पूर्वाधारहरु भत्काए, आगजनी गरे ।

जनयुद्धको बेला कांग्रेस र एमाले सत्तामा रहँदा माओवादीलाई आतंकवादी घोषणा गरेर टाउकाको मूल्य समेत राखेका थिए । नेपाललाई आतंकित बनाउदै राजदरबार हत्याकाण्डपछि बाबुराम भट्टराईको सक्रियतामा भारतीय गुप्तचर संस्था ‘रअ’ को आश्वासनमा प्रचण्ड लगायत माओवादीहरुले ‘रअ’ ले इंगित गरेको भारतका विभिन्न ठाउँहरुमा सुरक्षित अड्डा बनाएर बसे । यता संसदवादको नेतृत्व गरिआएका कांग्रेस र एमाले पथभ्रष्ट नेता गिरिजा र माधव नेपालहरु राजाबाट प्रधानमंत्री नपाएको रिसमा नेपाल स्थिति ‘रअ’ प्रमुख आलोक जोशीको इशारामा माओवादीसँग मिल्न दिल्ली पुगे । दरबार हत्याकाण्डपछि पदोन्नति भएर ‘रअ’ प्रमुख पी. हर्मिज भारतको प्रमुख बनेकाले उनीबाट पनि प्रसस्त सहयोग पुग्यो ।
माओवादी को हुन् भन्ने कुरा जानेर नैं गिरिजा र माधव नेपालहरु देशका अद्योगति गराउन भारतीय सैतानहरुसँग ‘‘त्वम् शरणम्’ गर्न पुगे । यिनीहरुलाई उसैबेला जेलमा कोचेर कारवाही गर्न सकेको भए यो संकट आउने नैं थिएन । गिरिजा त देशद्रोहको कलंक बोकेर मरेर गए । तर एमालेका माधव नेपाल अझै फूई लगाएर हिड्दैछन् । यसरी खुल्लमखुल्ला देशद्रोहीहरु नेपाल डुबाउन तल्लीन छन् । धिक्कार छ नेपाली भएर नेपाल आमाको कोखमा बन्चरो हान्ने अपराधीहरुलाई ।
त्यसैले नेपालको अस्तित्व बचाएर चीन, भारत बीचमा सुमधुर संवन्ध कायम गरेर अगाडि बढ्न नेपालमा संवैधानिक राजसंस्था र हिन्दुअधिराज्य कायम राख्न हामी सबैको सकारात्मक सोचाई हुनुपर्छ । यसकोलागि सर्वप्रथम २०६३ सालपछि सत्तामा रहेर देशलाई यसरी लथालिङ्ग बनाउने पार्टीका नेताहरुले नेपाली जनताका समक्ष आफूहरुले गरेका गल्ती र अपराधहरु स्वीकार गरेर नेपालको सार्वभौम अस्तित्व बचाउन यथाशिघ्र कटिवद्ध भएमा उनीहरु राष्ट्रघातबाट उम्किन सक्छन् । नत्रभने २०६३ सालपछिका देशद्रोहीहरुलाई कारवाहीको दायरामा ल्याएर देश बचाउनु बाहेक अहिले हाम्रो लागि कुनै अरु विकल्प छैन ।
(यो लेखकको निजी विचार हो ।)
















प्रतिक्रिया