काठमाडौँ, ११ कात्तिक । रत्नपार्क नजिकै रहेको रानीपोखरी बुधबारदेखि विभिन्न कार्यक्रम गरी छठ पर्व मनाउने तयारी गरिएको छ ।
बडादसैँ, रमजान, तिहार र नेपाल संवत्लगत्तै नेपालीहरुको अर्को महान् चाड छठका अवसरमा ‘महापर्व छठ समारोह समिति २०७१ रानीपोखरी’ले यस वर्ष पनि रानीपोखरीमा विभिन्न कार्यक्रम गर्ने भएको छ ।
बुधबार र बिहीबार दुईसम्म मनाइने सो पर्वमा बुधबार मोटरसाइकल प्रभातफेरी, माता छठ परमेश्वरीको प्रतिमा पूजा, छठको अस्ताउँदो सूर्यलाई अर्घ र बिहीबार उदाउँदो सूर्यलाई अर्घ र प्रसाद वितरण गरी छठ परमेश्वरको प्रतिमा विसर्जन गरिने छ ।
दुई दिनसम्म पार्किङका लागि त्रिचन्द्र क्याम्पस, घण्टाघर, खुलामञ्च र दरबार हाइस्कुलको क्षेत्र निर्धारण गरिएको छ । रानीपोखरी परिसरभित्र कुनै पनि प्रकारको पटाका पड्काउन पूर्णतया निषेध गरिएको समारोह समितिका अध्यक्ष रामचन्द्र शाहले जानकारी दिनुभयो ।
समारोह अवलोकन गर्न चाहने सर्वसाधारणलाई दिउँसो १ देखि साँझ ६ः३० बजेसम्मको समय निर्धारण गरिएको छ । रासस















प्रतिक्रिया