अमेरिकामा पुगेर वकालत गर्ने पहिलो नेपाली अधिवक्ता हुनुहुन्छ, खगेन्द्र जिसी क्षेत्री । नेपालको गुल्मी जिल्लामा जन्मेका अधिवक्ता जिसीले कोलम्बिया युनिभर्सिटीबाट एलएलएम र फोरदम युनिभर्सिटीबाट जेडी गर्नुभएको छ । २५ बर्ष भन्दा धेरै न्युयोर्कमा रहेर वकालत पेशामा सकृय जिसी भर्खरै अमेरिकाको सुपर लयर समूुहमा पर्न सफल हुनुभएको छ । विभिन्न ७० क्षेत्रका वकिलहरु मध्येबाट उत्कृष्ट लयर छान्ने अमेरिकाको एक पत्रिकाले उहाँलाई इमिग्रेसन क्षेत्रका अधिवक्ता तर्फबाट सुपर लयरमा छनौट गरेको हो । केही दिन अघि काठमाडौं आएका बेला उहाँसँग दैनिक नेपाल डटकमका मोहन बास्तोलाले गरेको कुराकानी:
अहिले अधिकांश नेपालीको सपना अमेरिका बनेको छ । कानुनी प्रक्रियाको अभावमा धेरै नेपालीको कन्तविजोग हुने गरेको छ । के सुझाव दिनुहुन्छ ?
म करिब ३० वर्षदेखि कानुन क्षेत्रमा नै आवद्ध रहँदै आएको छु । म नेपाली मात्र होइन, अन्य देशबाट अमेरिका आउनेहरुले पनि के–कस्ता खालका झमेला व्यहोर्न वाध्य हुन्छन भन्ने कुरामा धेरै हदसम्म जानकार पनि छु । विषेशगरी नेपालीहरु के–कस्ता कानुनी झमेलामा पर्न सक्छन् भन्ने सन्दर्भमा मैले जानकारी वा सल्लाह, सुझाव पनि दिने गरेको छु । यसरी हेर्ने हो भने सबै भन्दा पहिला त अमेरिका जाने प्रक्रियामै झमेला हुन्छ । त्यसमा पनि मुख्य गरेर अवैध तरिकाले अमेरिका जाने नेपालीहरुले धेरै ठूलो हैरानीको सामना गर्नुपर्ने हुन्छ । त्यसैले यी सबै कुरामा राम्रो जानकारी लिएर जानु आवश्यक छ । अमेरिकामा घरायसी हिंसालगायतलाई कडा रुपमा लिइन्छ । यस्तो कुरामा ख्याल गर्नुपर्छ । त्यहाँको कानुनको वारेमा पनि विषेश ख्याल गर्न जरुरी छ । समयमा ट्क्याक्स फायल नगर्दा बाटोमा हिडँ्दा कसैलाई अनावश्यक स्पर्श गरेमा, बच्चाको ख्याल नगरेमा, मादकपदार्थ सेवन गरेर गाडी कुदाएको अवस्थामा पनि त्यहाँ कडा कारवाही हुन्छ । यस्तो कुरामा ख्याल गर्नुपर्छ । त्यस्तो अवस्थामा ‘क्रिमिनल केश’ हुनसक्छ । अमेरिका जानु भन्दा अघि यस्तो कुरामा बढी ख्याल गर्नुपर्छ ।
तपाईं एनआरएन अमेरिकाको अध्यक्ष पनि हुनुहुन्छ, पछिल्लो समय एनआरएनले नागरिकताको निरन्तरतालाई विशेष प्राथमिकता दिएको छ, किन यतिधेरै महत्व दिनुभएको ?
हामीले नागरिकताको निरन्तरता नै सबै भन्दा उत्तम विकल्प हो भन्दै आएका छौँ । योे हामीले तर्कसहित ल्याएको प्रस्ताव हो । हामी नेपाली हौँ । हामी नेपालमा जन्मिएका हौँ । हामी नेपालका नागरिक हौँ र हामी नेपालको नागरिकता निरन्तर गर्न चाहन्छौँ । हामी विदेशमा जन्मिएको, विदेशको नागरिक भएको र नेपालसँग कहिल्यै सम्वन्ध नै नभएको व्यक्ति होइनौँ । हामीले नागरिकता मागेको होइन । अधिकार खोज्न चाहेको मात्र हो । नागरिकताको निरन्तरताले हामीलाई हामी यही नेपालका मानिस हौँ भन्ने यथार्थता हुन्छ र हामीलाई अझ बढी हामीलाई नेपालप्रति जिम्मेवार बनाउँछ । एकचोटीको नेपाली सधैँको नेपाली भन्ने नारा पनि हामी यही कारण अघि सारेको हो ।
अर्को देशको नागरिकता लिएको व्यक्तिलाई फेरि नेपालको नागरिकता दिँदा राष्ट्रियताको कुरा उठ्छ नि ?
हेर्नुहोस, म अमेरिका बसेकाले म त्यहीको उदाहरण दिन चाहन्छु । अमेरिकाको ‘सिटिजनसीप’ लिएको कुनै व्यक्तिले विदेशको ‘सिटिजनसीप’ लियो भने त्यहाँ कुनै समस्या हुँदैन । उनीहरुलाई कहिल्यै पनि विदेशको वा स्वदेशको नागरिकता त्याग भनेर त्यहाँको सरकारले कहिल्यै भन्दैन । उसले त्यसो गर्नुको फरक तर्क छ । उसले यदी कुनै पनि देशमा रहेपनि ‘परेको बेलामा तिमीले अमेरिकालाई सहयोग गर’ भनेर त्यो सुविधा दिएको हो । इजरायल लगायतका केही देशमा त दोहोरो नागरिकता भएका व्यक्तिलाई राजनीतिक अधिकार समेत दिएको देखिन्छ । तर, हामीले तत्कालैलाई राजनीतिक अधिकार पनि खोजेका होइनौँ । हामीले भन्दै पनि आएका छौँ । नागरिकता लिने अनि अमेरिका बस्ने र नेपालमा राजनीति गर्ने हाम्रो मनसाय पटक्कै होइन । हामी कम्तीमा पनि पाँच–छ बर्ष निरन्तर नेपालमा नै बस्ने अनि त्यसपछि यहाँको राजनीतिमा राम्रो पृष्ठभूमी बनाएर विस्तारै सक्रिय हुने कुरा भने फरक हो । हामीले यही भन्दै आएका छौँ । त्यसकारण यस्तो कुरालाई झमेला बनाउनु उचित होइन भन्ने मेरो तर्क छ ।
विदेशमा वसेकाहरु नेपालमा आएर राजनीति गर्लान भनेर नेताहरु डराएका हुन र ?
अफगानिस्तानका महिद कर्जाहीको पहिला अमेरिकाको नागरिकता थियो । पछि उनी पछि राजनीतिको उच्च पदमा पुगे । त्यस्ता उदाहरण पनि छन् । तर, हामीले त्यो सपना देखेका छैनौँ । यहाँका केही नेताहरुलाई बाहिर कमाएको पैसा लिएर यहाँ चुनाव लड्ने हो कि भन्ने चिन्ता लागेको हुनसक्छ । यदि उहाँहरुले त्यस्तो सोच्नु भएको हो भने त्यो गलत सोच हो । त्यसकारण उहाँहरु डराउनु पर्दैन ।
आगामी संविधानमा कम्तीमा पाँच वर्ष नेपालमा निरन्तर बसेको अवस्थामा पहिलाको नागरिकता स्वतः दिने भन्ने प्रावधान राख्ने कुरा आएको छ, के भन्नु हुन्छ ?
नेपालमा नै आएर लामो समय बस्ने र सक्रिय राजनीति गर्ने चाहना राख्नेहरुका लागि यो एकदम सही छ । यता पनि चुनाव लड्ने उता पनि चुनाव लड्ने स्वाभावका अवसरवादीहरुका लागि यस्तो प्रावधानले नाकावन्दी गरिदिने भएकाले पनि यो एकहदसम्म सही छ ।
भविष्य खोज्दै नेपालको नागरिकता त्यागेर विदेश पलायन भएकाहरुलाई नेपाली नागरिकताको निरन्तरता वेकार हो भन्ने तर्क पनि गर्छन् नि ?
म मेरै उदाहरण दिन चाहन्छु । म नेपाल देश माया मारेर विदेश गएको होइन । नेपालबाट अध्ययनका लागि विदेश गएँ । फेरि म नेपाल फर्किएर नेपालको सेवा गरें । अहिले म विदेशमा भए पनि म नेपालका लागि केही गर्न सक्छु कि भनेर लागि परेको छु । म अहिले पनि नेपालमा कानुनको क्षेत्रमा केही गर्न चाहन्छु । पहिला पनि नेपालका लागि मेरो स्थानबाट सक्दो सहयोग गरेको थिएँ । जहाँसम्म अमेरिका वा कुनै देशमा बसेका नेपालीले त्यहाँको नागरिकता लिने कुरा छ । त्यो एक हिसावले भन्ने हो भने आफ्ना आफन्तलाई ग्रीनकार्ड ‘अप्लाई’ गर्न वा त्यहाँ लैजाने प्रक्रियालाई सहज वनाउनका लागि हो । यो काम जानेर वा नजानेर धेरैले गरे । तर, त्यसो गर्ने वित्तिकै नेपाललाई सधैँका लागि ‘गुडवाई’ भन्नका लागि भने पटक्कै होइन । धेरै नेपालीको कथा यही हो । शिक्षा, स्वास्थ्य जस्ता कुरामा पनि त्यहाँ निक्कै सहज र निक्कै राम्रो भएकाले पनि त्यहाँको मोह जाग्नु स्वाभाविक मान्नुपर्छ । मेरो सन्दर्भको कुरा गर्नुहुन्छ भने मलाई फिटिक्कै विदेशी भएको महशुस छैन । म नेपाली हुँ भन्ने सधैँ लागि रहन्छ । नेताजीहरुले पनि सबै कुरा नबुझेकाले पनि यस्तो भएको हुन सक्छ ।
तपाईँले नेपालका नेताहरुलाई दिने सुझाव के छ ?
उहाँहरुले राजनीति बुझ्नु भएको छ । विदेश घुम्नु भएको छ । विदेशको विकास हेर्नु भएको छ । त्यहाँको अनुभव बटुल्नु भएको छ । छलफलका क्रममा पनि उहाँहरुले सबै कुरा जानेको र बुझेको बताउनुहुन्छ । तर, उहाँहरुले त्यसलाई व्यवहारमा लागु गर्न सक्नु भएको छैन । उहाँहरुको आ–आफ्नै हठका कारण यस्तो भएको छ । त्यसकारण मेरो गोरुको बाह्रै टक्का भन्ने भावना त्याग गर्नुहोस् । राष्ट्रियता र नेपालको संवृद्धिमा लाग्नुहोस् । मेरो यही सुझाव छ । अहिले विकास निर्माणका काम ठप्प भएका छन् । नेपालको विकासमा लाग्नुहोस् । तपाईहरु जनताको पनि प्यारो हुनुहुने छ ।













प्रतिक्रिया