कतारमा कार्यरत नेपालीहरु हर्ष उल्लासका साथ चाडपर्वहरु मनाइरहेका छन । विदेशमा यसरी खुसियालीका साथ चाडपर्व मनाउनुलाई पर्वहरुको विस्तारका रुपमा लिन सकिन्छ । नेपालमा कुनै एक समुदायमा सीमित रहेका चाडपर्वहरु कतारको सिङ्गो समुदायले सबै पर्वहरु मिलेर मनाउन थालेका छन् । लाग्छ, यो राम्रो पक्षको सुरुवाती हो । नेपालीको मौलिक पर्वहरु खासगरी दशैँ र तिहारलाई मानिने चलन थियो । तर, अहिले कतारमा सबै चाडहरुलाई मिलेर थालिएको छ । कतारमा कार्यरत नेपालीहरुले आफ्नो धर्म, संस्कृति, परम्परालाई उल्लासका साथ मनाउनुले नेपालीहरुबीच एकताको भावना जागृत गराउने काम भएको छ ।
भर्खर सकिएको विजयादशमी र बकर ईद, नजिँकिदै गरेका शुभ दिपावली, छठ र नेपाल सम्वत ११३५ को अवसरमा नेपाली समुदायले विभिन्न साँस्कृतिक कार्यक्रम र शुभकामना आदानप्रदान गर्ने क्रम जारी छ । कतारमा स्थापित सामाजिक र बैचारिक संघसंस्थाहरुले पाँच पर्वलाई एकै साथ मनाउनु सकरात्मक पक्ष हो । कतारका नेपालीले विभिन्न जात, जाती र धर्म मान्नेहरुका पर्वलाई बुझ्ने मौका पाएका छन् । सबै पर्वहरुले मानव जीवनमा ल्याउने हर्ष, उत्साह तथा खुसीका रुपमा प्रवासी नेपालीहरुले बुझेको हुनुपर्छ । हामीले मान्दै आएका पर्वहरु प्रकृति र प्राकृतिक अनुकुलतासँगै आउने गर्छन् । कठोर श्रममय जीवनलाई अनुकुलतामा बदल्नका चाडपर्व मनाउनु आवश्यक देखिन्छ । सुख दुःख प्राकृतिक चक्रको रुपमा लिइन्छ । बसन्त र शिशिर ऋतुले यसलाई छुट्याउने गर्छ । ऋतुको चक्रसँगै चाडपर्वहरु आउने गर्छन । यिनै चाडपर्वहरु खुसीयालीका लागि मनाइने गरिन्छ ।
चाडपर्व मनाउने कार्यक्रमहरुमा धेरै भाषण र थोरै सांस्कृतिक झलकहरु देखिए, चाडपर्वको शुभकामना भन्दा राजनीतिक गफहरुले धेरै स्थान पाएको देखियो, त्यो चाँहि अलि खल्लो लाग्यो । हुन त सबैलाई आफ्ना रीतिरिवाज, परम्परता र धर्म संस्कृतिको बारेमा धेरै चासो हुन्छ । कार्यक्रमममा धैर्यका साथमा भाषण सुनेरै शुभकामना थाप्नुको बाध्यता रह्यो । अघिल्ला हप्ता ४ लाखको हाराहरीमा कार्यरत नेपालीहरु विभिन्न कार्यक्रममा सहभागी भए । लगभग एउटै प्रकृतिका कार्यक्रमहरु भए । पाँच कार्यक्रमहरु एकै साथ मनाइरहँदा बक्ताहरुको एउटै आवाज सुनियो । हिन्दु धर्म होस् वा इस्लाम, बौद्ध धर्म होस् वा ईसाई । सबैले मान्ने धर्महरुको धरातलसम्म पुगेर बुझ्ने हो भने यी सबै एकै तवरले धर्तीमा अवतरण भएका हुन, त्यसैले सबै चाडपर्वहरुको शुभकामना एउटै स्थानबाट दिँदा कुनै फरक नपर्ने कुरा लगभग सबै वक्ताहरुको रह्यो । यस वर्षका पाँचवटै चाडपर्वहरु एकैसाथ मनाइनु प्रवासिएका नेपालीहरु एकताको सुत्रमा बाँधिएको भनेर बुझ्न आवश्यक छ ।
यसो भनिरहँदा कतारको साहनियमा काम गर्ने स्याङ्गजाका केदार ढकाललाई कुनै चाडहरुले छोएन । उनी आफ्नै काममा व्यस्त छन । दशवर्षे कतार बसाईँमा चाड मनाएको याद छैन । उनी भन्छन “कहिलेकाहीँ त चाडवाड आएको पत्तै हुँदैन ।” यस्ता धेरै नेपाली होलान । जसलाई कामको बोझ छ, घरपरिवारको जिम्मेवारी छ । अनि साहु ऋण । त्यसैले चाडवाडको पत्तो हुँदैन । सैहलियामा भेटिएका कास्कीका उदय गौतम र चितवनका दिनेष अधिकारीलाई पनि चाड पर्वले कुनै असर गरेन । कतार बसाईको १२ बर्ष पुगिसकेका उनीहरुले बिहीबार साथीभाईसँग हुने भेटघाटलाई नै चाडपर्वको रुपमा मान्छन् । प्युठानका नरबहादुर थापा ५ बर्षपछि नेपाल फर्कदैँछन । उनले कतारमा पर्वहरुलाई बुझ्न पाएनन् । पत्रपत्रिका समेत हेर्ने फुर्सद हुँदैन । अनि कतारमा नेपालीहरुले धुमधामका साथ चाडपर्व मनाउँछन भनेर कसरी थाहा पाउन ? तैपनी केही नेपालीहरुका लागी कतारले पर्वहरुलाई चिनाएको छ ।
अघिल्ला साताहरु पर्वहरुको अवसरमा आयोजना भएका दर्जनौ कार्यक्रमहरुले कतारलाई नेपालको कुनै प्रदेशको रुपमा चिनायो । होटल, रेष्टुरेन्ट, सभाहल, समुद्री किनारदेखि विभिन्न ठाउँका पार्क र मजराहरुमा नेपालीहरुको खुसी देखियो । दोहोरी कार्यक्रम, ईद धमाका, शुभकामना आदानप्रदान कार्यक्रम, मिलन समारोह, ईद मेला, खेलकुद र प्रवासीहरुको थपिएको पर्व गैरआवासिय नेपाली दिवस (एनआरएन डे) ले नेपालीपनको आभाष दिलायो ।
कतारमा एनआरएन डे मनाइरहँदा सुनिएका भाषण र कार्यक्रममा कम सहभागिताले खाडीका एनआरएनहरुले यस संस्थालाई कसरी बुझेका रहेछन भन्ने प्रष्ट हुन्छ । कतारमा नेपाली समुदायका १ सय २० भन्दा बढी संघसंस्थाहरु छन । यिनीहरुलाई जुटाएर दिवस मनाउन सकेको भए यस दिवसको नौलो पहिचान हुन सक्थ्यो अनि सबैले एनआरएन डे के हो भनेर बुझ्न सक्थे होला । त्यसो हुन सकेन । त्यैपनि निमन्त्रणा गरि सहभागी भएका संघसंस्थाहरुका प्रतिनिधिको नाम समेत नसुनिएपछि सभाहलमा गाँईगुई चलेको थियो । भाषणकै क्रममा नेपालमा भइरहेका कार्यक्रमहरु बढी जोडिनुले एनआरएनए कतारले गरेका कामहरु लुकेका हुन वा अन्य नेपालमा भएका ठूला आयोजनाले कतारका गतिबिधि भन्न नचाहिएको हो भन्ने कुरामा सबै अस्पष्ट रहे । कार्यक्रममा बोल्ने बक्ताहरुको देशप्रतिको माया अनि देश विकासका कुराहरु सम्मानयोग्य नै छन् । यसलाई आत्मसात गर्दै काममा परिणत गर्न सकियो भने देश विकासका लागि धेरै समय कुर्नुपर्ने देखिदैन ।
एनआरएन डे सँगै कार्यक्रममा चाडपर्वहरुको शुभकामना आदान ्रदान गरियो । पर्वहरु मनाउँदा संघसंस्थाहरुको सहकार्यमा कार्यक्रमहरु गरेको भए नेपाली समुदाय खर्चिलो बन्ने थिएन र एनआरएनए कतारले आफूलाई नेपाली समुदायको साझा संस्था रुपमा दाबी गरेपनि सबैे संघसंस्थाहरुलाई समेट्न नसकेको छैन । आशा गरौँ, भोलीका दिनमा सबै पर्वहरु एनआरएन डे सँग जोडिन सकुन । पाँच पर्व र एनआरएन डे अनि कतारमा स्थापित सबैसँग संस्था र एनआरएन कतार एउटै छाना मुनि रमाएर नमुनाको रुपमा कार्यक्रम गर्न सकियोस । साथै, एकताको कसिलो डोरीमा नेपाली समुदाय बाधिँन सकोस । सबै त्यसै लाग्न जरुरी छ ।














प्रतिक्रिया