काठमाडौं, १२ कात्तिक । नयाँ संविधानको अन्तर्वस्तुमा सहमति जुट्नु अघि नेताहरुबीच माघ ८ पछि सत्ता समिकरणको विषयले समेत प्रमुखता पाउदा निर्णयमा ढिलाई भएको छ ।
सत्ताको नेतृत्वको विवाद बढ्दा संविधानका विषयमा समेत अलमल भएको बैठकमा सहभागी स्रोतले मंगलबार बतायो ।
स्रोतका अनुसार कांग्रेस माघ ८ पछि पनि प्रधानमन्त्री नछाड्ने अडानमा छ ।
एमालेले अध्यक्ष केपी शर्मालाई प्रधानमन्त्रीको रुपमा अनौपचारिक ढंगले लविङ्ग गरिरहेको छ ।
एमाओवादीले पनि माघ ८ पछि आफ्नो स्पेस दावी गरिरहेको समाचार आजको कान्तिपुर दैनिकले छापेको छ ।
‘माघ ८ पछि कसले के पाउने भन्नेमा नेताहरुबीच शीर्ष तहमै कुरा हुन थालेको छ’, एमाओवादीका एक नेताका अनुसार समिकरणको टुंगो लागे संघीयतामा मतैक्य हुने अवस्थामा दलहरु पुगेका छन् ।
सुरुमा अनौपचारिक ढंगले हुने त्यस्ता छलफल पछिल्लोपटक भने दुई पक्षीय तहमा औपचारिक रुपमै हुन थालेका छन् ।
खासगरी संविधान जारी भएपछि महत्पूर्ण दुई पद राष्ट्रपति र प्रधानमन्त्री को हुने भन्नेबारे संवाद हुन थालेको हो ।
यसबारे मंगलबार एमाओवादीको स्थायी समिति बैठकमा समेत अध्यक्ष पुष्पकमल दाहालले प्रसङ्ग राखेका थिए ।
‘संघीयता र शासकीय स्वरुपका गहन मुद्धालाई सत्ता समिकरणले अल्मलाएको छ’, दाहालले सुनाएका थिए । उनले कांग्रेस र एमाले मिलेर आफूहरुलाई एक्लाउन सक्ने र कुनै पनि महत्वपूर्ण पदमा स्पेस नदिने खतरा रहेको समेत ब्रिफिङ गरेको ती नेताले बताए ।
सहमति खोज्न मंगलबार बिहान संवैधानिक राजनीतिक संवाद समिति र बेलुका एमाले र एमाओवादी दुक्ष पक्षीय बैठक समेत भएको थियो । दुवै बैठक निष्कर्षविहीन बनेका थिए ।
द्विपक्षीय छलफलमा पनि यसअघि जस्तै नेताहरुले आपसी अडान कायमै राखे ।
संघीयताको बिषयमा एमालेले थोरै प्रदेश बनाउनुपर्ने भन्दै एमाओवादीलाई लचक हुन आग्रह गरेको छ भने एमाओवादी पनि पुरानै अडानमा छ । पहिचान झल्किने खालको नामाकरण हुनुपर्नेमा एमाओवादीका बढ्ता जोड छ ।















प्रतिक्रिया