१५ कार्तिक २०८३, आइतबार

कानून व्यवसायीहरूलाई नयाँ व्यवस्था आउँदै

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ साउन । सर्वोच्च अदालतले पेसामा सक्रिय रहेका सयभन्दा बढी कानून व्यवसायीलाई वरिष्ठ अधिवक्ताको उपाधि दिने तयारी गरेको छ ।

उपाधिबारे न्यायाधीशहरुको पूर्ण बैठक (फुलकोर्ट)मा विभिन्न चरणमा छलफल भएको छ ।

दुई हजार आठ सय नम्बरसम्मका लाइसेन्सप्राप्त कानून व्यवसायीलाई वरिष्ठको उपाधि दिने गरी गृहकार्य भइरहेको सर्वोच्च स्रोतले जनाएको छ ।

कूल ७३ जनालाई वरिष्ठ अधिवक्ताको उपाधि प्रदान गरेको झण्डै पाँच वर्षपछि सर्वोच्चले पुनः वरिष्ठको उपाधि दिने तयारी गरेको हो ।

पेसामा निरन्तर रहेका, अध्ययन, अध्यापनमा संलग्न रहेका कानुन व्यवसायी र कानुनका अध्येतालाई उपाधि दिने प्रचलन छ ।

सर्वोच्च प्रशासनले नामावली सङ्कलनको कामलाई तीव्रता दिएको छ । सङ्कलित नामावलीमा शुक्रवार पनि फुलकोर्टमा छलफल भएको थियो ।

छलफलमा केही न्यायाधीशले भने चार हजार नम्बर सम्मका इजाजत पत्र लिएका कानुन व्यवसायीलाई उपाधिमा समेट्नुपर्ने धारणा पनि राख्नु भएको थियो ।

वरिष्ठ अधिवक्ताको उपाधि तयको कुनै मापदण्ड भने छैन । यसअघि २०६९ माघ २६ गते ७३ जनालाई वरिष्ठ अधिवक्ताको उपाधि दिइएको थियो । एक हजार आठ सय नम्बरसम्म वकालत इजाजत पाएका कानून व्यवासायीले उपाधि पाएका थिए ।

वरिष्ठताको उपाधि लामो समयसम्म रोकिएपछि नेपाल बार एसोसिएसनले उपाधिबारे निर्णय गर्न प्रधानन्यायाधीशको ध्यानाकर्षण गराउँदै आएको थियो ।

वरिष्ठ अधिवक्ताको सम्मानपछि कानून व्यवसायीलाई सामान्यतया जिल्ला अदालत र अर्धन्यायिक निकायमा बहस पैरवीमा जान नमिल्ने आचार संहितामा छ ।

यस्तै, अड्डा अदालतमा उपस्थित हुँदा कम्तीमा एक जना सहयोगी राख्नुपर्ने आचार संहितामा उल्लेख छ ।