न्युयोर्क । गैर आवासीय नेपाली संघ (एनआरएन) अमेरिकाको आसन्न निर्वाचनमा उपाध्यक्ष पदकी उम्मेदवार उमा कार्की थापाले आफू अधिकार दिलाउने अभियानमै समर्पित रहेको बताएकी छन् ।
आफ्नो उम्मेदवारीबारे सञ्चारकर्मीसँग कुरा गर्दै उमाले एनआरएनलाई सम्पूर्ण नेपालीको साँझा थलो बनाउन र अमेरिकामा नेपालीले भोग्नुपरेका समस्या समाधानको नेतृत्व लिन आफू एनआरएनको चुनावी मैदानमा आएको बताइन् ।
‘अहिले पनि अमेरिकामा ३ लाख नेपाली छन्, तर सदस्य संख्या हेर्ने हो भने १८ हजार मात्रै छन्,’ उनले भनिन्– ‘एनआरएनको पहुँच नेपाल सरकारदेखि अमेरिकी सरकारसम्म छ । तर संस्थाको नेतृत्व त्यो ढङ्गले विकास नहुँदा सोचेजस्तो काम हुन सकेको छैन । संस्थामा रहेर काम गरौँ भन्ने उद्देश्यले यसपटक पनि उपाध्यक्ष पदमा उम्मेदवारी दिएकी हुँ ।’
अघिल्लो कार्यसमितिमा समेत उपाध्यक्षमा दावेदार हुँदा असफल भएकी उमाले एनआरएनमा युवा पुस्ता आउनुपर्ने भन्दै यसपटक आफू सफल हुने दाबी गरिन् । ‘ नेपाली समुदायलाई आर्थिक हिसाबले समृद्ध बनाउनु छ भने उनीहरूलाई न्यायिक समानता पनि दिलाउनु छ,’ उनले भनिन्– ‘यसपटकको मेरो उम्मेदवारीमा साथीहरूको साथ हुने अपेक्षा गरेको छु ।’
अमेरिकामा नेपालीले भोग्नु परेका समस्या समाधान र अधिकार प्राप्ति नै आफ्नो प्रमुख मुद्दा हो भन्दै उनले आफ्ना योजना सुनाउँदै भनिन्– ‘महिलाको हक र हितका लागि नै उम्मेदवारी हो । समग्रमा अमेरिकामा नेपालीले भोग्नु परेका समस्या समाधानका लागि एनआरएन सबैभन्दा बलियो लुज फोरम हुनसक्छ ।’
अगस्ट ११–१२ मा हुने निर्वाचनमा उपाध्यक्षका प्रत्यासी उमा जिउँदा सहिद गणेशबहादुर कार्कीकी सुपुत्री हुन् । लस एन्जलसमा रहेर अरूको अधिकारका लागि अविराम सङ्घर्ष, सेवा र समाजमा समर्पित कार्कीले नेपालको रुकुममा २५ बालबालिकालाई पढाएर पारिवारिक रगतमै रहेको समाजसेवालाई पनि निरन्तरता दिइरहेकी छन् ।
नेपाली जनसम्पर्क समिति, अमेरिका साउदर्न क्यालिफोर्निया च्याप्टरमा सल्लाहकार भएर काम गरिसकेकी उमा हाल एनआरएन अमेरिकाकी प्रथम महिला संयोजक एवम् आइसिसीको महिला टास्कफोर्समा पनि सदस्य छिन् ।
















प्रतिक्रिया