२८ आश्विन २०८३, बुधबार

युवा संघको महाधिवेशन भदौभित्र गरिन्छः राजीव पहारी, अध्यक्ष (अन्तर्वार्ता)

1.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

राजीव पहारी नेपाली युवा आन्दोलनको एउटा लोकप्रिय नाम हो । विगत २५ वर्षदेखि पार्टी र पार्टीका जनसंगठनहरुको विभिन्न जिम्मेवारी निर्वाह गर्दै आउनुभएको उहाँ अहिले नेपाली युवाहरुको सर्वाधिक लोकप्रिय संगठन युवा संघ नेपालको अध्यक्षको जिम्मेवारी लिएको २२ महिना पूरा भएको छ । र, उहाँको नेतृत्वमा युवा संघ नेपालले राष्ट्रियताको आन्दोलनलाई एउटा नयाँ उचाईमा पुर्याउने काम गरेको छ । तराई मधेस दनदनी विखण्डनकारीहरुले जलाइरहेको बेला हिमाल, पहाड र तराईबीचको सम्बन्धलाई समाप्त पार्न लागेको बेला ‘हिमाल, पहाड, तराई कोही छैन् पराई’ भन्ने भावनाका साथ सामाजिक सद्भाव र राष्ट्रिय एकताको निम्ति ६ महिनासम्म तराई मधेस सम्वाद जागरण अभियान चलाउने काम भयो । मूल्यवृद्धि, मंहगी, भ्रष्टारचारविरुद्ध नयाँ नयाँ आन्दोलनका कार्यक्रमहरुको सुत्रपात गर्ने काम युवा संघले गर्यो । ‘राष्ट्रघाति’ संविधान संशोधनविरुद्ध आन्दोलनलाई नयाँ उचाईमा पुराउने काम गर्यो । नेपालमा पहिलोपटक राजनीतिक युवा संगठनले प्रथम युवा महोत्सवको आयोजना गर्यो । विश्व प्रजातान्त्रिक युवा संघको एसिया प्यासिफिक रिजनलको कोर्डिनेटरको जिम्मेवारी प्राप्त गर्यो । भारतले लगाएको नाकाबन्दीको मुद्दालाई अन्तर्राष्ट्रियकरण गर्ने काम गर्यो । बाढी पहिरोबाट पीडित जनतालाई सबैभन्दा पहिला उद्दार, राहत बाड्ने कामको अगुवाई युवासंघले गर्यो । संगठनभित्र देखिएको आन्तरिक समस्यालाई हल गर्ने र ९–१० वर्षदेखि सम्मेलन हुन नसकेका जिल्लाहरुमा यसबीचमा सम्मेलनहरु हुनसके । साथै, भर्खरै स्थानीय तहको निर्वाचनमा माउ पार्टीलाई जिताउन महत्वपूर्ण भुमिका खेल्यो । यी र यस्तै सन्दर्भका बीच युवा संघ नेपाल अहिले महाधिवेशनको तयारीमा जुटेको छ । आगामी महाधिवेशनबारे दैनिक नेपालले अध्यक्ष पहारीसँग कुराकानी गरेको छः

युवा संघ नेपाल अहिले के गर्दैछ ?

स्थानीय तहको पहिलो र दोस्रो चरणको निर्वाचनमा नेकपा एमालेका उम्मेदवारहरुलाई विजयी गराउनको निम्ति युवा संघ नेपालका सम्पूर्ण पदाधिकारीहरु, केन्द्रीय कमिटीका सदस्यहरु र देशभरका कार्यकर्ताहरु अहोरात्र खटिएर एमालेलाई स्थानीय तहको निर्वाचनमा पहिलो पार्टी बनाउन महत्वपूर्ण भुमिका खेलेर संघका पदाधिकारी साथीहरु आफूलाई दिएको जिम्मेवारी पूरा गरेर काठमाडौं फर्किसक्नुभएको छ । र म पनि सप्तरीमा बाढीबाट ठूलो क्षति भएको थियो । ती पीडितहरुलाई राहत वितरण गरेर आजमात्रै काठमाडौं फर्केको छु । केही दिनअगाडि रामेछापको छतिवन खोलामा गएको विनाशकारी बाढी पहिरोबाट ठूलो जनधनको क्षति भएको छ । उहाँहरुलाई केही राहतको व्यवस्थाप गर्नको निम्ति संगठन लागिरहेको छ । अब संगठनको आन्तरिक जीवनलाई थप व्यवस्थित गर्न लाग्नेछौं ।

युवा संघले घोषणा गरेको राष्ट्रिय सम्मेलन किन रोक्यो ?

युवा संघ नेपालको नवौं राष्ट्रिय महाधिवेशन २०७४ वैशाख ९ देखि १२ गतेसम्म गर्ने भनेर गएको केन्द्रीय कमिटीको बैठकबाट हामीले निर्णय गरेका थियौं । र, त्यसको तयारीमा जुटिरहेको बेला सरकारले वैशाख ३१ र जेठ ३१ गते गरी दुई चरणमा स्थानीय तहको निर्वाचन गर्ने घोषणा गर्यो । तत्पश्चात हाम्रो पार्टी नेकपा एमालेले पार्टी स्थायी कमिटीको बैठक बसेर पार्टीका सम्पूर्ण जनसंगठनहरु र पार्टी कमिटीका अधिवेशन र सम्मेलनहरु स्थगित गर्नुभन्ने निर्देशनको आधारमा युवा संघ नेपालले पनि आफ्नो तोकिएको सम्मेलन स्थगित गर्यो । र, युवा संघ नेपालले २०७४ वैशाख १४ गते विशेष निर्देशन जारी गर्दै सम्मेलन हाललाई स्थगित गरिएको र स्थानीय तहको निर्वाचनपछि सम्मेलन गर्ने भनेर पार्टीको निर्देशनअनुसार नै हामीले विशेष निर्देशन जारी गर्यौं ।

चुनाव त सकियो, अब सम्मेलन कहिले गर्नुहुन्छ ?

युवा संघ नेपाल एउटा जीवन्त र गतिशील संगठन हो । र, संगठन स्थायी भएपनि संगठनमा काम गर्ने साथीहरु भनेको अस्थायी नै हो । तसर्थ नेतृत्व हस्तान्तरण एउटा प्रमुख कुरा हो । नेकपा एमालेको स्थायी कमिटीको बैठक २०७४ साउन १ गते पार्टी अध्यक्ष कमरेड केपी शर्मा ओलीको निवासमा बस्यो । र, उक्त बैठकले पार्टीले स्थगित गरिएका जनसंगठनका र पार्टीका अधिवेशन र सम्मेलनहरु (प्रदेश नम्बर दुई बाहेक) गर्नका निम्ति खुला गर्ने भनेर निर्णय गरेको छ । र, यसले युवा संघ नेपाललाई महाधिवेशन गर्नका निम्ति बाटो खुला गरेको छ । र, अब हामी छिट्टै स्थायी कमिटीको बैठक बसेर भदौ महिनाभित्र सम्मेलन गर्नेगरी अगाडि बढ्नेछौं ।

वर्षातको बेला कसरी सम्मेलन गर्नहुन्छ ?

भदौभित्र सम्मेलन गर्नको निम्ति स्वभाविक रुपमा केही प्रतिकुलताहरु छन् । खासगरी वर्षातको कारणले केही समस्या आउनसक्छ । सबैभन्दा ठूलो कुरा दृढ इच्छाशक्ति, आँट र साहस हो । त्यो अहिलेको नेतृत्वसँग छ । र, हामीले प्रतिनिधिमुलक ढंगबाट सम्मेलन गर्नसक्छौं । पार्टीले पनि गएको राष्ट्रिय महाधिवेशन असार महिनामै भव्य रुपमा सम्पन्न गरेको थियो । र, हामीले सम्मेलनमा जानुभन्दा पहिला संगठनलाई पार्टीकै गाइडलाइनअनुसार प्रादेशिक संरचनामा लैजाने केही केही निर्मित निर्णयहरुलाई प्रभावकारीरुपमा कार्यान्वयनमा लैजाने काम गरेपछि सम्मेलन गर्न हामीलाई कुनै कुराले अप्ठेरो पार्ने स्थिती छैन् । र, यो काममा संघका सम्पूर्ण साथीहरु एकमना एकताका साथ लागिसकेपछि सहजै ढंगबाट सम्मेलन सम्पन्न गर्न सक्छौं । त्यसको लागि केही केही कामहरु फास्ट ट्रयाकबाट गर्नुपर्ने हुन्छ ।

तेस्रो चरणको चुनाव आउँदैछ त्यो भन्दा अगाडि नै भदौमै किन गर्नुपर्यो ? तपाईहरुको निर्णय स्थानीय चुनाव सकिएपछि गर्ने भन्ने रहेछ नी ।

हामीले सम्मेलन जुनसुकै हालतमा भदौभित्र गर्नुपर्ने अवस्था छ । किनकि भदौमा सम्मेलन भएन भने एक वर्षसम्म सम्मेलन हुनसक्दैन् । असोज २ गते प्रदेश नम्बर २ को चुनाव छ । त्यसपछाडी दशैतिहार छ । त्यसपछाडी मंसिरमा प्रदेशको चुनाव छ । माघमा केन्द्रको चुनाव छ । र, नेतृत्व भदौमा सम्मेलन गर्नेवितिकै कतिपय साथीहरुले संगठनको नेतृत्व लिनुुहुनेछ । कतिपय साथीहरु भुगोलमा गएर काम गर्नुहुनेछ । र, प्रदेश र केन्द्रको निर्वाचनमा जिम्मेवारी पाउने अवस्था हुन्छ । अर्काे कुरा नयाँ नेतृत्वमा आइसकेपछि युवाहरुलाई निर्वाचन परिचालन गर्न झन सहज हुनेछ । फ्रेस नेतृत्वबाट अझै प्रभावकारी हुनेछ । बीचमा राष्ट्रिय राजनीतिका कारणले हामी आन्दोलनमा लाग्नुपर्यो । चुनावमा लाग्नुपर्यो । जसले गर्दा सम्मेलन गर्न केही ढिलाई भएको छ । अब हामी अविलम्ब महाधिवेशनमा जानुको कुनै विकल्प छैन् ।

अनेरास्ववियु र युवा संघको सम्मेलन हुँदा पार्टीभित्र धेरै विवाद आउनेगर्छ । यसले आगामी चुनावमा केही असर गर्छ की ?

विगत केही वर्षदेखि हामीले लोकतान्त्रिक प्रक्रिया अपनाउने नाउमा टिम बनाएर प्रतिस्पर्धा गर्यौं । तर ती आन्तरिक प्रतिस्पर्धाहरु जति स्वस्थ र मर्यादित हुनुपर्ने हो त्यति हुन सकेन् । तसर्थ लोकतन्त्रको महत्वपूर्ण पक्ष भनेको निर्वाचनबाट नेतृत्व चयन गर्नु मात्र होइन्, सर्वसम्मत ढंगबाट नेतृत्व चयन गर्नु पनि हो । र, अहिलेको आवश्यकता भनेको सर्वसम्मत ढंगबाट नेतृत्व चयन गर्नु हो । किनकि आज नेपालको राष्ट्रियता अत्यन्त कमजोर अवस्थाबाट गुज्रिरहेको छ । देशीविदेशी प्रतिक्रियावादी शक्तिहरुले नेपाललाई कमजोर बनाउनको निम्ति नेकपा एमालेलाई कमजोर नबनाइकन सकिन्न भनेर न्वारनदेखिको बल लगाइरहेका छन् । प्रत्येक दिन १७ सय युवाहरु विदेशीरहेको अवस्था छ । मुलुकमा गरिबी भ्रष्टाचार, बेरोजगारी बढ्दो छ । नेपाली जनता र युवाहरुमा निराशा छाइरहेको अवस्था छ । यो बेला मुलुक बनाउछ भने एमालेले मात्र बनाउनसक्छ भनेर जनताले आशा र विश्वास गरेका छन् । त्यही विश्वासका आधारमा गएको स्थानीय तहको दुई चरणको निर्वाचनमा एमालेलाई पहिलो पार्टी बनाएका छन् । र, युवा संघ नेपाल भनेको नेकपा एमालेको व्याकबोन हो । यी सबै जनताको, युवाहरुको इच्छा चाहनालाई पूरा गर्नपनि एकताबद्ध एमाले र एकताबद्ध युवासंघ आजको आवश्यकता हो ।

युवा संघमा नेतृत्वको व्यवस्थापन गर्न कतिको कठिनाई छ ?

विगतमा भन्दा अहिले युवा संघमा नेतृत्वको व्यवस्थापन गर्न केही सहज अवस्था पनि छ । किनकि संघका धेरै नेता कार्यकर्ता साथीहरुले स्थानीय तहको निर्वाचनमा जिम्मेवारी पाइसक्नुभएको अवस्था छ । र, कतिपय साथीहरुले पार्टी, प्रदेश र केन्द्रको चुनावमा अवसर प्राप्त गर्ने स्थिती पनि छ । तसर्थ हामीले सर्वसम्मत ढंगबाट नेतृत्व चयन गर्न सक्छौं । चयन गर्नुपर्छ । यो समय र परिस्थितीको माग पनि हो । पार्टीका श्रद्धेय अध्यक्ष केपी शर्मा ओली, झलनाथ खनाल, माधवकुमार नेपाल, वामदेव गौतम, भीम रावल, महासचिव ईश्वर पोखरेल, युवा इन्चार्ज महेन्द्र पाण्डे, पार्टीका नेताहरु, संघका पूर्व अध्यक्षहरु पनि सर्वसम्मत ढंगबाट नेतृत्व चयन गर्नुपर्छ भन्ने मान्यतामा हुनुहुन्छ । र, संघका वर्तमान पदाधिकारीहरु पनि सर्वसम्मत ढंगबाट नेतृत्व चयन गरेर नयाँ सन्देश युवाहरुले दिनुपर्छ भन्ने मान्यतामा हुनुहुन्छ । जसको कारणले सर्वसम्मत ढंगबाट नेतृत्व चयन हुनेछ भन्ने कुरामा म विश्वस्त छु । र, संघको अहिलेको नेतृत्व युवा संघभित्र सर्वसम्मत नेतृत्व चयन गराउनको निम्ति त्यो भुमिका खेल्न सक्नेछ ।

तपाई युवा संघबाट विदा भएपछि के गर्नुहुन्छ ? आगामी योजना के छन् ?

म पार्टीको एउटा इमान्दार कार्यकर्ता हुँ । म लगायतका जो जो साथीहरु संगठनबाट विदा हुनेछौं तिनलाई पार्टीले उचित जिम्मेवारी दिने नै छ । त्यसमा कुनै चिन्ता गर्नुपर्ने अवस्था नै छैन् । त्यो पार्टी र पार्टीका नेताको कर्तव्य हो । किनकि नेपालमा नेकपा एमाले मात्र एउटा यस्तो पार्टी हो जसले पार्टीका कार्यकर्ताहरुको उचित संरक्षण गर्ने, सम्वद्र्धन गर्ने काम गर्छ । र, अगामी दिनमा नेकपा एमालेले जे जिम्मेवारी दिन्छ त्यो पूरा गर्नेछु र देश र जनताको सेवा गर्ने इच्छा, चाहना र योजना छ ।