११ मंसिर २०८३, शुक्रबार

काभ्रेका जनप्रतिनिधिलाई ओलीको निर्देशन- अब राजनीति होइन् काममा प्रतिस्पर्धा गर्नुस्

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बनेपा, ३१ असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको धङधङी छाडेर अब काममा प्रतिस्पर्धा गर्न स्थानीय तहका जनप्रतिनिधिलाई निर्देशन दिनुभएको छ ।

बनेपा र पनौती नगरपालिकाको प्रथम नगरसभाको उद्घाटन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहनु भएको ओलीले जनताबाट निर्वाचित प्रतिनिधिले अब सबैलाई समान ब्यवहार गर्दै बिकास र संमृद्धि दिनेतर्फ केन्द्रित हुन निर्देशन दिनुभएको हो ।

‘चुनावको धङधङी सकियो, अव त्यो तिक्तता वा धङधङी छाडेर काममा प्रतिस्पर्धा गर्नाेस, काभ्रेका सबै नगरपालिकाबीच बिकास र काममा प्रतिस्पर्धा होस, जनताले एमालेले जितेपछि के हुँदोरहेछ भन्ने फल पाउनु पर्छ,’ बनेपा, धुलिखेल र पनौती नगरपालिकाका प्रमुख तथा उपप्रमुखको नामै लिएर ओलीले भन्नुभयो ।

उहाँले आफ्नो नगरको समग्र बिकासको गुरुयोजना बनाएर काम थाल्न र पाँच बर्षभित्र जनताले अनुभुति गर्ने गरी काम गर्न निर्देशन दिनुभयो । ‘गुरुयोजना बनाएर काम थाल्नोस, आफ्ना नगर र गाउँपालिकालाई संमृद्ध बनाएर सवैभन्दा उत्कृष्ट जनप्रतिनिधि बन्नोस, आफ्नो आवश्यकताअनुसार स्वागत गर्नाेस, अरुको आवश्यकताअनुसार काम नगर्नाेस,’ ओलीको भनाई थियो ।

नेपालमा आफ्नो आवश्यकताअनुसार काम नगरेकै कारण मुलुक पछाडि परेको तथ्य राख्दै ओलीले आफ्नो आवश्यकता पहिचान गरेर मात्रै काम गर्न पनि सुझाव दिनुभयो । सवै स्थानीय तहले दिगो बिकाश लक्ष निर्धारण गरेर काम गर्नुपर्ने उहाँको भनाई थियो । ओलीले उत्पादनमुलक रोजगारीको काम गर्न र गोष्ठी सेमिनार गरेर अल्झिने काम नगर्न सुझाव दिनुभयो । उहाँले धुलिखेल, बनेपा र पनौती नगरपालिकाका प्रमुखलाई मिलेर बिकाशको काम अघि बढाउन पनि सुझाव दिनुभयो ।

आफ्नो सम्बोधनको क्रममा ओलीले काभ्रेमा मिलेर रंगशाला, कभर्ड हलदेखि आवश्यक सवै पुर्वाधार निर्माण गरी खेलकुदलाई जिवनको अभिन्न अंग बनाउने गरी काम थाल्न पनि ओलीले सुझाव दिनुभयो ।

नेपाल जस्तो देश, जहाँ सगरमाथा चढन पर्यो भने नेपाली नभई कोही पनि चढन सक्दैन तर युवालाई बिकल्प दिन नसकेकै कारण नेपाली खेलकुद पछाडि परेको ओलीले बताउनु भयो । ‘नेपालीबिना कोही पनि सगरमाथा चढन सक्दैन, २१ पटक सगरमाथा दुनियामा कसैले चढन सक्दैन, ८ घण्टामा सगरमाथा कोही चढन सक्दैन, बिना अक्सिजन सगरमाथा कोही चढन सक्दैन, नेपालीले मात्रै सक्छ, त्यो नेपालीले कुनैपनि खेलकुदमा हार्दैन, तर हामीले युवा र खेलाडीलाई बिकल्प र हिम्मत दिन सकिरहेका छैनौं, तपाइहरुले त्यो काम गर्नाेस,’ ओलीको भनाई थियो ।