१५ कार्तिक २०८३, आइतबार

मन्त्रिमण्डल विस्तार गर्नु अगाडि देउवाले राजपासँग कुरा गर्ने

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, ४ साउन । प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख सत्ता साझेदार पार्टी नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालबीच मङ्गलबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकले मन्त्रिपरिषद् विस्तारअघि राष्ट्रिय जनता पार्टीसँग छलफल गर्ने निर्णय गरेको छ ।

दुई प्रमुख नेतालगायत नेपाली काँग्रेसका तर्फबाट केन्द्रीय सदस्य विमलेन्द्र निधि र रमेश लेखक तथा नेकपा (माओवादी केन्द्र)का तर्फबाट वर्षमान पुन र कृष्णबहादुर महरा सम्मिलित कार्यदलको बैठकले मन्त्रिपरिषद् विस्तार गर्नुअघि संविधान संशोधनको विषयमा राष्ट्रिय जनता पार्टी (राजपा)सँग छलफल गर्ने निर्णय गरेको नेता निधिले बताउनुभयो । कार्यदलले बुधबार बिहान राजपासँग छलफल गर्नेछ । गोरखापत्र दैनिकले समाचार छापेको छ ।

राजपाले माग गर्दै आएको संविधान संशोधनका लागि संसद्मा दुई तिहाइ बहुमत नपुग्ने अवस्थामा पनि राजपाले मतदानमा जान चाहेमा मन्त्रिपरिषद् विस्तार अझै केही दिन ढिलाइ हुनसक्ने अनुमान गरिएको छ ।

त्यस्तै संविधान संशोधनमा दुई तिहाइ नपुग्ने भएपछि राजपाले हाल मतदान प्रक्रियामा नजाऔँ भन्ने सङ्केत गरेमा बुधबार नै मन्त्रिपरिषद् विस्तार हुने सम्भावना रहेको समाचारस्रोतले बताएको छ ।

मङ्गलबारको बैठकले निर्वाचन क्षेत्र निर्धारणका लागि प्रमुख प्रतिपक्षी दल नेकपा ९एमाले०सँग पनि छलफल गरेर आयोग गठन गर्न बिहीबारको मन्त्रिपरिषद् बैठकमा प्रस्ताव लैजाने निर्णय पनि गरेको छ ।

यसैगरी बैठकले मन्त्रालय बाडफाँटको पनि टुङ्गो लगाएको छ । अबको मन्त्रिपरिषद्मा नेपाली काँग्रेसका लागि १३ मन्त्रालय, नेकपा (माओवादी केन्द्र)का लागि नौ, फोरम लोकतान्त्रिकलाई तीनवटा मन्त्रालय दिने तयारी भएको छ ।

हालका लागि प्रधानमन्त्री स्वयंले चार मन्त्रालय राख्ने र साना दल सरकारमा सहभागी हुने भएमा पुनः बाँड्ने सहमति भएको बैठकमा सहभागी एक नेताले बताउनुभयो ।