पोखरा, २६ साउन । राज्यकोषबाट तलव खाने कर्मचारीहरू राज्यको नीति नियम र निर्देशनबाट परिचालित हुनु पर्छ भनेर भनिरहनु पर्ने विषय नै हैन ।
तर, आत्मज्ञानले जानेर राष्ट्र सेवा गर्नु पर्नेहरु तालुक अड्डाले निर्देशन दिदाँ पनि अवज्ञा गरेर मनोमानी ढंगले काम गर्दै आफ्नो अनुकूल दुनो सोझ्याउदै आएको पाइएको छ । अनुशासन उल्लंघनका दृष्टिले किमार्थ राम्रो मान्न सकिन्न । यूनाइटेड पोष्ट साप्ताहिकले समाचार छापेको छ ।
यस्तै एउटा पट्यारलाग्दो प्रकरण तनहुँ स्वास्थ्य कार्यालय दमौली (तनहुँ) मा फेला परेको ५ वर्ष नाघि सक्यो तर निर्देशन र निर्णयको पालना गरिएको छैन । युनाइटेड पोष्टले निरन्तर फलो गरिरहेको यो प्रकरणको पात्र सुकमेल वराल हुन् । उनी आनमी हुन् ।
क्षेत्रीय स्वास्थ्य निर्देशनालय पोखराका तत्कालिन निर्देशकले लहडमा आएर अनमीलाई पव्लिक हेल्थ नर्स (पहेन) पदमा पदस्थापन गरेका थिए । नियम मिचेर अनमीलाई पहेन पदमा पदस्थापन गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग काठमाडौंको च.नं. ९१० मिति २०६९/८/१७ को निर्देशन वमोजिम स्वास्थ्य मन्त्रालयको च.नं. १९०० मिति ०६९/९/९ को पत्र अनुसार पदस्थापन वदर गरि साविक अनमी पदमै पदस्थापन गरि काम कारवाही गर्न पत्र जारी गरेको थियो ।
संवैधानिक निकायको निर्णय अनुसार मन्त्रालयले लेखेको पत्रको निर्देशन समेतलाई अवज्ञा गरेर ६ वर्षसम्म जिल्ला स्वास्थ्य कार्यालय तनहुँको पहेन पदमै टांसिएर काम गर्दै आएकी सुकमेल वरालले सर्वोच्चमा मुद्दा हालेको भन्दै कार्यालय प्रमुखलाई ढाँटेर पहेन पदमै कार्यरत हुँदै आएकी छिन् ।
अख्तियारमा कार्यरत आफ्ना श्रीमानको हौवा देखाएर कार्यालय प्रमुख समेतलाई नटेर्ने उनको स्वभावबाट आजित भएका कतिपय कर्मचारीहरुले उनको दम्भ सहनुको विकल्प नरहेको बताउदै आएका थिए । जिल्ला भित्रका थुप्रै कार्यक्रमहरुमा डाडु पन्यु चलाउन पाएपछि अनमी भएर स्वास्थ्य चौकी कुर्न जान उनलाई सकस पर्नु पनि अस्वभाविक हैन ।
वर्षौंपछि वल्ल उनका सरुवा साविक सिअनमि पदमा गरेको छ । स्वास्थ्य सेवा विभागले सकुमेल वराललाई कास्की जिल्ला अन्तर्गत रहने गरी सरुवा गरेको छ । सरुवा पत्र गत हप्ता जिल्ला स्वास्थ्य कार्यालय तनहुँमा दर्ता भइसकेको छ । अनमीमा सरुवा भए पनि उनले जिल्ला स्वास्थ्य कार्यालय तनहुँमा पहेन पदमै हाजिर गर्दै आएको त्यहाँबाट शाखा अधिकृत शंकर थापाले बताए ।
उनले अझै पनि रमाना नलिने झै गरि विभागिय पत्रको निर्देशन विपति पहेन कै पद नाम रहेको रजिस्टरमा हाजिर गर्दै आएकी छन् । उनको घर कास्की हो । तर पनि घर पायक सरुवा हुन उनले चाहेकी देखिन्नन् । तनहुँ छोडेपछि स्वास्थ्य चौकीमा सिमित हुनु पर्ने निश्चित छ । त्यसो हुँदा जिल्लाको फोकल पर्सन भएर चलाएका १० औं लाखका कार्यक्रमको डाडु पन्यु टुट्ने भएपघि घर पायक पनि उनले चाहाना नराखेको बताइन्छ ।
अझै पनि विभागीय सरुवा थमौती गर्न आफू निकटको ट्रेड यूनियन र दलका नेता तथा शक्ति केन्द्रहरुको चलखेल हुन सक्छ । उनलाई रमाना दिएर पठाउने नैतिक र कानुनी दायित्व बोकेका जिल्ला स्वास्थ्य कार्यालय तनहुँका प्रमुख डाक्टर पवनजंग रायमाझी अझै खुट्टा कमाएर पहेन पदमै रजिस्टरमा हाजिर गराउँदै आएका छन् । डाक्टर रायमाझी जस्ता डरपोक हाकिमहरुकै कारण कर्मचारीतन्त्रमा अराजक तत्व माथि मलजल हुँदै आएको पाइन्छ । हेरौं यो प्रकरणमा तालुक अड्डाको आदेश कसले कति दिन अवज्ञा गर्छन् ?
कार्यालय प्रमुखसँग यस प्रकरणका सम्वन्धमा प्रतिकृया लिन खोज्दा उनी सम्पर्कमा आउन चाहेनन् । विभागिय निर्देशन र परिपत्र कार्यान्वयन गर्न नसक्दा स्वास्थ्य कार्यालयहरुमा व्यापक भद्रगोल छाएको छ । स्थानिय तहमा खटिनु पर्ने र खटाइएकाहरु समेत जिल्ला केन्द्रीत भएर बस्न विभिन्न तिकडम गरिरहेका घटना यो मात्र भने हैन । सेवा र विषय अध्ययन नै फरक भएका यस्ता अनमेल प्रसंगहरु तत्काल मिलाउन र राज्यको निर्देशन नमान्ने सबैलाई सोधौं किन अटेर गरिन्छ निर्णय र निर्देशन ?












प्रतिक्रिया