
– केशवप्रसाद पाण्डे
“नयाँ शक्तिमा जानेहरुले बर्ष दिन नपुग्दै बाबुरामलाई छोडेको देख्दा त हिसिला आन्टी यत्रो बर्ष कसरी टिकिन झैँ लाग्छ !”
“पेन्सन पकाएर राजनीति हुने भए जीवन र जवानी किन खर्च गर्नुपर्थ्यो ? १५ वर्ष जेलको छिंडी, हजारौं हण्डर, ठक्कर खाएकाहरुको त हालत खराब भइरहेको बेला पेन्सनवाला रामेश्वर खनाल कसरी टिक्थे ? छोडेछन् !”
राम, राम, मुराराम !
राम, राम, रामेश्वर !
… राम ! राम ! बाबुराम
यति हो भन्न, नयाँ शक्तिलाई
आजकाल नयाँ शक्ति र बाबुरामलाई कटाक्ष गरिएका यस्तै शब्द यत्रतत्र देख्न पाइन्छन्। पार्टी घोषणा ताकाका गतिला सारथीहरु मुराराम खनाल, रामेश्वर खनाल, लिलामणि पौडेलले नयाँ शक्तिलाई नौ महिनामै टाटा बाईबाई गरेसँगै बाबुराम भट्टराईमाथि जनयुद्धमा त्यत्रा मान्छेलाई मार्न लगाएर माक्र्सवाद छाडी औचित्यहीन यात्रा थालनी गर्नुको परिणाम र पतनपथको संज्ञा दिने गरी सत्तोसराप गर्नेहरु बढेका भेटिन्थे। अब फेरि नयाँ शक्तिमा यस्तै पहिरो आएको अवस्था छ ।
नयाँ शक्ति नयाँ-नयाँ हुँदा
शहरमा नयाँ बैकल्पिक राजनीतिक शक्ति उदाँउदैछ भन्ने हल्ला व्याप्त थियो तर पनि नामनिसानो देखिन्न थियोे । न शहरका भित्तामा पोष्टर न झण्डा नै बाटोमा यताउता देखिन्थ्यो । सञ्चार माध्ययममा भने सुन्न पाइने नयाँ शक्ति जब कर्पोरेट शैलीमा ठूला मिडिया र छापामा ज्याकेट लगाएर सबैलाई तर्साउने गरि २०७३ जेठ ३० गते घोषणा भएर आयो, पुराना पार्टीहरु झसङ्ग भएकै थिए। जेठ २९ गतेको दिन पारिलो घाम शहरमा नयाँ शक्ति निर्माण अभियानका अभियन्ताहरु राजधानीका सडकका छेउछाउ देखिन्थे । जेठ ३० गते रङ्गशालामा घोषणासभामा उपस्थितिको लागि निमन्त्रणा भन्दै पर्चा बाँडिरहेका देखिन्थे । त्यस्तैमा एउटा दृष्य जुन नयाँ शक्तिको स्मरण गर्न योग्य बिल्कुलै नयाँ शैली जसले पर्यावरणीय पक्षलाई पनि ध्यान दिईरहेको देख्न पाइन्थ्यो। नयाँ शक्तिको रातो टिसर्ट लगाइरहेका एक अभियन्ता मध्येकी युवतीले निमन्त्रणासहितको पर्चा हातमा थमाँउदा एक युवाले उनकै अगाडि सडकमा फाल्दै बाटो लाग्दै भने, “मुला ! बाबुराम को पो ?”
यो दृष्य हेरिरहेको यो पंक्तिकारलाई रोमाञ्चक लाग्यो, अभियन्ताहरुको मुहारमा कुनै दुश्मनी थिएन “थ्याङ्क्यु’ सर !” प्रतिक्रिया दिँदै उनीहरुले सडक वरपर फालिएका पर्चा आफैले बटुलिरहेका थिए। एउटा राजनीतिक शक्तिको रुप लिइरहेको पार्टीका यस्ता व्यवहार दादागिरी शैलीमा राजनीति देखिरहेका हामीलाई यस्ता दृश्य फरकै लाग्दा रहेछन नै । अझै आर्थिक विवरण वेबसाइटमार्फत सार्वजनिक गरी र संगठन निर्माण अभियानमा अत्याधिक मात्रामा सामाजिक सञ्जाल र आधुनिक सञ्चार माध्यमको प्रयोग गरिनुले युवावर्गमा केही आशाको सञ्चार अवश्य गराएको थियो । यसअघि सडक कब्जा गरेर सिंह शैलीमा गर्जिने राजनीतिक परिदृष्य पर्दापण देखिरहनुले पनि होला, उद्घाटन समारोहमा जाने अभियन्ता आफैले ट्राफिक व्यवस्थापन गर्दै सर्वसाधारणलाई सास्ती नदिई फुटपाथबाट लुरुलुरु निरीह प्राणी जसरि हिँडेका अचम्मका दृष्य लाग्दा रहेछन्।

त्यतिबेला बिर्यानी र नयाँ शक्तिको नयाँ स्वरुपको चर्चा थियो जताततै । उद्घाटन सत्रको दोस्रो दिन नयाँ शक्तिमा के रहेछ त नयाँ बुझ्न पुगेको यो पंक्तिकारसंगको भेटमा घोषणा सभाको फितलो उद्घोषणको आरोप खेपेका करिश्मा मानन्धर र पासाङ शेर्पामध्ये पासाङ शेर्पासँगको भेटमा बिर्यानी र नयाँ शैलीको चर्चा भयो ।
बाबुरामले अभिवादनमा झुक्किएर लालसलामको मुठ्ठी उठाएछन् !
जतिबेला नयाँ शक्तिको अभिवादन गर्ने शैली स्पष्ट थिएन र चर्चामै थियो ।
नयाँ-नयाँमा यस्तै हो भन्ने हँस्यौली चल्दै थियोे ।
बिर्यानीको चर्चा नि भो ।
पासाङले ठट्यौली गर्दै भन्नुहन्थ्यो, “आजलाई बिर्यानी सकियो !”
वरपर, जे छ नयाँमै छ पञ्चायतदेखि राजा महाराजा ,कांग्रेस माओबादी ,एमाले राप्रपा छाडेर आउनेहरु सुनाँउदै थिए, अब राजनीतिक परिवर्तन मात्रैले केही हुन्न “आर्थिक सम्बृध्दि सम्भब छ हाम्रै पालामा “जसको सपना बाबुरामले देखेर के बिगारे त ? राजनीतिक परिवर्तन गराएर आर्थिक सम्बृध्दिको सपना देख्ने बाबुराम जस्ता नेता देशलाई आवश्यक छ भन्नेहरु टन्नै भेटिन्थे ।
नयाँ शक्तिको आज
“नयाँ शक्ति समृद्ध नेपाल निर्माण गर्ने सपना बोकेको एउटा नितान्त नयाँ विरूवा हो । यो हुर्कन र फल्न प्रकृतिको नियम अनुसार केही समय लाग्छ । जन्मँदैमा फल लागेको भ्रममा हैसिने तर फल नभेट्टाएपछि निराश भएर विरूवा नै उखेल्ने वा पुरानो चिलाउनेको धोत्रो रूखमा लगेर कलमी गर्ने मूर्खता नगरौं । सक्छौं धैर्यतापूर्वक विरूवालाई मलजल गरौं, सक्दैनौं भने आफैले रोपेको विरूवालाई यो वा त्यो बहानामा निमोठ्ने काम नगरौं ।” यो बाबुराम भट्टराईले नयाँ शक्ति छाडेर जाने नेता तथा कार्यकर्तालाई समर्पित गर्दै लेखेका थिए।
“जो हिजो नयाँ शक्ति बन्दा अरु पार्टी छोडेर आए, अझै सर्वेसर्वा नै उनीहरु हुन जस्तो गरी केही समय बिताए । यस्ता नेता तथा कार्यकर्ता राजनीतिक फाइदाका लागि जुनसुकै पार्टी पनि परिवर्तन गर्न तयार हुन्छन। छिनमा जिन्दावाद गर्नेहरु छिनमै मुर्दावादमा ओर्लिसकेको पत्तो उनीहरुलाई आफैलाई पत्तो हुँदैन। यो आम नेपाली राजनीतिको रोग हो ।” – यो बाबुराम भट्टराईले नयाँ शक्ति छाडेर जाने नेता तथा कार्यकर्तालाई समर्पित गर्दै लेखेका थिए।
जो हिजो नयाँ शक्ति बन्दा अरु पार्टी छोडेर आए, अझै सर्वेसर्वा नै उनीहरु हुनजस्तो गरी केहि समय बिताए । यस्ता नेता तथा कार्यकर्ता राजनीतिक फाइदाका लागि जुनसुकै पार्टी पनि परिवर्तन गर्न तयार हुन्छन् । छिनमा जिन्दावाद गर्नेहरु छिनमै मुर्दावादमा ओर्लिसकेको पत्तो उनीहरु आफैलाई हुँदैन । यो आम नेपाली राजनीतिको रोग हो ।
यसबाट विचलित हुनु नयाँ शक्तिलाई आवश्यक छैन्, गुमाउनेले गुमायौँँ र पाउनेले पायौं भन्नु पर्दैन । बैचारिक धार स्पस्ट नभएका ढुुुुलमुलेहरु जता पनि पुग्नसक्छन। उदाहरण मान्न सकिन्छ, रामचन्द्र झा जस्ता नेताहरु जो आफूले बोकेको सिध्दान्तमा अडिग रहन सक्दैनन् । आज ‘रित्तो हुँदै नयाँ शक्ति !’ भन्ने समाचार सुनिरहँदा बाबुराम स्पस्ट हुनु आवश्यक छ कि राजनीतिक परिवर्तन पूरा गरेर आर्थिक क्रान्तिका लक्ष्यमा कतै विचलित त भइरहेको छैन्, जसले जोगाउनै नस्कने गरी किन रित्तिदै गए नेता कार्यकर्ताहरु ?
जे छ नयाँमै छ । अस्तिसम्म यस्तो भन्नेहरु आज फेरि, कांग्रेस, एमाले, माओवादी जिन्दावाद भन्न थालिसकेका छन्। बाबुराम मात्रै भएपनि अझै केही समय नयाँ नै रहोस्, उथलपुथलका समय भोगिरहेको नयाँ शक्तिलाई राम ! राम ! भन्नुसम्म न हो ।















प्रतिक्रिया