ललितपुर, १४ कात्तिक । ‘अलिकति मटर, एउटा ठेकुवा र भुसुवा दिनुस् न,’ झुकेर आँचल फैलाउँदै उनले भनिन् ।
छठको समापनपछि सम्पूर्ण पुजन सामग्रीसहित घर जाने हतारोमा रहेका ब्रतालु र उनको परिवारसँग उनी यसरी नै प्रसाद माग्दै हिंडिरहेकी थिइन् ।
झण्डै अढाई दसकदेखि श्रीमानसहित राजधानीको शंखमुल बस्दै आएकी जनकपुरकी ५५ वर्षे प्रेमा आचार्यको छठप्रतिको निष्ठा नीकै पुरानो हो ।
ललितपुरको कुपण्डोलस्थि बागमती किनारमा आफूजस्तै अन्य थुप्रै प्रसाद माग्न आएका दिदीबहिनीको भिडमा उनी उभेकी थिइन् ।
ब्रतालुले ३६ घण्टे कठिन उपवास तोडेपछि प्रसाद माग्नेको भिड लागेको थियो । प्रसाद वितरणको यो क्रम जलाशय किनारदेखि घरसम्म जारी रहन्छ ।
तिहारको सेलरोटीजस्तै थुप्रै दिनसम्म यी प्रसादहरु खान सकिन्छ । छरछिमेकलाई पनि अनिवार्यरुपले ती प्रसादहरु बाँडिन्छ । यी प्रसाद ग्रहण गर्दा ब्रतालु बरोबर धर्म हुने विश्वास छ । यो समाचार आजको कान्तिपुर दैनिकले छापेको छ ।
‘म सानोमा नीकै विरामी पर्थेँ, उही बेलादेखि मलाई निको पार्ने कामना गर्दै आमाले छठ पुजामा माटाको हाती चढाउँनुहुन्थ्यो, अहिले पनि उहाँ मेरैलागि पुजा गरेर जलाशयमा हाती बगाउनु हुन्छ’ बागमती किनारमा बगिरहेको उस्तै हातीको प्रतिमा देखाउँदै उनले भनिन् ।
छठको मुख्य प्रसाद र त्यसलाई माग्ने पनि विधि हुँदो रहेछ, जस बारे उनलाई राम्ररी हेक्का रहेछ ।
‘जलाशय किनारमा सूर्य आराधनको क्रममा चढाइने मसिनो केराउ र चामल मिसिएको सामग्री नै मुख्य प्रसाद हो, ठेकुवा, भुसुवा र खाजा भनेको त हाम्रो तराईको सुन्दर र साँस्कृतिक परिकार भई नै हाल्यो , यो बिना त छठ हुनै सक्दैन,’ आचार्यले जानकारी दिंदै भनिन्,’ तर, ती प्रसाद खाली हातले माग्नु हुन्न, आँचल फैलाएर वा रुमालमा माग्नुपर्छ ।’
यसको पछाडि पनि कारण लुकेको रहेछ । ‘यसो गर्दा ब्रतालु र सूर्यदेवप्रति सम्मान व्यक्त हुन्छ,प्रसाद भुईँमा झरेर अशुद्ध हुनुहुन्न भन्ने सन्देस पनि जान्छ,’ उनले भनिन् । भगवान सूर्यले पूर्व क्षितिजमा लालिमा नछर्दै धुप, दिप, जल र दुधसहित अर्घ दिने र प्रसाद लिनेहरु तम्तयार बसेका थिए ।















प्रतिक्रिया