२ कार्तिक २०८३, सोमबार

नक्कली कागजातकै आधारमा माओवादी नेतृलाई ५० लाख निकासा

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– सन्तोष यादब

सिरहा, १७ साउन । सिरहाको बड्हरामालस्थित निर्माण हुन लागेको सर्पदंश केन्द्रको अधुरो भवन हो यो । यो भवन निर्माणको काम सम्पन्न नहुँदै जिल्ला समन्वय समितिले उपभोक्ता समितिलाई पुरै भुक्तानी दिएको रहस्य खुलेको छ । आर्थिक बर्ष २०७३/०७४ मा सर्पदंश केन्द्रको भवन निर्माण सम्पन्न गरिसक्ने सम्झौता भएको थियो । तर साउन दोस्रो साता लाग्दा पनि निर्माण काम सकेको छैन् ।

उक्त भवन हालसम्म करिब ५० प्रतिशत निर्माण मात्र सकेको छ । तर जिल्ला समन्वय समिति सिरहाले उपभोक्त समितिलाई पुरै रकम निकासा दिइसकेको छ । जसका कारण उपभोक्ता समितिले हतार हतार मापदण्ड मिचेर निर्माण कार्य गरिरहेका छन् । स्रोतका अनुसार काम नसक्दै भुक्तानी दिन उपभोक्ता समितिबाट इन्जिनियरले सम्झौता रकमको ३० प्रतिशत कमिशन लिएका छन् ।

१२ कोठे सुविधासम्पन्न सर्पदंश केन्द्र भवन निर्माणका लागि दुई वटा समिति बनेको छ । एमाले नेता तथा साँसद धर्मनाथ साहको संसदीय विकास कोषबाट दिएको १० लाखको एउटा उपभोक्ता समिति र माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री आफ्नो कोषबाट दिएको ५० लाखको अर्का उपभोक्ता समिति छन् । साँसद साह एमाले साँसद भएका कारण स्थानीय एमाले नेता जगदिश महतोलाई उपभोक्ता समितिका अध्यक्ष बनाएका हुन् भने प्रचण्डले आफ्नै पार्टीका केन्द्रिय सदस्य तथा नेतृ ज्ञानु श्रेष्ठलाई उपभोक्ता समितिको अध्यक्ष बनाएका छन् ।

उपभोक्ता समितिका अध्यक्ष तथा माओवादी केन्द्रका केन्द्रिय सदस्य ज्ञानु श्रेष्ठले स्वयंम पनि रकम भुक्तानी पाइसकेको स्वीकार गरेकी छन् । उनी भन्छिन्, ‘काम समयमै थालेको र सधै जारी रहेपनि निर्माण पुरा हुन सकेन् । अर्को कुरा मजबुत भवन बनाउँदैछौं ।’ तर उनले भनेअनुसार मजबुत भवन होइन्, कमसल सामग्री प्रयोग गरेर गुणस्तरहीन काम भइरहेको छ । भवन निर्माण नहुँदै निकासा पाइसकेका कारण आफूखुसी काम गरिरहेका छन् ।

नेपाली सेनाको नयाँ गोरख गण बडहरामालले २०५६ सालमा स्थापना गरेको सर्पदंश उपचार केन्द्र संचालनमा ल्याएका थिए । तर भवनको अभाव हुँदा सर्पको टोकाइबाट विरामी परेकाहरुलाई उपचारमा समस्या भइरहेको थियो । त्यसैले सुविधा सम्पन्न भवन निर्माण हुनुपर्ने स्थानीयले माग गरेका थिए । माओवादी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री हुँदा स्थानीयबासी भवन निर्माणका लागि बजेट माग्न काठमाडौं नै पुगेका थिए ।

बजेट त आयो । तर समयमा काम नहुँदा र कमसल सामग्री प्रयोग गरेर भवन निर्माण भइरहँदा स्थानीय दुःखी बनेका छन् । भवन निर्माणमा राजनीति घुसको स्थानीइको आरोप छ । उपभोक्ता समिति पनि पार्टीका नेताहरु नै बनेर गुणस्तरहीन भवन निर्माण गरी खल्ती भर्ने काम गरिरहेको स्थानीय बताउँछन् । तर अनुगमनको जिम्मा पाएका जिल्ला समन्वय समिति सिरहाका इन्जिनियरले भने कमिशन खाएर मौन बसकेका छन् ।

काम पुरा नहुँदै उपभोक्ता समितिलाई जिल्ला समन्वय समितिले कुन बिल भरपाइको आधारमा निकासा दिएको भनेर यतिबेला प्रश्न उठेको छ । स्रोतका अनुसार उपभोक्ता समितिले पेश गरेको सबै बिल भरपाई नक्कली छन् । यसरी नक्कली बिल भरपाई लिएर भुक्तानी दिएका जिल्ला समन्वय समितिका कर्मचारी र मुल्यांकन गर्ने इन्जिनियरमाथि छानविन गरी कारबाही गर्नुपर्ने स्थानीयको माग छ । यूवा नेता नरेश यादब भन्छन्– काम पुरा नहुँदै निकासा दिनु गैरकानूनी हो । यस्तो हाकिमलाई अख्तियारले पनि कारबाही गर्नुपर्छ । भ्रष्टलाई नङग्याउनुपर्छ ।

भवन निर्माण पुरा नहुँदै उपभोक्ता समितिलाई निकासा दिइसकेको थाहा पाएर जिल्ला समन्वय समिति सिरहा पुग्यौं । तर स्थानीय विकास अधिकारी सुरेश राउत भने भेटेन् । अधिकारी राउत विदा लिएर काठमाडौं पुगेका छन् । उनले फोन समेत उठाइरहेका छैन् । उनले निमित्तको जिम्मेवारी दिएका इन्जिनियर पशुपति साह समेत कार्यालयमा बस्दैनन् । उनलाई पनि भेट्न पटक पटक मोवाइलमा सम्पर्क गरेपनि तीन दिनदेखि सम्पर्कमा आएका छैन् ।