काठमाडौं । जन्डिस नियन्त्रणमा सरकार संवेदनशील नभएको भन्दै प्रभावित क्षेत्रमा तत्काल विशेषज्ञ टोली पठाउनुपर्ने विज्ञहरूले बताएका छन् । नियन्त्रणका लागि सरकारले मुलुकमै उपलब्ध चिकित्सकीय क्षमतासमेत उपयोग नगरेको उनीहरूले बताएका छन् ।
मुलुकमा कलेजो रोगसम्बन्धी विशेषज्ञ इकाई चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (नाम्स) वीर अस्पतालमा मात्र छ । तर यसैको पनि सरकारले उपयोग गर्न नसकेको विज्ञहरूले बताएका हुन् ।
विराटनगरका जन्डिस प्रभावितको मृत्यु एक्युट लिभर फेल्योरका कारण भएको वीर अस्पताल लिभर युनिटका प्रमुख प्रा.डा. अनिलकुमार मिश्रले बताए । हालको सरकारी प्रयास रोकथामका लागि प्रभावकारी हुन सक्ने भए पनि संक्रमण भइसकेकाहरूको उपचारमा झन् बढी ध्यान दिनुपर्ने उनले औंल्याए ।
कलेजोले काम गर्न छाडा जन्डिस प्रभावितहरूको मृत्यु भएको हो । तर संक्रमण नियन्त्रण र प्रभावितको उपचारका लागि वीरस्थित लिभर युनिट सक्षम रहे पनि हालसम्म कुनै निकायले समन्वय नगरेको उनले बताए । ‘जन्डिसमा यति धेरै मृत्यु हुनै नपर्ने हो,’ इपिडिमियोलजी तथा रोग नियन्त्रण विभागका पूर्वनिर्देशक एवं महामारी विशेषज्ञ डा. मानसकुमार बनर्जीले भने, ‘या त बिरामी चिकित्सक नजिक अन्तिम अवस्थामा आइरहेका छन् वा रोगको उचित नियन्त्रण प्रयास भएन ।’ बिरामीले विशेषज्ञ चिकित्सा सेवा नपाएकैले मृत्यु भएको हुन सक्ने उनले बताए ।
विराटनगर आसपासको क्षेत्रमा वैशाखयता जन्डिसले १० जनाको मृत्यु भइसकेको छ । करिब डेढ हजार प्रभावित छन् । जन्डिस नियन्त्रणका लागि सरकारले मुख्य सचिवको संयोजकत्वमा यसै साता समिति गठन गरे पनि प्रभावकारी काम हुन सकेको छैन । कान्तिपुर दैनिकबाट













प्रतिक्रिया