१५ कार्तिक २०८३, आइतबार

तेस्रो चरणको चुनावलाई लिएर राजाप फुटको संघारमा

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ साउन । छ मधेस केन्द्रित राजनीतिक दलहरू मिलेर राष्ट्रिय जनता पार्टी नेपाल गठन भएको ६ महिना हुन नपाउँदै फुटको संघारमा पुगेको छ ।

राजपा नेपालमा रहेका अध्यक्षमण्डलका दुईजना अध्यक्षका कारण पार्टी विभाजनमा पुगेको हो । यूनाइटेड पोष्ट साप्ताहिकले समाचार छापेको छ ।

राजेन्द्र महतो र अनिलकुमार झालाई नेता मान्नुपर्ने बाध्यता आइपरेपछि फुटको रेखा कोरिएको छ । राजपा असन्तुष्ट पक्षको नेतृत्व हृदयश त्रिपाठी र शर्वेन्द्रनाथ शुक्लाले गरेका छन् ।

उनीहरूले यसअघि भैरहवामा नारायणी नदी पश्चिमका नेता र सांसदहरूको गोप्य भेला समेत गरिसकेका छन् । पार्टी विभाजनको संघारमा पुगेपछि आत्तिएका महन्थ ठाकुरले असन्तुष्ट नेताहरूलाई फकाउने प्रयास पनि गरेका छन् । तर, उनको प्रयास सफल हुन सकेको छैन ।

बुधबारदेखि सुरु भएको राजपा नेपालको पदाधिकारीहरूको बैठकमा असन्तुष्ट पक्षका अधिकांश नेताहरू सहभागी भएनन् । हृदयश त्रिपाठी, शर्वेन्द्रनाथ शुक्ला, वृजेशकुमार गुप्तासहितका अधिकांश नेता पदाधिकारी बैठकमा सहभागी नभएका हुन् ।

नेता शर्वेन्द्रनाथ शुक्लाले आफूहरू पदाधिकारी हो कि होइन भन्ने कुरै थाहा नपाएका कारण बैठकमा अनुपस्थित रहेको बताए । उनले भने,‘निर्वाचन आयोगमा बुझाइएको सूचीमा हामीहरू सबैलाई केन्द्रीय सदस्यको हैसियत बनाएर पठाइएको छ । यस्तो अवस्थामा पदाधिकारी हौँ भनेर हामी कसरी बैठकमा जाने ?’

असन्तुष्ट पक्षका नेताहरूले पदाधिकारी बैठक बहिष्कारको नीति लिएपछि उनीहरूलाई फकाउने महन्थ ठाकुरले सिंहदरबारमा झण्डै दुई घण्टा वार्ता गरेका थिए ।

तर, असन्तुष्ट पक्षले पदाधिकारी बैठकमा सहभागी नहुने जानकारी ठाकुरलाई दिएको थियो । असन्तुष्ट पक्षको कडा जवाफपछि सानो अनुहार लिएर अध्यक्ष ठाकुर राजपा नेपालको बबरमहलस्थित नयाँ पार्टी कार्यालयतर्फ गएका थिए ।

असन्तुष्ट पक्षको माग बमोजिम ठाकुरले केन्द्रीय समितिको बैठक पनि बोलाएका छन् । केन्द्रीय कार्यसमिति साउन २२ गतेदेखि बबरमहलस्थित एक पार्टी प्यालेसमा बस्दैछ । त्यो बैठकमा कुरा मिलने भने हृदयश त्रिपाठी समूह अर्को दल दर्ता गरेर जाने मनस्थितिमा पुगेको छ ।

स्रोतले भन्यो, ‘हृदयश त्रिपाठी राजपा नेपालमा बस्ने मुडमा हुनुहुन्न । उहाँले अर्को दल दर्ताको तयारी गर्नुभएको छ ।’असोज २ गतेको स्थानीय तहको निर्वाचनमा पनि राजपा नेपाललाई भाग लिन त्रिपाठी समूहका कारण ठूलो संकट परेको छ ।

संविधान संशोधन नभएका कारण ५ नं. र ७ नं. प्रदेशमा चुनाव बाहिष्कार गरेको राजपा नेपालले संशोधन नभइकन २ नं.प्रदेशमा भाग लिने कुरामा विवाद छ ।

त्रिपाठी समूहले संविधान संशोधनका कारण ५ र ७ नं. मा चुनाव बहिष्कार गर्ने तर, संविधान संशोधन नभइकन २ नं. प्रदेशमा कसरी चुनावमा भाग लिने रहेछन् भनेर चेतावनी दिँदै आएका छन् ।

यस्तो अवस्थामा राजपा नेपाल चुनावमा भाग लिने अवस्था अत्यन्तै न्यून रहेको अध्यक्षमण्डलका अध्यक्ष राजकिशोर यादवले बताए । उनले भने,‘यही अवस्थामा राजपा नेपाल चुनावमा भाग लिँदैन ।’

प्रधानमन्त्री शेरबहादुर देउवाले पनि एमालेका कारण संविधान संशोधन गर्न नसक्ने बताउँदै आएका छन् । प्रधानमन्त्रीको अभिव्यक्तिले डराएको राजपा नेपालका अधिकांश माग सरकारले भित्रभित्रै पूरा गरिदिएको छ ।

कतिपय माग बाहिर ल्याइएको छैन । मुद्दा फिर्ता, शहीद घोषणा, क्षतिपूर्ति लगायतका माग सरकारलाई मन्त्रिपरिषदबाट गुपचुपमा पूरा गरिसकेको चर्चा छ ।