३० आश्विन २०८३, शुक्रबार

एमाले र केपी ओलीविरुद्ध चलाइएको हल्ला अनि सत्यताहरु…

37k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– रश्मि आचार्य

एमालेको तर्फबाट बिजयी सूचीका २७६ मध्ये १०९ जना जनजाति समुदायका देखिन्छन् । त्यसैगरि देशभरि विजयी २५ जना थारु समुदायका प्रमुख मध्ये पूर्वी तराईको इटहरी उपमहानगरपालिका र दाङको घोराही उपमहानगरपालिकामा प्रमुखसहित सबैभन्दा धेरै ८ तहमा एमालेको तर्फबाट बिजयी हुनुले यस समुदायको असली प्रतिनिधिको रुपमा एमाले नै स्थापित भएको छ ।

स्थानीय चुनावको सन्निकटमा पनि नेकपा एमालेलाई मधेश विरोधी, जनजाती विरोधी, पहिचान विरोधी र जातीय सद्भाव विरोधी भनेर धारे हात लगाउनेहरुलाई भ्याई नभ्याई थियो । उनीहरुलाई त्यस्तो चटारोमा पार्ने भूमिका केही संघसंस्था र मिडियाहरुले निरन्तर खेले । त्यस्तो अनर्गल बहकावमा परेर अलिक बर्ष अघि केही नेताहरुले एमाले छाडे पनि । एमालेमा मात्र होइन, पश्चिम निर्मित त्यस्तो विषाक्त इन्जेक्सनको प्रभाव सबै पार्टीहरुमा थोर बहुत पर्यो । पहिलो संविधानसभा त्यस प्रदूषणको भण्डै शिकार भइसकेको थियो । दोस्रो संविधानसभा निर्वाचन हुँदै स्थानीय निर्वाचन भइरहँदा देशको परिवेशले कोल्टे फेरेको छ ।

कहिले दलीय झगडा, कहिले जातीय द्धन्द्ध, कहिले विदेशीहरुको स्वार्थ टकराव त कहिले नाकाबन्दी जस्ता संकटहरु छिचोल्दै स्थानीय तहको निर्वाचन गरेर देश यतिबेला काँचुली फेर्ने बाटो अग्रसर छ । आन्तरिक तथा बाह्य चुनौतीका यस्ता अनेकौँ उकालीहरु छिचोल्दै निर्मित संविधानको कार्यान्वयन गर्दै देश समृद्धिको मार्गतर्फ लम्किरहेको छ । देशलाई अग्रगतिको मार्गमा हिँडाउन राष्ट्रिय स्वाभिमान र स्वाधिनताको रक्षा गर्दै राष्ट्रका हरसंकट समाधानमा नेकपा एमालेको नेतृत्वदायी भूमिका रहँदै आएको छ । मूलतः नाकाबन्दीको समयमा एमाले नेतृत्वको सरकारले लिएको राष्ट्रवादी अडान र चिनसँगको पारवहन सन्धि बास्तवमै नेपाली स्वाभिमानलाई सदैव ठाडो पार्ने कदम हुन् । संविधानविपरित पाँच नम्बर प्रदेश टुक्र्याउन खोज्ने लगायतका संविधान संसोेधनका राष्ट्रघाती प्रस्तावहरुलाई रोक्नु संविधानको रक्षार्थ र जनमतको कदरका लागि एमालेले स्थापित गरेका दीर्घकालीन एजेण्डाहरु हुन् । विद्युत, खानी, रेल, पानीजहाज लगायतका योजनाहरु समृद्धि देशका लागि एमालेले अगाडि सारेका रोडम्याप हुन् । एमालेको यिनै जनपक्षीय नीति र भूमिकालाई स्थानीय तहमा जनताले अनुमोदन गरेका छन् । एजेण्डाको अनुमोदनसगै निर्वाचन परिणामले एमाले लक्षित धेरै अफवाहहरुको मतोड जबाफ समेत दिएको छ ।

जनजाति समुदायमा एमालेकै बर्चश्व

पहिलो र दोस्रो चरणमा निर्वाचन भएका कुल ६१६ (भरतपुर बाहेक) स्थान मध्ये नेकपा एमाले २७६, नेपाली कांग्रेस २२६, माओवादी केन्द्र ८४ तहमा र बाँकी अन्य पार्टीहरु प्रमुख वा अध्यक्ष पदमा विजयी भएका छन् । एमालेको तर्फबाट बिजयी सूचीका २७६ मध्ये १०९ जना जनजाति समुदायका देखिन्छन् । त्यसलाई केस्रा केस्रामा केलाउँदा पूर्वका जनजाति वाहुल्यताका अधिकांश तहहरु, उच्च हिमाली क्षेत्र, मध्य र पश्चिम क्षेत्रका जनजातीहरुको सघन बसोबास रहेका तहहरुमा सोही समुदायका एमाले उम्मेदवारहरु भारी मतले विजयी भएका छन् । त्यसैगरि देशभरि विजयी २५ जना थारु समुदायका प्रमुख मध्ये पूर्वी तराईको इटहरी उपमहानगरपालिका र दाङको घोराही उपमहानगरपालिकामा प्रमुखसहित सबै भन्दा धेरै ८ तहमा एमालेको तर्फबाट बिजयी हुनुले यस समुदायको असली प्रतिनिधिको रुपमा एमाले नै स्थापित भएको छ । यसरी, चाहे हिमाली क्षेत्रमा होेस्, चाहे पहाडमा होस, चाहे तराईमा नै किन नहोस् हरेक जाति, जनजाति र आदिवासी जनजाति समुदायको मन र मत दुवैको प्रतिनिधि एमाले हो भन्ने तथ्य यस निर्वाचनले प्रमाणित गरेको छ । को जनजाति एमाले छन् ? भनेर एमालेलाई आरोप लगाउने महापण्डितहरुलाई के उल्लेखित तथ्यहरुले सप्रमाण जवाफ दिएका छैनन् र ?

तराईका १२ जिल्लाको सन्देश

छ बटा प्रदेशको समग्र परिणाममा एमाले पहिलो शक्ति बन्यो तर अब वाँकी रहेको २ नम्वर प्रदेशमा के होला ? भन्ने जिज्ञासा यतिवेला सबैको मनमा छ । त्यसको एउटा झझल्को दोस्रो चरणको निर्वाचनमा देखिएको छ । प्रदेश नम्वर १, ५ र ७ का तराई मधेशमा अवस्थित १२ बटा जिल्लाहरुको परिणामको विश्लेषण गर्दा यसको आँकलन गर्न सकिन्छ । ती १२ बटा जिल्लामा नेकपा एमाले करिब आधा (४५ प्रतिशत) स्थानीय तहमा एकल विजयी भएको छ । एमाले ५८ तहमा विजयी हुँदा कांग्रेस ४३, माओवादी केन्द्र १२, संघीय फोरम र नयाँ शक्ति ८, लोकतान्त्रिक फोरम ६, राप्रपा ४ र स्वतन्त्र (राजपा) ३ तहमा विजयी भएका छन् । काँग्रेस र माओवादी केन्द्र दुवैको कुल जोड भन्दा पनि धेरै तहहरु एमालेले एक्लै जितेको छ । मधेश केन्द्रीत तीन बटा पार्टीहरु दुई बटा फोरम र राजपाले जितेका तहको कुल योग नेकपा एमालेको एकतिहाई पनि पुग्दैन । एमाले ५८ तहमा विजयी हुँदा तीनबटा पार्टी जम्मा १७ तहमा विजयी भएका छन् ।

एमालेको विजयले एमाले मधेशमा कमजोर छ भन्नेहरुका आरोपलाई मिथ्या सावित गरिदिएको छ । बिहानीले दिउँसोको संकेत गर्छ भने जस्तै प्रतिनिधिमुलक उदाहरणहरुले उद्घोष गरेका छन्, २ नम्बर प्रदेशमा पनि एमाले पहिलो शक्ति हुँदैछ ।

मधेशका पनि विशेषतः कैलालीको टीकापुर नगरपालिका, नवलपरासीको सुस्ता गाउँपालिका, कपिलबस्तुको शिवराज नगरपालिका, बाँकेको जानकी गाउँपालिका र रुपन्देहीको सिद्धार्थ नगरपालिकामा एमालेले सबैलाई चकित पार्ने नतिजा निकालेको छ । त्यसैगरि थारु समुदायको बाहुल्यता रहेका दाङको दंगीशरणा गाउँपालिका, कैलालीको लम्कि चुहा, गौरीगंगा र घोडाघोडी नगरपालिका, कञ्चनपुरको कृष्णपुर नगरपालिका, कपिलबस्तुको विजयनगर गाउँपालिका, रुपन्देहीको सीयारी र शुद्धोदन गाउँपालिका, मोरङको ग्रामथान गाउँपालिकामा एमालेको विजयले एमाले मधेशमा कमजोर छ भन्नेहरुका आरोपलाई मिथ्या सावित गरिदिएको छ । बिहानीले दिउँसोको संकेत गर्छ भने जस्तै २ नम्वर प्रदेशको पूर्व र पश्चिममा रहेको मधेसमा एमाले पहिलो पार्टीको रुपमा स्थापित भएकोले यस परिणामको प्रत्यक्ष प्रभाव बाँकी मधेशमा पर्छ नै । प्रतिनिधिमुलक उल्लेखित उदाहरणहरुले उद्घोष गरेका छन्, २ नम्बर प्रदेशमा पनि एमाले पहिलो शक्ति हुँदैछ ।

टीकापुरको शंखघोष

सम्झदा पनि आङ्ग जिरिङ्ग हुने टीकापुर काण्ड नेपालको इतिहासमा विरलै घट्ने मध्येको दुःखदायी घटना हो । जतिबेला घरभित्र आफ्नै मुद्रामा खेलिरहेको दुधे बालकले आमाको दूधको सट्टा गोली पिउनुपर्यो । जनताको सुरक्षाको जिम्मा लिएको प्रहरी अफिसर आफ्ना दर्जनौं सहयोगीसँगै भाला रोपिएर मर्नुपर्याे । त्यहाँ नेपाली समाजमा रहेको सामाजिक सद्भाव र सहिष्णुतामाथि धाबा बोल्दै त्यसका नशा नशामा तेजाब खन्याइयो, हिंसा भड्काएर त्यसमा अस्थित्व खोज्ने, बस्तीहरुमा आगो झोसेर खरानीको ब्यापार गर्र्ने तत्वहरुले नृशंसकारी ताण्डब नृत्य नाचे । त्यही टीकापुरको परिणामले ती हिंसाका पक्षधरहरुलाई गतिलो जबाफ दिएको छ । त्यही हिंसालाई पुरस्कृत गर्ने सरकारी प्रपञ्चलाई नाङ्गेझार पारिदिएको छ । नेपाली समाजको अनेक मनोविज्ञानमा खेलेर आफ्नो क्षणिक स्वार्थ सिद्ध गर्न खोज्ने तप्कालाई यस परिणामले किनारामा फालिदिएको छ । त्यसैले टीकापुरको जित एमालेको मात्रै जित होइन, जातीय सहिष्णुताका पक्षधरहरुको जित हो, सामाजिक सदभावका रक्षकहरुको जित हो, अक्ष्क्षुण नेपालका कट्टर हिमायतीहरुको जित हो, समग्रमा बहुसंख्यक नेपालीहरुको साझा भावनाको जित हो । आम जनताको जित हो । जातिय राज्यको अतिवादी सोचविरुद्धको जनअभिव्यक्ति हो ।

वालुवाटारको एउटा बसाईँमा टीकापुरमा एमालेले कसरी जित्यो भनेर ? सत्ताधारी र मधेशलाई आफ्नो विर्ता ठान्ने पार्टीहरुबीचमा गम्भीर समीक्षा भएछ । चुनावको मुखैमा क्षतिपूर्तिको नाममा राहत वितरण गरि नतिजा आफ्नो पोल्टामा पार्ने सपना देखेकोहरुलाई यस परिणामले आहात पुर्याए पनि देशभर यसले नयाँ रक्तसंचार सृजना गरेको छ ।

केही त्यस्ता जित कुनै पार्टी विशेषका मात्र हुँदैनन्, त्यो भन्दा अग्लो उँचाईका हुन्छन् । एउटा स्थानीय तह विशेषको मात्र हुँदैन, सिंगो देशको हुन्छ । यसपटकको टीकापुरको जित ठीक त्यस्तै हो । तर दुखद पक्ष के छ भने, वालुवाटारको एउटा बसाईँमा टीकापुरमा एमालेले कसरी जित्यो भनेर ? सत्ताधारी र मधेशलाई आफ्नो विर्ता ठान्ने पार्टीहरुबीचमा गम्भीर समीक्षा भएछ । सायद एक अर्कामा दोषादोष र पोलापोल गरे होलान् । चुनावको मुखैमा क्षतिपूर्तिको नाममा राहत वितरण गरि नतिजा आफ्नो पोल्टामा पार्ने सपना देखेकोहरुलाई यस परिणामले आहात पुर्याए पनि देशभर यसले नयाँ रक्तसंचार सृजना गरेको छ । बास्तवमै टीकापुरको नतिजाले परिवर्तनको शंखघोष गरेको छ ।

अफवाहहरु पानीको फोका सावित

एमाले माथि अनेकौ मिथ्या आरोपहरुको चाङ मात्र थिएन, निर्वाचन आयोगमा दर्ता भएका र नभएका सबै पार्टीहरुको एमालेविरुद्ध घेराबन्दी थियो । ती कथित आरोप सत्यतामा आधारित थिएनन्, केवल राजनीतिक प्रतिशोधको उपज मात्र थिए भन्ने कुरा एमालेबाट बहुसंख्यक जनजातिले जित्नु, तराई मधेशसमा एमाले पहिलो हुनु र सामाजिक सद्भावको शंखघोष एमालेकै जितले प्रबाह गर्नु प्रमाणित गरेको छ । त्यसैगरी नेकपा एमालेका अध्यक्ष केपी ओली विरुद्धका सुनियोजित प्रचार युद्ध चलाउनेहरुलाई समेत यस परिणामले एकपटक सोच्न बाध्य बनाएको छ । देशभरिका बहुसंख्यक जनताले ओलीको बोलीमा आफ्नो लोली मिलाएका छन् । ओलीमार्फत् ब्यक्त विचारलाई अबको निकास ठानेका छन् । नेपाल र नेपालीहरुको पहिचानको मूल रक्षक नेकपा एमाले मात्र हो भनेर स्थापित गरेका छन् ।

नेकपा एमालेका अध्यक्ष केपी ओली विरुद्धका सुनियोजित प्रचार युद्ध चलाउनेहरुलाई समेत यस परिणामले एकपटक सोच्न बाध्य बनाएको छ । देशभरिका बहुसंख्यक जनताले ओलीको बोलीमा आफ्नो लोली मिलाएका छन् ।

यतिबेला समयले मात्र कोल्टे फेरेको होइन, नेपालको राजनीतिक परिस्थितिले पनि कोल्टे फेर्न खोज्दैछ । त्यसैले, अबको समय आर्थिक विकास र समृद्धिको समय हो भन्ने उद्घोषसहित त्यसको कट्टर हिमायती नेकपा एमाले देशको पहिलो पार्टी बनेर स्थापित भएको छ । जनताले आफ्नो अमुल्य मतदानद्वारा एमालेविरुद्ध फैलाइएका अनेकौं अफवाहहरुलाई पानीको फोका जस्तै बनाइदिए । जनताले एमालेलाई न्याय गरे, अन्ततः देशलाई न्याय गरे । अब जनताका अपेक्षाहरुलाई यथार्थमा बदल्ने दायित्व एमालेकै हो । यसर्थ, जनताको आँखामा विझाउने गरि होइन, आँखाको नानी बनेर काम गर्ने युगीन अभिभारा एमालेकै काँधमा छ ।

लेखक नेकपा एमालेका विद्यार्थी नेता हुन् ।