काठमाडौं, २१ साउन । आवश्यक गणपुरक सङ्ख्या (कोरम) नपुगेपछि व्यवस्थापिका संसद्को बैठक दुई दिनका लागि स्थगित भएको छ । शुक्रबारको बैठकको प्रारम्भमा ४७७ सांसदको हाजिर भए पनि कोरम यकिन गर्दा ९७ जना सांसदमात्र फेला परेका थिए ।
हाजिर गरेर ३८० सांसद बेपत्ता भएपछि सदनको बैठक नियमित कार्यसूचीमा प्रवेश गर्न सकेन । सांसदहरूले सदनको बैठकमा एक दिन उपस्थित भएर हाजिर गरेबापत एक हजार रुपियाँ भत्ता पाउँछन् । गोरखापत्र दैनिकले समाचार छापेको छ ।
गणपुरक सङ्ख्या नपुग्दा संवैधानिक आयोग गठनसम्बन्धी तीन विधेयक पारित हुन सकेनन् । सांसदहरू हाजिर गरेर फर्किएपछि महत्वपूर्ण विधेयक पारित भएनन् ।
शुक्रबार मधेसी आयोग, मुस्लिम आयोग तथा थारू आयोग गठनसम्बन्धी विधेयक पारितको कार्यसूची थियो ।
यस्तै अपाङ्गता भएको व्यक्तिको अधिकारसम्बन्धी विधेयक पनि पारितको कार्यसूची थियो । तर, गणपुरक सङ्ख्या नपुगेपछि विधेयक पारित प्रक्रियामा सदन प्रवेश गर्न सकेन ।
जातीय भेदभाव तथा छुवाछुत कसुर विधेयक संशोधन दर्ताका लागि अनुमोदनका क्रममा गणपुरक सङ्ख्याको प्रश्न उठाइएको थियो ।
नेपाल मजदुर किसान पार्टीका डिल्लीप्रसाद काफ्लेले गणपुरक सङ्ख्या यकिन गर्न माग गर्नुभएको थियो । काफ्लेको मागपछि सभामुख ओनसरी घर्तीले तीन मिनेट जनाउ घन्टी बजाएर गणपुरक सङ्ख्या यकिन गर्न सचिवालयका कर्मचारीलाई निर्देशन दिनुभएको थियो । जनाउ घन्टीपछि सङ्ख्या यकिन गर्दा ९७ मात्र सांसदको उपस्थिति रहेको हो ।
संविधानको धारा ९४ को व्यवस्थाअनुसार कुनै पनि प्रस्ताव निर्णयार्थ पेस गर्न कम्तीमा एक चौथाइ सदस्यको उपस्थिति अनिवार्य हुन्छ । हाल संसद्मा ५०२ सांसद छन् । सङ्ख्याअनुसार कोरमका लागि १४८ सदस्य आवश्यक पर्छ ।
संसद्मा विभिन्न चरणमा अहिले पनि ४५ भन्दा बढी विधेयक विचाराधीन छन् । निर्वाचन विधेयकहरू सम्बन्धित समितिमा विचाराधीन छन् । बुधबार संविधानअनुसार गठन हुनुपर्ने तीन नयाँ आयोग गठनसहित चार विधेयक पारितको कार्यसूची थियो । मधेसी, मुस्लिम र थारू आयोग गठन विधेयकसँगै अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी विधेयक अनुमोदनको कार्यसूची थियो । यस्तै, भूपरिवेष्ठित राष्ट्रको प्रबुद्ध समूह गठनसम्बन्धी सम्झौता पेस गर्ने पनि कार्यसूचीमा थियो ।
संसद् सचिवालयका प्रवक्ता भरतराज गौतमले महत्वपूर्ण विधेयक अनुमोदनको चरणमा गणपुरक सङ्ख्या नै नपुग्नु गलत अभ्यास भएको बताउनुभयो । गौतमले भन्नुभयो, ‘धेरै रणनीतिक र महत्वपूर्ण विधेयक संसद्मा छन् । आजमात्रै चार विधेयक पारितको कार्यसूचीमा थिए । कतिपय विधेयक तोकिएको समयमा सक्नुपर्ने अवस्थाका छन् । विधेयक पारितका क्रममा समेत कोरम नपुग्नु दुखद् हो । ’ गणपुरक सङ्ख्या नपुगेपछि संसद् बैठक आइतबार १ बजेसम्मका लागि स्थगित गरिएको छ । महत्वपूर्ण विधेयक पारितको कार्यसूची रहेको शुक्रबारको बैठकमा सुरुमा ४७७ सांसदको उपस्थिति हाजिर थियो । तर, सदनमा गणपुरक सङ्ख्या यकिनका क्रममा ९७ जनामात्र सांसद उपस्थित हुनुहुन्थ्यो ।












प्रतिक्रिया