सुन्दरीजल काठमाडौँ, १० कात्तिक । मेलम्चीको पानी आगामी २०७३ वैशाख १ मा ल्याउन सकिने अवस्था क्षीण हुँदै गएको छ ।
परामर्शदाता कम्पनी पोरी इन्फ्रा एजीका टोली नेता रोबर्ट स्मिथले सोमबार सुन्दरीजलस्थित सुरुङ निर्माणको अवलोकन गर्न आउनुभएका सहरी विकासमन्त्रीसमक्ष सो स्थिति जानकारी गराउनुभएको हो ।
सुरुङको निर्माणसम्बन्धी जानकारी लिन इटालीका विदेश राज्यमन्त्री बेनेडेट्टो डेल्ला भेदोभासहित सोमबार सुन्दरीजल आउनुभएका मन्त्री डा नारायण खड्कासमक्ष प्रगति विवरण प्रस्तुत गर्दै परामर्शदाता कम्पनीले भौगर्भिक अवस्था र प्राविधिक कारणले पूर्वनिर्धारित समयमा काम सक्ने सम्भावना क्षीण भएको बताएको हो ।
“दैनिक कम्तीमा ३८ मि सुरुङ खनिनुपर्नेमा बढीमा २० मि मात्र सुरुङ खनिएकाले निर्धारित समयमा मेलम्चीको पानी काठमाडौँ आइपुग्न मुस्किल देखिएको छ ” टोली नेता स्मिथले भन्नुभयो ।
मन्त्री डा खड्काले निर्धारित समयमा पानी ल्याउन सबै लागिपर्नुपर्ने बताउँदै भन्नुभयो, “काम केही ढिला भए पनि अझै मैले आस मासिसकेको छैन, समस्याको समाधान गरेर भए पनि हामी पूर्वनिर्धारित समयमै पानी ल्याउने प्रयत्नमा छौंँ । ”
सुरुङको काममा अहिले देखिएका भौगर्भिक, प्राविधिक र प्रशासनिक समस्या हल गरेर समयमै पानी ल्याइपु¥याउने प्रयास अझै जारी रहेको उहाँले बताउनुभयो ।
राष्ट्रको प्राथमिकताप्राप्त योजना भएकाले समयमै सम्पन्न गर्ने गरी काम गर्न पनि उहाँले मेलम्ची खानेपानी विकास समिति अन्तर्गतका कर्मचारीलाई निर्देशन दिनुभयो ।
इटालीका विदेश राज्यमन्त्री भेदोभाले इटालीको निजी कम्पनीले सुरुङको काम गरेको भए पनि समयमै काम सकाउनका लागि इटाली सरकारका तर्फबाट सहयोग गरिने बताउनुभयो । “नेपालको लोकतन्त्र, ग्रामीण विकास र पूर्वाधार निर्माणमा इटाली सरकार सहयोग गर्न तयार छ” राज्यमन्त्री भेदोभाले भन्नुभयो ।
खानेपानी आयोजनाको २६.५ किमि सुरुङ मार्गमा अहिलेसम्म नौ किमि ८०० मि मात्र खनिसकिएको समितिका कार्यकारी निर्देशक घनश्याम भट्टराईले बताउनुभयो ।
चिनियाँ कम्पनीलाई सुरुङ मार्ग निर्माणका लागि सन् २००९ मा ठेक्का दिइए पनि सम्झौतामा उल्लेख भएअनुसार काम गर्न नसक्दा ठेक्का तोडी सन् २०१३ जुलाइ १५ मा इटालेली कम्पनी सिएमसीसित अर्काे ठेक्का सम्झौता गरिएको थियो । सिएमसीले गत असोज १५मा परीक्षण प्रारम्भ गरी पुस १७ गतेदेखि सुरुङ निर्माण सुरु गरेको थियो ।
रु सात अर्ब ७२ करोडमा सिएमसी कम्पनीलाई ठेक्का दिइएको हो । समितिका इन्जिनियर सुदन खरेलका अनुसार एक र दुई नंको चट्टान हुँदा छिटो काम हुन्छ र तीन नंमाथिका कमजोर चट्टान आएमा डन्डीसमेत बनाएर अगाडि बढ्नुपर्ने हुन्छ । सुरुङ मार्गका केही ठाउँमा कुटाले पनि खोस्रन सक्ने चट्टान आएकाले काम ढिला भइरहेको सुरुङ निर्माणको काम हेरिरहनुभएका इन्जिनियर माधव नेपालले बताउनुभयो ।
सात स्थानबाट सुरुङ खन्न सुरु गरिएकामा माथिबाट रुख खसेकाले सिन्धुमार्गबाट सुरुङ खन्ने काम चिनियाँ कम्पनी गएदेखि नै रोकिएको छ । हाल सुन्दरीजलबाट सबैभन्दा बढी तीन हजार ६६ मि सुरुङ खनिएको छ । यसका साथै सिन्धुबाट सुन्दरीजल र ग्याल्थुमतिर, ग्याल्थुमबाट सिन्धु र अम्बाथानतिर, अम्बाथानबाट ग्याल्थुम र मुहानतिर गरी सात ठाउँबाट सुरुड खन्ने काम भइरहेको छ । रासस
















प्रतिक्रिया