काठमाडौं, १३ कात्तिक । व्यवसायिक वातावरणको आधारमा विश्व बैंक समूहले तयार पार्ने डुइङ विजनेस रिपोर्टको सूचिमा नेपाल एक स्थान तल झरेको छ ।
बुधबार सार्वजनिक गरिएको प्रतिवेदनमा नेपाल १ सय ९ औ स्थानमा छ । गत बर्ष १ सय आठौ स्थानमा थियो । यस प्रतिवेदनमा विश्वका १ सय ८९ मुलुकको अध्ययन गरिएको छ ।
नेपालमा व्यवसाय शुरु गर्दा लाग्ने समय र कागजातको आधार हेर्दा गत बर्ष ठूलो उपलब्धि भएको समाचार आजको कान्तिपुर दैनिकले छापेको छ ।
कम्पनी रजिस्ट्रार कार्यालयमा अनलाइन सेवा शुरु भएपछि मुलुकको व्यवसायिक वातावरणमा ठूलो फडको मारिएको थियो । यसपटक भने थप सुधार हुन नसक्नु तल झर्नुको एक कारण हो ।
यससंगै मुलुकको अन्तराष्ट्रिय व्यापार दयनीय वन्दै गएको छ ।
लामो लोडसेडिग हुने गरे पनि बिजुली जडान समय कम भएकाले नेपाल दक्षिण एसियाली औसतभन्दा माथि छ । बिजुली पाउने समयका आधारमा नेपाल ८५ औ स्थानमा छ ।
यस आधारमा भुटान बाहेक अन्य सबै दक्षिण एसियाली मुलुकभन्दा नेपाल अगाडि छ ।
कुनै व्यवसायका लागि आवश्यक निर्माण प्रक्रियाका आधारमा नेपाल ९१ औ स्थानमा छ । यसमा भने श्रीलंका बाहेक अन्य देशभन्दा नेपालको अवस्था राम्रो छ ।
सम्पति दर्ता गर्दा लाग्ने प्रक्रियाका आधारमा भने नेपाल दक्षिण एसियामा सबैभन्दा अगाडि छ । १ सय ८९ मुलुकमा नेपालको स्थान २७ औ छ । प्रतिवेदन अनुसार चीनभन्दा नेपाल अगाडि छ ।
प्रतिवेदन अनुसार कर्जा पाउन भने यहा अन्य देशभन्दा बढि कठिन देखिएको छ । कर्जा पाउने अपनाउनुपर्ने झन्झट दक्षिण एसियामा पाकिस्तानामा मात्रै नेपालभन्दा बढि छ ।
अल्पसंख्यकले शुरु गरेको व्यवसायलाई सुरक्षा दिने मामिलामा भने नेपाल यस क्षेत्रमा औसत स्थानमा छ । नेपालको स्थान भारत पाकिस्तान र श्रीलंकाभन्दा तल छ ।
कर तिर्ने प्रक्रियाका आधारमा पनि दक्षिण एसिया औसतभन्दा माथि छ । वैदेशिक व्यापारको अवस्था भने निराशाजनक छ ।
अफगानिस्तान बाहेक अन्य दक्षिण एसियाली मुलुकको अन्तराष्टिय व्यापार नेपालभन्दा राम्रो छ ।
यहाबाट निर्यात गर्दा ४० र तेस्रो मुलुकबाट आयात गर्दा औसत ३९ दिन लाग्ने देखिएको छ । यी दुवैका लागि ११ वटा कागजपत्र तयार पार्नुपर्ने अवस्था छ ।















प्रतिक्रिया