१५ कार्तिक २०८३, आइतबार

आउलान् ८ सय १५ जना केन्द्रीय सदस्य ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर

काठमाडौं, ७ साउन । राष्ट्रिय जनता पार्टी नेपालभित्र देखिएको आन्तरिक विवादको विषयमा छलफल गर्न केन्द्रीय कमिटीको बैठक बस्ने तयारी भएको छ ।

जुली बजारस्थित पार्टी कार्यालयमा बिहीबार बसेको राजपा नेपाल अध्यक्षमण्डलको बैठकले पार्टी केन्द्रीय कमिटीको बैठक बोलाउने विषयमा छलफल गरेको छ । राजधानी दैनिकले समाचार छापेको छ ।

अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले पार्टीको केन्द्रीय कमिटी बैठक बोलाउने विषयमा छलफल भए पनि निर्णय हुन नसकेको बताए ।

दोस्रो सातामा पार्टी पदाधिकारी बैठक र तेस्रो सातामा केन्द्रीय कमिटी बैठक बस्ने विषयमा छलफल भएको र शुक्रबार बस्ने अध्यक्ष मण्डलको बैठकले मिति तोक्ने महतोको भनाइ छ ।

राजपा नेपालमा हाल केन्द्रीय पदाधिकारी १ सय ३४ रहेका छन् भने केन्द्रीय सदस्य ८ सय १५ जना रहेका छन् । पार्टी सञ्चालन, महत्वपूर्ण निर्णयलगायत विषयमा राजपाभित्र विवाद भएपछि अध्यक्ष मण्डलले पदाधिकारी र केन्द्रीय कमिटीको बैठक बोलाएर निकास खोज्ने प्रयास थालेको हो ।

राजपा नेपालका सहअध्यक्ष हृदयेश त्रिपाठी, संसदीय दलका नेता बृजेश गुप्ता, सर्वेन्द्रनाथ शुक्लालगायत नेताले गत १ साउनमा भैरहवामा भेला गरेर पार्टी निर्वाचन आयोगमा दर्ता गर्दा विधान, घोषणापत्रलगायत विषयमा छलफल नभएको भन्दै असन्तुष्टि व्यक्त गरेपछि अध्यक्ष मण्डलले केन्द्रीय कमिटीको बैठक बोलाउन लागेको हो ।

उनीहरूले १५ साउनभित्र केन्द्रीय कमिटी बोलाउन आग्रह गरेका थिए । उनीहरूको आग्रहपछि पार्टीको विधान, घोषणापत्र, आर्थिक नियमावली, निर्देशिकालगायत विषयमा विस्तृत छलफल गर्न केन्द्रीय कमिटीको बैठकको तयारी पार्टीले गरेको छ ।

बिहीबार बसेको बैठकमा पार्टीको आन्तरिक गतिविधिको विषयमा मात्रै छलफल भएको अध्यक्ष मण्डलका सदस्य महेन्द्रराय यादवले बताए ।

पछिल्लो समय पार्टीभित्रै केही नेताहरूको असन्तुष्टि बाहिर आएपछि सोको विषयमा छलफल गर्न बैठक बोलाउन लागिएको उनले जानकारी दिए । बैठकमा पार्टीको आन्तरिक गतिविधिका साथै पछिल्लो राजनीतिलगायत विषयमा छलफल हुने राजपाले जनाएको छ ।