काठमाडौं, १ साउन । अन्तर्राष्ट्रिय बजारमा चिनीको मूल्यमा ४० प्रतिशतले गिरावट आएपछि यसको प्रत्यक्ष प्रभाव नेपालको चिनी उद्योगमा पनि पर्नसक्ने विज्ञहरूले आकलन गरेका छन् ।
विश्वभर उखुको उत्पादनमा आएको वृद्धिका कारण चिनी ठूलो परिमाणमा उत्पादन भएको हो । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।
तीन साताअघि ६१ हजार आठ सय नौ रुपैयाँ (६ सय डलर) प्रति मेट्रिक टन रहेको चिनीको मूल्य विश्वबजारमा अहिले ४७ हजार नौ सय दुई रुपैयाँ (चार सय ६५ डलर) पुगेको छ ।
नेपाल चिनी उद्योग संघका अनुसार यसरी नै अन्तर्राष्ट्रिय बजारमा चिनीको मूल्यमा कमी आइरहने हो भने नेपालको स्वदेशी उद्योग धराशयी हुने अवस्थामा पुग्नेछ ।
अन्तर्राष्ट्रिय बजारमा घटेको मूल्यका कारण नेपालमा अनियन्त्रित रूपमा चिनी आयात हुने हो भने स्वदेशी उद्योगसहित नेपाली उखु किसानले पनि प्रत्यक्ष रूपमा नोक्सानी उठाउनुपर्ने अवस्था आउन सक्ने व्यवसायीले औंल्याएका छन् ।
सरकारले चिनी आयात गर्दा भन्सार शुल्क १५ प्रतिशत मात्रै तोकेको छ । अन्तर्राष्ट्रिय बजारमा चिनीको मूल्य घट्दा आमउपभोक्ताले भने सस्तोमा चिनी खरिद गर्न पाउनेछन् ।
उपत्यकाका उपभोक्ताले अहिले साल्ट ट्रेडिङ कर्पोरेसनबाट भारतबाट आयातित चिनी प्रतिकिलो ८२ रुपैयाँ ५० पैसामा खरिद गर्न पाएका छन् । व्यवसायीले बजारमा भने ९० रुपैयाँसम्म प्रतिकिलोमा चिनी बिक्री गर्दै आएका छन् ।
कर्पोरेसनले भारतबाट भन्सार शुल्क एक प्रतिशतमा मात्रै चिनी आयात गरेको छ । भन्सार छुटमा ल्याइएको चिनी कर्पोरेसनले उपभोक्तालाई सस्तोमा बिक्री गर्न सुरु गरेपछि लागत मूल्य बढी भएर स्वदेशी उद्योगको चिनीले बजार पाउन समस्या आएको छ ।
विश्वबजारमै सबैभन्दा ठूलो परिमाणमा चिनी उत्पादन हुने ब्राजिल, मरिसस, चीन, थाइल्यान्ड, भारतसहित अफ्रिकी मुलुकमा पर्याप्त मात्रामा चिनीको उत्पादन भएकाले यसको मूल्यमा ठूलो कमी आएको हो ।












प्रतिक्रिया