२९ आश्विन २०८३, बिहिबार

२२ दलका नजरमा काँग्रेस सकारात्मक एमाले नकारात्मक किन ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० कात्तिक । संविधान निर्माणका क्रममा देखिएका विवादित विषयमा सहमति जुटाउने प्रयासमा नेकपा (एमाले) को भूमिका प्रभावकारी नभएको निष्कर्ष एमाओवादी नेतृत्वको २२ दलीय मोर्चाले निकालेको छ ।

सिंहदरबारमा सोमबार बसेको बैठकले एमालेले विगतको सहमति र सम्झौताभन्दा बाहिर गएर राज्य पुनःसंरचनाको विषयमा अडान अगाडि सारेको भन्दै आपत्तिसमेत प्रकट गरेको छ ।

संविधान निर्माणमा सहमति जुटाउने ढंगले नेपाली कांग्रेस प्रस्तुत भए पनि एमालेको भूमिका सहमति निर्माण गर्नेभन्दा पनि परिस्थितिलाई नकारात्मक बनाउने दिशातर्फ केन्द्रित भएको ठहर बैठकले गरेको बैठकमा सहभागी नेताको भनाइ छ ।

आइतबार एमाले र एमाओवादीबीच भएको दुई दलीय वार्तामा एमालेले उत्तर दक्षिण जोड्ने गरी चार प्रदेशको प्रस्ताव गरेको थियो । बैठकमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले प्रमुख तीन दलको बीचमा हालसम्म भएको छलफलमा भएका प्रगतिबारे धारणा राखेका थिए ।

एमालेको प्रस्ताव सहमति बनाउने ढंगले नआएको विषयमा बैठकमा छलफल भएको एमाओवादीका कोषाध्यक्ष हरिबोल गजुरेलले जानकारी दिनुभयो। उहाँले राज्य पुनःसंरचनाको सम्बन्धमा कांग्रेसको भूमिका सकारात्मक देखिएको तर शासकीय स्वरूप र निर्वाचन प्रणालीका सम्बन्धमा भने थप छलफलको जरुरत रहेको निष्कर्ष निकालिएको बताउनुभयो।

यस्तै, बैठकमा मोर्चाले यही कात्तिक १८ गते पाँचथर, २२ गते जनकपुर र २५ गते कैलालीको धनगढीमा आयोजना गरिएको जनसभाको तयारीका विषयमा छलफल भएको थियो ।

बाइस दलीय मोर्चाले दसैँ, तिहार, नेपाल संवत र छठ पर्वको अवसरमा आज चियापानको आयोजना गरेको छ ।

चियापानमा प्रधानमन्त्री सुशील कोइराला, एमालेलगायतका राजनीतिक दल, संवैधानिक अङ्गका प्रमुखहरु, यहाँस्थित विदेशी नियोगका प्रमुखहरु, मानवअधिकारवादी, पत्रकार, नागरिक समाजका प्रतिनिधिलगायतलाई निमन्त्रणा गरिएको छ । रासस