२९ आश्विन २०८३, बिहिबार

सार्कको तयारीले बदलिँदैछ काठमाडौं

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

kathaandu_SARRC

काठमाडौँ, १४ कात्तिक । आसन्न दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को अठारौँ शिखर सम्मेलनका लागि काठमाडौँ महानगरपालिका र अन्य निकायले नयाँ–नयाँ रूख–बिरुवा र फूल रोप्ने कार्यले ‘हरियाली काठमाडौँ ‘ को अभियानले सार्थकता पाउँदैछ ।

महानगरपालिकाले रत्नपार्क, टुँडिखेल र कान्तिपथमा निजी क्षेत्र, तिनकुनेमा काठमाडौँ उपत्यका विकास प्राधिकरण, वायुसेवा निगम अगाडि नेविल बैंक र सोल्टीमोडमा लिङ्कन कलेजका विद्यार्थीले नयाँ रूख÷बिरुवा रोप्ने कार्य गरिरहेका छन् । यो कार्य यही कात्तिक २५ गतेभित्र सकाउने तयारी छ । सार्क शिखर सम्मेलन आगामी मङ्सिर १० र ११ गते काठमाडौँमा हुँदैछ ।

काठमाडौँ महानगरपालिका वातावरण–प्रशासन महाशाखाका प्रमुख हरि कुँवरका अनुसार सडकका दायाँबायाँ नयाँ रोपिँदै गरिएका रूखमा कपुर, जापानी चेरी (आरू फूल) फूल, धूपीसल्ला, असारे फूल, पैयूँजस्ता जातका गरी झन्डै दुई हजार रूख–बिरुवा रोपिनेछ । यीमध्ये हालसम्म करिब एक हजार ५०० रूख रोप्ने कार्य सम्पन्न भइसकेको छ । यसबाहेक करिब तीन हजार ५०० फूल रोपिनेछन् र त्यसमध्ये ५०० लाई गमलामा राखिनेछ । साथै ४७५ वटा रूख अडाउने बार (ट्रि गार्ड) पनि राखिनेछन् । हालसम्म २७५ वटा यस्ता बार राखिएका छन् । महानगरपालिकाले सार्कको तयारीसँगै आफ्नो नियमित कार्यका रुपमा यो अभियान सञ्चालन गरेको हो ।

महानगरपालिकाले रूखबिरुवा रोप्नुका साथै सम्पदा र सार्वजनिक स्थलको मर्मत पनि गरिरहेको छ । यसका लागि नेपाल सरकारको रु सात करोड ८० लाख र काठमाडौँ महानगरपालिका कार्यालयको रु १० करोड गरी कुल लागत रु १८ करोड खर्च हुने अनुमान गरिएको छ ।

सडक विस्तारका क्रममा उखेलिएका पुराना रूखका ठाउँमा पनि नयाँ रूख रोपिनेछन् । यी रूखबिरुवा र फूलचाहिँ सार्क सम्मेलनपछि पनि काठमाडौँको हरियाली र सजावटका लागि रोपिएको महानगरपालिकाले जनाएको छ । प्रति १० देखि १५ फिटको दूरीमा रूख रोपिएका छन् ।

सार्कको तयारीका सौन्दर्यकरणका लागि रानीपोखरीको मर्मत, खुल्लामञ्चमा दुबोको कार्पेटिङ, राष्ट्रिय सभागृहको भवन सुधार, विभिन्न ठाउँमा पार्क, राष्ट्रिय झन्डा राख्ने स्ट्यान्ड र आइल्यान्ड बनाउने कार्य भइरहेको छ ।

महानगरपालिकाले तीनवटा गाडीमा दैनिक बिहान ५ देखि १० बजेसम्म छजना कर्मचारीलाई हरेक बिरुवामा पानी हाल्न र ती बिरुवालाई हरियो बनाइराख्न खटाएको वातावरण विभाग महाशाखा प्रमुख रविमान श्रेष्ठले जानकारी दिनुभयो । सार्क नजिकिएपछि दिउँसो पनि पानी हाल्ने काम हुनेछ ।

महानगरपालिकाले पाँच वर्षभित्र सम्पूर्ण हरियाली बनाउने गरी यो कार्य गरिरहेको हो । यसका लागि चालु आर्थिक वर्षमा रु पाँच करोड बजेट विनियोजन गरेको छ । निजी क्षेत्रले गरेका कार्यको बजेट यसमा समावेश छैन ।

सरसफाइ अभियान

सरसफाइका लागि पनि महानगरपालिकाले उत्तिकै काम गरिरहेको छ । यसका लागि पुरानै जनशक्तिले कुचो लगाउने तथा पानीले सफा गर्नेछन् । सफाइकै लागि रु एक करोड पर्ने नयाँ एक ब्रमर भ्यान मगाउन बोलपत्र आह्वान गरेको छ ।

हाल वातावरण व्यवस्थापनको क्षेत्रमा मात्र कार्यरत कुल कर्मचारीको सङ्ख्या एक हजार १०० छ । दैनिक करिब ४५० मेट्रिक टन फोहर टेकु ट्र«ान्सफर स्टेसनमा सङ्कलन गरी १० टनभन्दा बढी क्षमता भएको ठूला गाडीबाट सिसडोलसम्म पठाइने गरेको छ । फोहर ढुवानी गर्न साना ठूला गरी करिब २०० गाडी प्रयोगमा रहेको, साथै डोजर, लोडर, चेन डोजरसमेतको प्रयोग गरिने गरेको छ ।

शिखर सम्मेलनका समयमा सडकमा ट्राफिक डिभाइडर पनि हटाइनेछन् । सरसफाइ गर्नुअघि सडक विभागले भत्काएका सडकमा रहेका माटो र ठूला फोहर उसैले उठाउनुपर्ने, नेपाल विद्युत् प्राधिकरण र टेलिकमका छरपस्ट तारलाई चाँडो व्यवस्थापन गरिदिन महानगरपालिकाले आग्रह गरेको छ ।

छाडा चौपाया र भुस्याहा कुकुर व्यवस्थापनको समस्या

काठमाडौँलाई हरियाली र सफा राख्ने योजना कार्यान्वयन गरिरहेको महानगरपालिकालाई छाडा चौपाया (गाईवस्तु) र भुस्याहा कुकुर व्यवस्थापन कार्य भने चुनौतीपूर्ण देखिएको छ ।

हाल काठमाडौँमा २० हजार भुस्याहा कुकुर रहेको अनुमान छ । केही समयअघिसम्म कलाकार हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठले सञ्चालन गरेको ‘डग हाउस’ ले कुकुरको परिवार नियोजनबाट न्यूनीकरण गराएको भए पनि हाल सो स्थगन भएको छ ।

जनावरसम्बन्धी अधिकारले भुस्याहा कुकुरलाई मार्न नपाइने भएकाले यसलाई धपाउनेबाहेक अरु विकल्प नभएको महानगरपालिकाका नगर प्रहरी प्रमुख धनपति सापकोटा बताउनुहुन्छ । छाडा चौपायालाई हरेक आइतबार लिलाम गर्ने योजना महानगरपालिकाले लिएको छ । महानगरपालिका भने प्रहरीले यस कार्यमा सघाउनुपर्ने बताउँछ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक वसन्त पन्त भुस्याहा कुकुर, छाडा गाईवस्तु व्यवस्थापनको मुख्य कार्य महानगरपालिकाले नै गर्नुपर्ने भन्दै त्यसमा आफूहरूले सहयोग गर्ने बताउनुभयो ।

गत आर्थिक वर्षमा कुल ३८८ छाडा गाईवस्तुलाई महानगरपालिकाले उपत्यका बाहिर सुरक्षित स्थानमा व्यवस्थापन गरेको थियो । सो वर्षमा छाडा गाईवस्तु लिलामबाट रु दुई लाख १७ हजार राजस्व सङ्कलन भएको थियो ।

प्रकाश सिलवाल/सुशील दर्नाल : रासस