१५ कार्तिक २०८३, आइतबार

राजपा फुटाउने तयारी

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ साउन । राष्ट्रिय जनता पार्टी(राजपा) नेपालका नेता हृदयश त्रिपाठीले नेतृत्वप्रति असन्तुष्टि जनाउँदै पार्टी विभाजनसम्मको चेतावनी दिएका छन् ।

केही दिन अगाडि रुपन्देहीको भैरहवामा ५ नं. प्रदेशस्तरीय अगुवा नेताहरूको भेला सम्पन्न गरेका त्रिपाठीले ६ सदस्यीय अध्यक्ष मण्डललाई साउन १५ गतेभित्र केन्द्रीय कार्यसमितिको बैठक बोलाउन चेतावनी दिएका छन् । यूनाइटेड पोष्ट साप्ताहिकले समाचार छापेको छ ।

त्रिपाठीको चेतावनीलाई नेतृत्वले अहिलेसम्म सुनेको छैन । केन्द्रीय कार्यसमितिको बैठकबाट विधान अनुमोदनको मागलाई सकारात्मक रुपमा नेतृत्वले लिए पनि त्यो माग पूरा हुने अवस्था नरहेको एक नेताले बताए । त्रिपाठीले माग पूरा नभए भदौ महिनाभित्र नयाँ दल गठनको तयारी गरेको स्रोतको भनाई छ ।

वामपन्थी छविका नेता त्रिपाठीले केही नेताहरूसँग एमालेमा प्रवेश गर्न आफू तयार रहेको पनि बताउने गरेका छन् । यद्यपि त्रिपाठी एमालेमा प्रवेश गर्नुभन्दा आफ्नै अध्यक्षतामा नयाँ दल गठन गरेर महन्थ ठाकुर, राजेन्द्र महतो, अनिल झालाई देखाइदिने योजना बनाएका छन् ।

त्रिपाठीले सैद्धान्तिक रुपमा भन्दा पनि आफूभन्दा जुनियर नेता राजेन्द्र महतो र अनिल झालाई नेता मान्नु पर्दाको पीडा धेरै रहेको बताउने गरेका छन् ।

राजपा नेपालमा पूर्व र पश्चिमका मधेसीको धार देखिएको छ । राजपा नेपालको नेतृत्वमा छ जना सबै नेता पूर्वका अर्थात २ नं. प्रदेशका हुन् ।

उनीहरूको व्यक्तिगत इच्छामा निर्णय हुने गरेको भन्दै ५ नं. प्रदेशका नेताहरू रुष्ट छन् । राजपा नेपालका नेताहरू पूर्व र पश्चिमका गरी दुई समूह प्रष्ट रुपमा देखिएको छ ।

यस्तो अवस्थामा राजपा नेपाल अब एक भएर जानेमा कोही पनि ढुक्क छैनन् । राजपालाई बचाउनका लागि प्रयास भए पनि हृदय त्रिपाठी, शर्बेन्द्रनाथ शुक्ला, बृजेशकुमार गुप्ता, अकबाल अहमदलगायत नेताहरू बदला लिने योजनामा रहेको बताइन्छ ।