३० आश्विन २०८३, शुक्रबार

भरतपुर काण्ड: देवी ज्ञवालीका छोरा पक्राउ गर्न किन रोजियो आजको साइत ?

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– बीबी श्रेष्ठ

निरब ज्ञवालीले साइबर अपराध गरेकै भए उनलाई पक्राउ गर्नका लागि राज्यले शुभसाइत हेरिरहनु पर्थेन । निरभ ज्ञवाली साइबर अपराध गरेर विदेश पलायन भएका थिएनन् । नेपालमै आफ्नो जागिर खाइरहेका थिए । चुनावको मुखमा आएर पक्राउ गरेर जनता आतंकित गरेर जित हासिल गर्ने अभिप्राय शिवाय केही हुन सक्दैन ।

राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा चर्चामा रहेको भरतपुर नगरपालिकाको चुनावले फेरि नेपालको राजनीति गर्माएको छ । वैशाख ३१ गते भएको स्थानिय निर्वाचनमा हार्ने भएपछि भरतपुर नगरपालिका वडा नं १९ मा मतपत्र च्यातेर जसरी पनि जित्ने रणनीति लिएको रेणु दाहाल उर्फ पूर्वप्रधानमन्त्री एवं माओवादी अध्यक्ष प्रचण्ड पुत्रीबाट भएको यथार्थ जनतासामु लुकेको छैन । जनताको अभिमत स्वीकार्न नसक्ने गरि नराम्रोसँग उदांगो भएको रेणु दाहालको गतिविधिले पुनः नेकपा एमालेका मेयरका उम्मेदवार देवी ज्ञवालीको पुत्र निरब ज्ञवालीलाई पक्राउ परेसँगै तरंगित भएको छ ।

सरकारको संयन्त्रलाई चरम दुरुपयोग गरेर जसरी पनि जित्ने मनसायका साथ लागिएको भरतपुरको चुनावलाई लिएर सर्वत्र चासो रहेको पाइन्छ । २ वडा मात्र मतगणना गर्न वाँकी रहेको र त्यसमा नेकपा एमालेका उम्मेदवार देवी ज्ञवालीले अग्रता लिइरहेको सन्दर्भमा माओवादी समर्थकबाट मतपत्र च्यातिनु शंका मात्र होइन्, यथार्थमा पनि राज्यसंयन्त्रको प्रयोग गरि रेणु दाहाललाई जिताउने अभिप्राय  शिवाय केही होइन् भन्ने आम जनतालाई थाहा छ । यो सबै भइकन पनि नैतिकताविहीनतालाई अंगिकार गरि जसरी पनि जित्नका लागि गरिने हत्कण्डा देश र जनताका लागि सहज हुन सक्दैन ।

हार्ने अन्तिम विन्दूमा आइपुग्दा गरिएको मतपत्र च्यात्ने कार्यको मलजल सरकारी पक्षवाट भएको सहज देख्न सकिन्छ । आम नेपाली जनताले तिरेको करलाई दुरुपयोग गरि अर्बौँ रकम खर्च गरिरहँदा आम जनसमुदाय र त्यहाँका स्थानिय मतदाताले कस्तो महसुस गरे होलान् । त्यसमाथि रेणु दाहाललाई जिताउनका लागि निर्वाचन आयोगले गरेको पुनः मतदान गर्ने निर्णय र स्वतन्त्र भनिएको न्यायपालिका समेत सरकार पक्षको वकालत गरिरहँदा सर्वोन्च न्यायपालिकाको विश्वासनियतामाथि नै शंका उत्पन्न भएको छ । न्यायालयमाथि जनताको विश्वास घटेको छ । पैसा, शक्ति र सत्ताको दुरुपयोग गरेर न्यायालय प्रभावित भइरहँदा न्यायालयको न्यायमाथि हुने गतिविधि केवल हुने खानेका लागि मात्र रहेछ भन्ने प्रमाणित भएको छ । भरतपुरको स्थानीय चुनावमा विभिन्न गतिविधि भए, त्यो लोकका लागि लज्जा सावित भयो । त्यसैक्रममा मेयरका उम्मेदवार देवी ज्ञवाली पुत्र निरब ज्ञवालीको भर्खर मात्र प्रहरीले समात्नुले झन वातावरण विगार्ने र धुमिल गराउने कार्य भएको छ । निश्चय पनि निरब ज्ञवालीलाई कारबाही नै गर्नुथियो र साइबर अपराध उनले गरेकै हुन भने दुई महिनासम्म किन प्रहरी चुप बस्यो ? सर्वोच्चले चुनाव गर्ने फैसला गरेपछि एकाएक रेणुको उजुरी किन व्युँताइयो र प्रहरीले निरबलाई चुनावको दुई दिन किन पक्राउ गर्यो ? यसको पछाडि शंका गर्ने धेरै नै ठाउँहरु छन् । जसरी पनि जित्ने माओवादी र सत्ताधारीको दाउ अनि सिलसिलाबद्द घटनाक्रम हेर्ने हो भने निरबको पक्राउ चुनावी वातावरणमा भोट प्रभावित गर्ने बाहेक केही हुनै सक्दैन् । किनकी प्रतिशोधको ज्वालाको अन्तर्य नै निरबको प्रक्राउ हो भन्ने कुरा आमजनताले अझ त्यसमा पनि भरतपुर १९ का मतदाताले राम्रोसँग वुझेका छन् ।

सर्वोच्चले चुनाव गर्ने फैसला गरेपछि एकाएक रेणुको उजुरी किन व्युँताइयो र प्रहरीले निरबलाई चुनावको दुई दिन किन पक्राउ गर्यो ? यसको पछाडि शंका गर्ने धेरै नै ठाउँहरु छन् ।

स्थानीय जनप्रतिनिधिलाई जिताएर समाज विकास गर्ने, अधिकार र समुन्नत भरतपुर निर्माण गर्ने योजनाका साथ भोट दिएका आम सर्वसाधारणहरु भरतपुर १९ मा मतगणना च्यातिरहँदा, जितेर पनि हारिरहँदा, दिएको मत आगोमा जलाइरहँदा कस्तो अनुभुति गरे होलान् ? समाजका वुद्धिजिवी, मध्यम वर्ग, राजनीति भन्दा टाढा रहेका, देशमा रोजगार नपाएर विदेशी भुमिमा पसिना बगाइरहेका, लोकतन्त्रका दुहाई दिने राजनैतिक दलका क्रियाकलापलाई अन्र्तराष्ट्रिय लोकतन्त्रमा विश्वास गर्नेहरुले के सोच्दा हुन् ? सोचनिय विषय वनेको छ । मतगणनाको परिणामले देवी ज्ञवालीको जित सुनिश्चित भइरहँदा र जसरी पनि जित्न लागि गरिएको राज्य संयन्त्रको चरम दुरुपयोग, आर्थिक घोटाला, लोकतन्त्र र जनमतको उपहासले साँच्चै नेपालमा लोकतन्त्र आएको छ त भन्ने दुविधा उत्पन्न भएको छ ।

लोकतन्त्रको सुन्दर पक्ष नै चुनाव हो । त्यसले दिएको नतिजा नै मान्य हुने संस्कारविरुद्ध देश र समग्र जनतालाई नै वन्धक राखेर गरिने गतिविधि साँच्चै नै आम जनताको लागि सह्य हुन सक्दैन । जर्वजस्तीका साथ निकालिएको प्राविधिक जितले समग्र भरतपुरको जनताका सम्मान गर्न सक्दैन भन्ने कुरा रेणु दाहाल, माओवादी अध्यक्ष प्रचण्ड र नेपाली काँग्रेसले बुझ्न जरुरी छ ।

आमजनताको भावनाविपरित गएर नेतृत्वमा पुग्ने चाहना राख्ने रेणु दाहालले कथंकदाचित जित हासिल गरेतापनि त्यसले स्थानिय, राष्ट्रिय तथा अन्र्तराष्ट्रियस्तरमा सहज मान्यता पाउन सक्दैन । देशभर नै भएको स्थानिय निर्वाचनमा १ मतले हारजित भएको अवस्थामा सहज स्वीकारेको सन्दर्भमा भरतपुरमा नै जसरी पनि हारेर पनि जित्नुपर्ने आखिर केका लागि ? प्रचण्ड पुत्रीले के हार्न नहुने हो ? के लोकतन्त्रमा जनता नै जनार्दन होइनन ? कि राज्य संयन्त्रमा रहेको दलले लोकतन्त्र मान्नु पर्दैन ? जनता व्यग्रताका साथ उत्तरका प्रतिक्षामा रहेका छन् ।

यहि २० गते हुने चुनाव को सम्मुखमा देवी ज्ञवाली पुत्र निरब पक्राउ पर्नु भनेको राज्य संयन्त्रको चरम दुरुपयोग गरी जनतामा त्रास उत्पन्न गराई आफनो पक्षमा नतिजा पार्न खोज्नु शिवाय केही हुन सक्दैन । निरब ज्ञवालीले साइबर अपराध गरेकै भए उनलाई पक्राउ गर्नका लागि राज्यले शुभसाइत हेरिरहनु पर्थेन । निरभ ज्ञवाली साइबर अपराध गरेर विदेश पलायन भएका थिएनन् । नेपालमै आफ्नो जागिर खाइरहेका थिए । चुनावको मुखमा आएर पक्राउ गरेर जनता आतंकित गरेर जित हासिल गर्ने अभिप्राय शिवाय केही हुन सक्दैन । यो घटनाले अन्ततः रेणु दाहाल, प्रचण्ड र राज्य संयन्त्रलाई नकारात्मक प्रभाव शिवाय केहि हुन सक्दैन ।

लेखकः तनहुँका पत्रकार हुन् ।