२८ आश्विन २०८३, बुधबार

छठको बारेमा म पहाडेको केही भनाइ

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

kavita-ram-shresthaम धरानको पनि भएँ । मधेशमा खेति थियो र त्यता खेतीको कारणले जान पर्थ्यो नै । त्यति बेला थाहा भा’थ्यो यो छठ पर्वको बारेमा । तर उबेला मेरा सिमित ज्ञानको कारणले छठलाई मधेसी दशैं भनेर बुझेथें । हामी पहाडेहरू मधेसी साथीहरूसंगै रमाउने त गर्थ्यौं तर आफैले त्यो रितिरिवाज भने गर्दैनथ्यौं । नवयुवा थिएँ । जानकारी लिने सोच नै विकसित भा’थिएन । यता काठमाडौंतिर आएपछि त झन् त्यो साथ संगत नै टुट्यो र धेरै समयसम्म यो छठ पर्वको माहौलबाट टाढा नै भैएथ्यो । पंचायत व्यवस्था टुटेपछि र अझ राजसंस्थाकै अवसान भएपछि यो संस्कृति काठमाडौंमै भित्रियो ।

अब जब म यस्ता कुराहरूप्रति बढी चासो राख्ने भएँ, नेपालबाटै टाढा भएको स्थिति छ । यी कुरा बुझ्न मात्र मलाई अरु माध्यमको सहारा लिन पर्ने स्थिति भएको छ । मधेसका यस्ता सांस्कृतिक पर्वहरू हिन्दुधर्ममै आधारित भएपनि हाम्रा हिन्दु राजाको चलनमा यी पर्वहरू नपरेका हुँदा सीमान्तिकृत थिए । अब मधेस आफ्नो पहिचानको लागि उठिरहेको स्थितिमा उनीहरूले यस्ता रितिरिवाज चिनाउन भरमग्दूर प्रयत्न गरिरहेका छन् । सीमान्तकृत हुनुको व्यथा भोग्ने जातिका म एक सदस्य भएको नातामा त्यो मर्मलाई बुझेर मेरो चेतले मधेसीजनको प्रयत्नमा भरपूर साथ दिन चाहेको स्थिति छ । जसरी म नेवारहरूको सांस्कृतिक पर्वहरूको परिचय दिन लागि पर्दैछु, त्यसरी नै मधेसको यो अतुलनिय सांस्कृतिक पर्वको छोटो परिचय दिन लागि परेको छु । कमीकमजोरी पक्कै रहला । सकारात्मक नियत मानी माफी दिनुहुनेछ ।

chath puja

छठ पर्वका धेरै नामहरू सुनेको छु जस्तै- छठ पर्व, छठ पूजा, डाला छठ, डाला पूजा र सुर्य षष्ठी । मुख्यतः यसमा जगतका पालनकर्ताका रूपमा सूर्यकै ब्रत र पूजा हुन्छ र कार्तिक शुल्क षष्ठीको दिन यसको साईत रहने हुँदा मूलत: सूर्य षष्ठी भन्ने गरिन्छ । “षष्ठी” संस्कृत शव्द हो र प्राकृत भाषामा यसलाई “छठी” भनियो र त्यसैको अपभ्रम्सबाट यसलाई “छठ” भनिने चलन भयो । जनजीब्रोले अहिले छठ नै भन्दछ ।

chhath-festival-chat

चारदिन लामो यो पर्वमा भक्तालुहरूले स्नान गर्दै ब्रत राखी बिहान खोला वा पोखरीको पानीमा लामो समयसम्म उभिएर सूर्योदयमा उषा (छठी मैया) लाई र साँझ सूर्यास्तमा प्रत्युषालाई पूजा गर्दै सूर्यका प्रथम र अन्तिम किरणलाई दुध र पानीको अर्घ्य दिन्छन । धेरै पूजा सामग्रीहरूको प्रयोग र अनेक रितिहरू चार दिनसम्म गरिन्छ म त्यसबारेमा ज्ञाता रहिन । बताउने आँट भएन । क्षमाप्रार्थी छु ।

छठमा पूजित सूर्यदेव, हिन्दुधर्मका पांच प्रमूख देवमध्ये एक हुन् । अन्य चार देवहरू विष्णु, शिव, गणेश र शक्ति हुन् । सूर्य, उषा र प्रत्युषाको उल्लेख ऋग्वेदमा प्रथमकोटिका देवको रूपमा भएको पाइन्छ । विष्णु, शिव, गणेश र शक्तिका उत्कर्ष ब्राह्मण, उपनिषद् र पौराणिक कालमा आएर मात्र बढेका पाइन्छन् । ऋग्वेदमा उनीहरूका आजको उचाइको स्थिति देखिन्न ।

ऋग्वेदमा सूर्यलाई प्राणिजगतलाई उर्जा दिने पालनकर्ताको रूपमा सम्बोधन गर्दै हरप्राणी, परिवार र आफ्नोलागि रोग व्याधिहीन स्वस्थ्य लम्बायु, प्रगति र सम्वृद्धिको लागि प्रार्थना गरिएको छ । पछि महाभारत कालमा अंग देशका राजा कर्णले सूर्यपूजा बिहान बेलुकी नै गर्ने गरेका र धौम्य ऋषिको पुरोहित्याइंमा द्रौपदी र पाण्डवहरूले इन्द्रप्रस्थको सम्वृद्धि र युद्धमा विजयप्राप्तिको लागि कार्तिक षष्ठीको ब्रत राखेर सूर्यको पूजा गरेको हुँदा त्यसैको निरन्तरतास्वरूप यो छठ मान्ने परम्परा चल्यो भन्ने भनाइ सुन्नमा आउँछ । सूर्यलाई आत्माको पनि आत्मा परामात्मा र ब्रह्मको पनि ब्रह्म परमब्रह्म मानिन्छ । सूर्यको माहीमा बारेमा साम्ब पुराण र सूर्य पुराणमा भरमग्दूर दिइएका छन ।

Chhath_Chat

सूर्यलाई प्रमूख देव मान्ने एउटा सौर्य सम्प्रदाय भारतका बिहार, झारखण्ड र पूर्वी उत्तर प्रदेशमा बसोबास गर्छन । उनीहरूको प्रमुख चाड छठ नै हो । हाम्रो तराईका हिन्दुहरू पनि यसै सम्प्रदायका अनुयाई हुन् कि भन्ने मलाई लाग्दछ ।

उल्लेख्य यो पनि छ कि यो चाड धेरै ठाउँहरूमा मुस्लिमहरूले पनि मनाउँछन् । अन्य जातिको लागि पनि उत्तिकै महत्ताका रहदै आएको सन्दर्भमा खेतीपातीका संघर्षबाट फुर्सद पाई खेतमा लहलाहाउँदा धानबाली काट्ने समयमको यो चाडलाई म दशैं तिहारलाई झैं बालिसंगै सम्बन्धित गराई यो कृषि चाड हो भन्ने सोच अघाडि राख्न चाहन्छु । तर, साथैमा यसमा सम्बद्ध सबै धार्मिक रंग र आस्थालाई मेरो पूर्ण सम्मान छ । कुनै आस्थामा चोट नपुगोस भन्ने कुरामा म पूर्ण सचेत छु ।

यो चाड बढीमा भारतको बिहार, झारखण्ड र पूर्वी उत्तर प्रदेशमा हुने भएको भए पनि भारतका सबै प्रमूख क्षेत्र, नेपाल, मरिसस, फिजी , त्रिनिडाड, टोबागो, घाना, सुरिनेम, र जमैका उत्तिकै सझधज साथ मनाइन्छ ।

अन्त्यमा यो छठको शुभकामना सम्पूर्ण पाठकबर्गमा दिन चाहन्छु । शुभ सूर्य षष्ठी !!!