अष्ट्रेलिया । नेपालका बाढीपीडितका लागि गैरआवसीय नेपाली संघ र झापाली समाज अष्ट्रेलियाले करिब २३ हजार डलर (१८ लाख रुपैयाँ) नगद सहयोग संकलन गरेको छ ।
एनआरएनले दुईदिन अघिदेखि सहयोग संकलन सुरु गरेको थियो । झापाली समाजले बाढी आए लगत्तै सहयोग संकलन सुरु गरेको थियो ।
एनआरएनका महासचिव नारायण कोइरालाका अनुसार अहिलेसम्म एनआरएनले करिव १५ हजार डलर (करिब १२ लाख रुपैयाँ) नगद संकलन गरिसकेको छ ।
झापाली समाजका महासचिव रुपराज मैनालीले झापाली समाजले पनि करिव ८ हजार डलर नगद (करिब ७ लाख रुपैया) संकलन गरिसकेको जानकारी दिए ।
एनआरएनको केन्द्रीय समितीले सहयोग संकलनका लागि आव्हान गरेसँगै सुरु भएको सहयोग संकलन अहिले पनि जारी रहेको बताएको छ । समाजले पनि सहयोग संकलनलाई जारी नै राखेको छ ।
एनआरएनले संकलित रकम एनआरएन केन्द्रीय समितिको ‘बाढीपीडित राहत कोष’मा जम्मा गरेर नेपालमा बाढीका कारण पीडितहरुको लागि खर्च गरिने जानकारी दिएको छ ।
झापाली समाजले पनि झापा जिल्लाका बाढीपीडितहरुका लागि राहत सामाग्रीहरु आफैंले वितरण गरिरहेको जनाएको छ । समाजका अध्यक्ष दीपक खनालले समाजको अन्तर्राष्ट्रिय समितिले प्रभावित क्षेत्रमै गएर सहयोग वितरण गरिरहेको सुनाए ।
अष्ट्रेलियामा रहेका डेढ दर्जन बढी संघसंस्थाहरुले समेत सहयोग संकलन गरिरहेका छन् । उनीहरुबाट संकलित रकम समेत एनआरएन मार्फत नै बाढीपीडितहरुको सहयोगका लागि वितरण गरिने महासचिव कोइरालाले जानकारी दिए ।















प्रतिक्रिया